पहाड रित्याएर तराई झर्ने
गाउँ छाडेर शहर पस्ने
खेतबारी बाँझै राखेर
विदेश पस्ने
सिँचाइ कुलो मासेर
बस्ती बसाउने
पानीको मुहान पुरेर
सडक बनाउने
वर-पिपल मासेर
इँटा पोल्ने
प्रवृत्तिहरू रोकिऊन्।
निहित स्वार्थको
राजनीतिक दाउपेचहरूमा
कोही नलागून
कर्मचारी
जनप्रतिनिधि
इञ्जिनियर
वकिल
पत्रकार
व्यक्तिगत लाभहानी नहेरी
सत्यको धरातलमा उभिएर
देश विकास र समाज
रुपमान्तरण गर्न लागिपुरून्।
हाम्रा बाबु-बाजेले
पहाडदेखि बेसीसम्म
कोरेका खेतका नक्साहरू
पसिनाले सिँचित गर्नुछ
आमा, हजुरआमाहरूले
डाँडापाखामा कुट्याउने
कोदो, फापर, जौं, भटमासको
खेती जोगाउनु छ।
गोधूलिमा चरीका चिरबिरी
मिर्मरेमा कोइलीको कुहुँ-कुहुँ
आँगनमा खेलिरहने
कुखुराका चल्लाहरूको
चिउँ-चिउँ ध्वनीसँगै
कलकल बग्ने
खोलाहरूमाथि डाँडोमा
बाख्राका पाठाहरूको जस्तै
बुकुर्सी मार्दै नाच्नुछ।
सेताम्मे हिमालहरूमा
तिमीसँगै चिप्लेटी खेल्नुछ
चारकोसे झाडीहरूमा
तिमीसँगै प्रेमको भाषा गाउनु छ
सुन्दर तराईका फाँटहरूमा
लहलह धानहरू झुलाउनु छ
मेलापात सँगै गर्नुछ
जे गर्नु छ यही माटोमा गर्नुछ
मलाई चन्द्रमा जग्गा किन्नु छैन
किनकि स्वर्ग यहीँ छ।
त्यसैले जीवनमा
हरेक बिहान नयाँ वसन्त बनेर
पालुवाहरू पलाइरहून्
तिम्रा पाइलाहरू सत्कर्ममा
सधैं अगाडि बढिरहून्
आशा र उत्साहले
सफलताका शिखर चुमिरहून्
जीवनमा नछाओस् कहिलै नैराश्यता
देश विदेशमा रहने
सम्पूर्ण दाजुभाइ अनि दिदी-बहिनीमा
नयाँ वर्ष २०८० सालको
हार्दिक मंगलमय शुभकामना।