समय हो, दुःख र सुख कहिल्यै एकसाथ आउँदैनन्। दुःखसुख आलोपालोमा आउँछन्। आज तपाईंको मन आत्तिएको छ, धेरै नसोची सुत्नुस्। भोलिको उदयमा विजय होस् वा पराजय, जे भए पनि स्वीकार्य छ। देखाजायगा, नआत्तिनूस्।
प्रभा नजिक आएर मेरो काँधमा थमथमाउँछे र टेबल छेउको कुर्चीमा गएर बस्छे। म उसको अनुहारतिर चिहाउँछु, ऊ एकपटक फेरि शीतल नजरले मतिर हेर्छे र आफूले सुरु गरिरहेको उपन्यासमा सबै ध्यान केन्द्रित गर्छे- जेन एण्ड द आर्ट अफ मोटरसाइकल मेनटेनेन्स।
शान्त, चुपचाप ऊ उपन्यासभित्रै बगिरहेकी छ। मेरो मनमा भने अनेकौं कुराहरू खेल्छन्।
सुखद् भविष्यको कल्पनामा बसिरहेकी ऊ भोलिदेखि कुनै साँघुरो गल्लीको अटसमटस कोठाभित्र हुनेछे। जीवनको नयाँ संस्करणको सुरुआत हुनेछ। संघर्षशील कठिन परिस्तिथिमा ऊ स्वयम पात्र बनेर बाँच्नुपर्नेछ। तर ऊ आत्तिएकी छैन, अनुहारमा शालिनता छ।
आँखामा संसारका सबै दुःख थेग्न सक्ने अदम्य साहस छ। आज पनि उसको व्यवहारमा मप्रतिको स्नेह घटेको छैन। उसैको हौसलाले बर्बादीमा पनि मैले आशाको उज्यालो किरण देखिरहेको छु। मन आत्तिएको छ तर आत्मविश्वास एकरत्ती कम भएको छैन।
भित्ताको घडीतिर नजर लगाउँछु, रातको एघार बजेको छ।
‘प्रभा!’ मेरो आवाज सुनेर उसको ध्यान उपन्यासबाट मतिर सोझिन्छ।
‘भोलि हाम्रो रगत पसिनाले बनाएको घरको लिलामी हुँदैछ। छोराछोरी घरविहीन हुँदैछन्, बुढा बाआमाले बुढ्यौलीमा आफ्नो ओछ्यान फेर्नुपर्नेछ। हामीलाई अब फेरि शून्यबाट सुरुआत गर्नुपर्नेछ। म महत्वाकांक्षी नबनेको भए आज हामीले यस्तो दिन देख्नु पर्दैनथ्यो होला…’
बोल्दाबोल्दै मन कुँडिन्छ र आँखा भरिएर आँसु तप्प झर्छ। झटपट आशु पुछ्दै म सम्हालिन प्रयत्न गर्छु।
‘शून्यताभन्दा शून्य सधैं उत्तम हुन्छ, शून्य पनि एक अंक हो, अवसर हो। भोलिको शून्यले हामीलाई एउटा नयाँ पाठ सिकाउनेछ। त्यो पाठ तिमी र म दुवैले सिक्नेछौँ। रित्तिनु र सिद्धिनुमा फरक छ। समस्या र दबाबमा मान्छे लामो समय बाँच्न सक्छ तर प्रेमको अभावमा मान्छे अहँ! पटक्कै बाँच्न सक्दैन। स्नायुहरू चलायमान हुन बन्द हुन्छ, ऊभित्रको हृदय सिथिल पर्छ। मानिस वैचारिक द्वन्द्वको घेराभित्र पर्छ, ऊभित्र उर्जा हुँदैन, उत्साह हुँदैन।’
‘तपाईं मेरो साहस हो, मेरो उर्जा हो। हाम्रो अवस्था कमजोर छ, हामी हैनौँ। आज हाम्रो व्यवसाय चौपट भएर ऋणै ऋणले घेरे पनि हाम्रो परिवारमा एक अर्काप्रतिको माया कम भएको छैन, किन चिन्ता गर्नुहुन्छ? तपाईं कमजोर हुनुभयो भने हाम्रो सपनाहरू अधुरै मर्छन्, मन स्थिर बनाउनुस्,’ प्रभा मुस्कुराउँदै बोल्छिन् र लामो श्वास फेरेर ओछ्यानमा पल्टिन्छिन्।
मभित्र भरिएको प्रेम उनको निधारमा पोख्याएर चिस्याइदिन मन लाग्छ। मेरो शक्ति, तागत, साथी, प्रेमिका, जीवन सङ्गिनी जे भने पनि ऊ नै हो।
सोच्छु, प्रेमको पाठशाला छैन। प्रेम पढाउने गुरु छैनन्। किताब छैनन्। वेद, ग्रन्थहरू छैनन्। प्रेमको जप पनि गरिँदैन। तर सभ्यतासँगै मानवीय गुणहरूमा प्रेम आजसम्म उच्च स्थानमा छ। प्रेमलाई जित्न सक्ने हतियार छैन, प्रेमको अवमूल्यन गर्न सक्ने प्रमाणहरू छैनन्। प्रेमलाई होच्याउन सक्ने तर्कहरू छैनन्।
प्रेम ब्रह्माण्डभरि सर्वव्यापी सर्वमान्य भएर बाँचिरहेको छ। तर पनि मानिसहरूमा प्रेमको भोक छ। सृष्टिमा प्रेम प्राप्तिको उत्साह र प्रेम नपाउनुको छटपटी समान छ।
प्रभा, धन्यवाद! तिमीले मलाई प्रेमको असल परिभाषा सिकाएकी छौ, प्रेम के हो बुझाएकी छौ।