सरकारले चैत १७ देखि लागू हुने गरी विदेशी पर्यटकको एकल पदयात्रा (सोलो ट्रेकिङ) मा रोक लगाएपछि अन्तर्राष्ट्रिय अखबार 'फाइनान्सियल टाइम्स' मा एउटा लेख छापियो।
नेपाल लगायत हिमाली क्षेत्रबारे गहिरो अनुसन्धान गरेका एड डगलसको उक्त लेखमा 'स्वतन्त्र पदयात्रीहरूका लागि नेपाल स्वर्ग थियो, त्यसमा किन प्रतिबन्ध लगाइयो' भनेर प्रश्न गरिएको छ।
प्रथम सगरमाथा-आरोही तेन्जिङ शेर्पाका आत्मकथा लेखक तथा पछिल्लोपटक 'हिमालय: अ ह्युमन हिस्ट्री' नामक किताब लेखेका एड डगलस नियमित रूपले नेपाल पदयात्रामा आइरहने व्यक्ति हुन्। उनले उक्त लेखमा पनि घान्द्रुक, पुनहिल लगायत ठाउँमा एक्लै घुम्न जाँदाको अनुभव वर्णन गरेका छन्।
'अनुभवी पदयात्रीहरू जो स्वतन्त्र रूपमा घुम्न रूचाउँछन् र आफ्नो सुरक्षाको जिम्मा आफैं लिन चाहन्छन्, उनीहरूले नेपालमा पदयात्राका स्वर्णिम दिन अन्त्य भएको महसुस गर्न सक्छन्। त्यस्ता पदयात्री अब अन्य गन्तव्यतिर आकर्षित हुन सक्छन्,' डगलस लेख्छन्।
उनी अगाडि लेख्छन्, 'यो निर्णयले नेपालको पर्यटन क्षेत्रलाई अर्को चरणमा लग्ने भनिएको छ। तर एक आरोही र पदयात्रीका रूपमा म शोक मनाउन चाहन्छु। हिमाली क्षेत्रमा सरकारी कर्मचारीतन्त्रले पहाडहरूको स्वतन्त्रता गुमेको छ। नेपालका अधिकारीहरूले यो निर्णय गर्नुअघि आफूकहाँ आउने पर्यटकको प्रतिनिधित्व गर्ने अन्तर्राष्ट्रिय निकायसँग परामर्श गर्ने चेष्टाधरि गरेनन्।'
यति हुँदाहुँदै नेपालको गरिबी राम्ररी बुझेको व्यक्तिका रूपमा यहाँ रोजगार सिर्जनाको आवश्यकता पनि आफूले महसुस गरेको उनी लेख्छन्।
एड डगलसको यो लेखले सोलो ट्रेकिङमा रोक लगाएपछि स्वतन्त्र घुमफिर गर्न नेपाल आउने विदेशी पर्यटकको मनस्थिति झल्काउँछ।
यो नियमअनुसार विदेशी पर्यटकहरू जुनसुकै गन्तव्यमा पदयात्रा जाँदा गाइडबिना एक्लै जान पाउने छैनन्। यसअघि समूहमा जाँदा मात्र गाइड लैजानुपर्ने व्यवस्था थियो।
डगलसले भनेझैं नेपाललाई एकल पदयात्रा निम्ति संसारभरि उपयुक्त गन्तव्य मानिँदै आएका बेला रोक लगाउनुको कारण के त? यसबाट को लाभान्वित होलान्? एकल पदयात्रा निम्ति नेपाल आउन चाहने पर्यटकमा यसको नकारात्मक असर पर्ला कि नपर्ला?
हामीले यिनै प्रश्न ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का पदाधिकारी तथा पर्यटन बोर्डसँग सोधेका छौं।
उनीहरू लामो समयको अध्ययन र प्रयासपछि मात्र यो व्यवस्था कार्यान्वयनमा आएको बताउँछन्। सोलो ट्रेकिङ बन्द गर्ने विषय सन् २०१० देखि नै उठेको टानले जनाएको छ।
'यो बन्द हुँदा पर्ने तत्कालको असर र दीर्घकालीन रूपमा पुग्ने फाइदाबारे धेरै छलफल भइसकेको छ,' टानका प्रथम उपाध्यक्ष प्रदीप पण्डितले भने, 'लामो समयको अध्ययनबाट सोलो ट्रेकिङमा रोक लगाउँदा नेपालको समग्र पर्यटन क्षेत्र लाभान्वित हुने र रोजगार बढ्ने देखेर नै यस्तो निर्णय गरिएको हो।'
यो नियमले तत्काललाई पर्यटक संख्या घट्न सक्ने उनी स्वीकार गर्छन्। तर बिस्तारै स्थिति परिवर्तन हुने र आगामी वर्षबाट राम्रो नतिजा देखिने उनको भनाइ छ।
'यसले नेपालका पर्यटकीय गन्तव्यलाई थप सुरक्षित बनाउने छ,' उनले भने, 'यसअघि नेपाल असुरक्षित थियो भनेर भन्न खोजेको होइन, तर एक्लै जाँदा पर्यटकहरू विभिन्न गन्तव्य पुगेर हराउने घटना धेरै हुन्थे। यस्तो घटना कम गर्न वा हुनै नदिन यो व्यवस्था कार्यान्वयन हुनु राम्रो हो।'
यसलाई 'सोलो ट्रेकिङ' बन्द भएको भनेर पनि भन्न नमिल्ने उनी बताउँछन्।
'सोलो ट्रेकिङ बन्द भएको होइन। एक जना मात्र पर्यटक पनि ट्रेकिङमा जान पाउँछन् तर उसले गाइड वा एक जना सहयोगी नेपाली अनिवार्य रूपमा लैजानुपर्छ,' उनले थपे, 'यसले दीर्घकालीन रूपमा राम्रो सन्देश दिनेछ।'
नेपालको पर्यटनका लागि वर्षमा दुइटा सिजन हुन्छन्- पहिलो मार्च, अप्रिल र मे। दोस्रो सेप्टेम्बर, अक्टोबर, नोभेम्बर र डिसेम्बर।
यी दुवै सिजनमा पदयात्रा र पर्वतारोहरणमा जाने पर्यटक संख्या बढी हुन्छ। टानको तथ्यांकअनुसार सन् २०१८ मा करिब एक लाख ७९ हजार र २०१९ मा एक लाख ७२ हजार पर्यटकले नेपालका विभिन्न गन्तव्यमा पदयात्रा र पवर्तारोहण गरेका थिए। तीमध्ये ४५ हजारले 'सोलो ट्रेकिङ' गरेका थिए।
सोलो ट्रेकिङका लागि अन्नपूर्ण, मर्दी, लाङटाङ, सगरमाथा लगायत गन्तव्य पर्यटकको रोजाइमा पर्छन्। यसबाहेक मनास्लु, कञ्चनजंघा लगायतका गन्तव्यमा भने यसअघि पनि अनिवार्य गाइड लैजानुपर्ने व्यवस्था थियो।
ट्रेकिङमा पर्यटकको बसाइ अवधि रूटअनुसार फरक हुन्छ। सामान्यतया विदेशी पर्यटकहरू १० देखि ११ दिन ट्रेकिङमा बिताउँछन्। यसरी ट्रेकिङमा जाने पर्यटकसँग नेपाली गाइड तथा सहयोगी पठाउन सकियो भने थप रोजगारी सिर्जना हुने उनी बताउँछन्।
'खर्च कम गर्न पनि पर्यटकहरू एक्लै ट्रेकिङमा जान्छन्। एक्लै जाँदा दैनिक २५ डलर खर्च गर्छन् भने प्याकेजमा गाइड पोर्टर लिएर जाँदा ६० डलरभन्दा बढी खर्च हुन्छ,' उपाध्यक्ष पण्डितले भने, 'यसले सिंगो मुलुकलाई नै फाइदा पुर्याउँछ।'
टानका अध्यक्ष निलहरी बास्तोला पनि यो निमयले ट्रेकिङ क्षेत्र सुरक्षित र व्यवस्थित हुने बताउँछन्।
'विगतदेखिको घटना हेर्ने हो भने कम्पनीमार्फत गएका पर्यटक हराएका छैनन्। हराउनेमा एक्लै जानेहरू नै छन्,' उनले भने, 'यसरी पर्यटक हराउँदा विश्वमा नेपाल सुरक्षित छैन भन्ने सन्देश गइरहेको छ। त्यस कारण अब यो व्यवस्थाले ट्रेकिङलाई थप व्यवस्थित बनाउनेछ।'
यो नियम लागू हुनुअघिसम्म पर्यटकहरू दुई तरिकाले ट्रेकिङमा जान्थे।
पहिलो, पर्यटक आफूले चाहेको गन्तव्यमा 'फ्रि इन्डिपेन्डेन्ट ट्राभल्स (एफआइटी)' का लागि जारी हुने कार्ड लिएर सहयोगीबिनै पदयात्रामा जान पाउँथे।
दोस्रो, ग्रुप इन्क्लुसिभ ट्राभल्स (जिआइटी) का लागि जारी हुने कार्ड लिएर समूहमा जान पाउँथे।
हाल सरकारले एफआइटीका लागि जारी हुने कार्ड बन्द गरेको हो। यसअघि समूहमा जानेले प्रतिव्यक्ति हजार रूपैयाँ र एकल जानेले प्रतिव्यक्ति दुई हजार रूपैयाँ तिरेर कार्ड पाउँथे। अब सबैले प्रतिव्यक्ति दुई हजार रूपैयाँ तिर्नुपर्नेछ।
पर्यटन बोर्डका निर्देशक मणि लामिछाने पर्यटकको सुरक्षा, खोज र उद्धारका लागि एफआइटी बन्द गरिएको बताउँछन्।
'सहयोगीबिना एक्लै ट्रेकिङ जाँदा वार्षिक दुईदेखि तीन सय पर्यटक हराउँथे। नेपाल घुम्न जाँदा हराइनसक्छ भन्ने सन्देश विश्वभर पुगिरहेको थियो,' उनले भने, 'सुरक्षित यात्राका लागि पनि अब कम्पनीबाट लाइन्सेन्सप्राप्त गाइड लिएर जाने व्यवस्था गरिएको हो।'
यो व्यवस्थाले ट्रेकिङमा ५० हजारले रोजगारी पाउने टानले जनाएको छ। सामान्यतया एक सिजनमा एउटा ट्रेकिङ कम्पनीबाट बढीमा १५ वटा समूहसम्म ट्रेकिङमा जान्छन्। यस्तो समूहमा एक जना गाइड र दुई जना पर्यटकका लागि एक जना पोर्टर (भरिया) हुन्छन्। एक पोर्टरले २० किलोसम्म झोला बोक्ने नियम छ। आफैं क्याम्प गर्न जानेहरूले धेरै सामग्री बोक्ने हुँदा कहिलेकाहीँ एउटै पर्यटकसँग दुई जना पोर्टर जानुपर्ने अवस्था हुन्छ।
'कोभिडमा बेरोजगार भएकाहरूले रोजगारको अवसर पाउने भएका छन्। एकैपटक पर्यटन क्षेत्रमा ठूलो संख्यामा रोजगारको अवसर सिर्जना भएको छ,' लामिछानेले भने।
पर्यटकसँगै गाइड जाँदा पर्यटन प्रवर्द्धन पनि हुने उनको भनाइ छ।
'एफआइटी बन्द हुँदैमा पर्यटकहरू ट्रेकिङमै जाँदैनन् भनेर बुझ्नु हुँदैन। त्यसपछिका आयाम पनि बुझ्नुपर्छ,' निर्देशक लामिछानेले भने, 'पर्यटकको सुरक्षासँगै दिगो पर्यटनका लागि यो आवश्यक छ।'