पूर्वराष्ट्रपति रामवरण यादवले चुनावअघिको गठबन्धनले नेपाली कांग्रेसलाई घाटा भएको बताएका छन्।
बिहीबार काठमाडौंमा ‘द आइरन म्यान’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रथम राष्ट्रपति यादवले चुनावपूर्वको गठबन्धनले नेपाली कांग्रेसलाई घाटा भएको बताएका हुन्।
उनले पार्टीहरूले आफ्नो आदर्श र सिद्धान्त जनतालाई भनेर जनताको मत लिनुपर्ने बताए।
एकले अर्कालाई मत हाल्दा कांग्रेसका कार्यकर्ताहरू पछि पार्टीसँग जोडिएर जान सक्नेमा उनले शंका व्यक्त गरे। कांग्रेसले देशको अगुवाइ गर्न नसक्दा आफूलाई पीडा हुने उनको भनाइ छ।
‘प्रिएलाइन्स गरेर गयो भनेर अहिले कति लोकतन्त्रवादीलाई घाटा भएको छ। खास गरेर कांग्रेसलाई घाटा भएको छ। हामी कांग्रेसी छैनौं। म नै छैन अहिले, दमनजी पनि हुनुहुन्न। कृष्णजी पनि हुनुहुन्न। तर कांग्रेसको कुलबाट आयो भने भन्छौं कि हामी कांग्रेसी छैनौं। तर दर्द हुन्छ। कांग्रेसले जुन अगुवाइ गर्न सक्दैन,’ उनले भने, ‘देश बनाउनमा इमान्दारीपूर्वक जो अगाडि बढ्न सक्दैन। त्यसले गर्दा हामीलाई दर्द हुन्छ।’
यादवले कांग्रेसको पछिल्लो पुस्ता अध्ययनशील हुन नसकेको बताए। उनले कांग्रेसका नेताहरू बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई लगायतका त्याग र योगदानबारे पछिल्लो पुस्ताका कांग्रेसीहरूलाई प्रशिक्षित गर्नु आवश्यक रहेको बताए।