एउटा नेपाली उखान छ— गोरू बुढो भएपछि भिर खोज्छ। त्यो उखान मानिसका हकमा मात्र नभई समाजका हकमा समेत लागू हुन्छ।
भरतपुर महानगरपालिकाले नारायणी नदीलाई कथित 'सी बिच' मोडलमा विकास गरेर समुद्र किनार जस्तो बनाउन करोडौं खर्चिने योजना बनाएको छ। त्यो लगायत नारायणी नदीमा तटबन्धका लागि हालसम्म ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले चार अर्ब रूपैयाँको बजेट छुट्याइसकेको छ।
त्यही बजेट अन्तर्गत विभिन्न खण्डमा काम गर्ने क्रममा हाल नारायणगढ बजार छेउको नारायणी नदी किनारमा झन्डै १६ करोड रूपैयाँ लागतमा धमाधम निर्माण काम भइरहेको छ। नारायणगढ र गैंडाकोटबीच रहेको पूर्व–पश्चिम राजमार्गको पुलभन्दा केही माथिपट्टि ६४० मिटर लम्बाइको तटबन्ध, आरतीस्थल र फुटपाथ निर्माणको काम भइरहेको छ।
हेरौं त्यहाँ भइरहेको कामको झलकः
त्यसरी त्यहाँनेर नारायणगढपट्टि बन्ने कंक्रिटको त्यस्तो संरचनाले नदीको बहावलाई सिधै गैंडाकोटतर्फ फर्काउने र आउँदो वर्षायाममै गैंडाकोटपट्टि ठूलो क्षति हुने निश्चित छ।
खास गरी नदी किनारको सबैभन्दा होचो तहमा रहेको बोटे टोल त्यस्तो क्षतिको सबैभन्दा बढी जोखिममा छ।
किन त? गुगल नक्साबाट लिइएका यी तस्बिर हेरौं।
माथिल्लो तस्बिरमा देखिएझैं देवघाटमा त्रिशुली र कालीगण्डकी मिलेर बनेको नारायणी नदी नारायणगढ बजार नजिकैको बिन्दुसम्म आउँदा झन्डै सिधा रेखामा तीव्र रूपमा बगेर आउँछ। अनि माथिको नक्सामा देखाएझैं दियालो बंगलाको छेउनेर एकैचोटि झन्डै ९० डिग्रीले मोडिन्छ।
त्यसबाहेक गैंडाकोट बजार सुरू हुने बेलामा बनेको भँगालो नदी मोडिएको ठाउँभन्दा केही तल मूल नदीमा मिसिन्छ। अहिले नारायणगढतर्फ भइरहेको तटबन्धको काम ठ्याक्कै त्यो सानो भँगालोको ठीक सामुन्नेको किनारसम्म पुगेको छ।
त्यो ठाउँको संवेदनशीलता बुझ्न फेरि यो तस्बिर हेरौंः
त्यहाँनेर पानीको बहावलाई साविकभन्दा निकै तीव्र बनाउने तीन कारण छन्— एक, नदी मोडिएको ठाउँमा नारायणगढ बजारलाई बचाउन पहिले लगाइएको ढुंगा, जाली र कंक्रिटको संरचना, जसले मोडमा निरन्तर जमिन खोतल्नबाट नदीलाई रोक्छन्।
दुई, नदी पिँधकै साविकभन्दा बढी 'स्लोप' जसले यसै बहावलाई तीव्र बनाउँछ।
तीन, भँगालो नदीमा मिसिने बिन्दु।
यसरी बर्खामा उर्लेर आउने पानीको धार अहिलेकै अवस्थामा पनि नदीको नारायणगढपट्टिको भित्तामा ठोक्किएर गैंडाकोटतर्फ फर्किन्छ। हाल सी बीच मोडलका नाममा सिँढीसहित बनाउन थालिएको ६४० मिटर लामो कंक्रिटको संरचनाले त्यस्तो अवरोधलाई अहिले नै झन्डै दोब्बर पार्नेछ। आउँदा वर्षमा त्यसलाई बचाउन माथि र तल थपिने अवरोधले त्यसलाई निरन्तर बढाउँदै लैजानेछ।
यस्तो सम्भावित विध्वंशकारी योजनाको औचित्य देखाउन भरतपुर महानगरले बाँडेको कथित सी बिच मोडलको यो तस्बिर हेरौंः
यसरी जहाँ कंक्रिटै कंक्रिटको भद्दा संरचना बनाएर त्यसपछि त्यसको सौन्दर्यीकरणका लागि दुबो लगाउने योजना छ, हालको विध्वंश हुनुअगाडि त्यसको प्राकृतिक अवस्था कस्तो थियो भन्ने जान्न यो तस्बिर हेरौंः
यीमध्ये कुन चाहिँ सुन्दर छ?
यसै सुन्दरता हेर्नेको नजरमा हुन्छ भनिएको होइन।
उक्त भौतिक संरचना बनाउने कामको गोरूको उखानसित के सम्बन्ध छ भनेर जान्न अरू दुई तस्बिर हेरौंः
अर्थात् भरतपुर महानगरले सी बिच बनाउने भनेको भूभाग वर्षायामपिच्छे कैयौं मिटर पानीमुनि पुगेको हुन्छ।
त्यो किन भन्ने बुझ्न अब यो तस्बिर हेरौंः
अर्थात्, नदीको सुख्खा यामको सिमानाको छेउबाटै, नदीको साविक बर्खे सिमानाको झन्डै सय मिटर चौडाइ मिचेर अहिले संरचना बनाइँदैछ। त्यहाँनेर बनिसकेको संरचना कस्तो हुनेछ भनेर भरतपुर महानगरपालिकाले नै झ्याली पिटाएर सार्वजनिक गरेको यो तस्बिर हेरौंः
अर्थात् जहाँ अहिले बालुवाको मैदानले स्पोन्जको काम गरेर नारायणगढ बजारतिर आउने नदीको धारलाई भुत्ते बनाइदिन्छ, त्यहाँ बर्खाको पानीको धार सिधै कंक्रिटका भित्तामा ठोक्किनेछ।
यसरी देवघाटबाट सिधा बगेर आएको पानीको धारले यो संरचनामा ठोक्किएर सिधापारि गैंडाकोटतिर निशाना साँध्नेछ। पारिपट्टि नदी किनाराका विपन्न बोटेहरूको बस्तीबाट सुरू भएको विनाशलीला विस्तारै माथितिर सर्दै जानेछ। अघिल्ला वर्षहरूमा जहाँ डुबान मात्रै हुन्थ्यो, त्यहाँ नदीको घरै भत्काउने धार पुग्न सक्नेछ।
अर्थात् यस्तो फजुल र जोखिमपूर्ण योजनामा अर्बौं खर्च गर्नु भनेको समाजले भिर खोज्नुसरह हो।
त्यो भिर खोजाइ कति गम्भीर छ भनेर बुझ्न अब यो तस्बिर हेरौंः
यो तस्बिरमा मैले उक्त संरचना बन्न लागेको ठाउँमा कायम नदीको चौडाइलाई माथि र तलको चौडाइसँग तुलना गरेको छु। हालको अवस्थामा नदीको सबभन्दा साँघुरो हिस्सा नै अहिलेको तटबन्ध निर्माणस्थलनेर छ।
त्यस हिसाबले नदी मोडिने ठाउँनेर रहेको जोरकुसुम पार्क रहेको अग्लो भित्ता, नारायणी लिफ्ट आयोजनाको कंक्रिटको संरचना र नारायणगढ बजारको तल्लो तटमा बनेका घरका भौतिक संरचनाहरुले अहिले नै प्राकृतिक र कृत्रिम तटबन्धको काम गरिरहेका छन्।
यदि कटान रोक्न नदीमा तटबन्ध बन्ने हो भने त्यो त्यही सीमामा बन्नुपर्थ्यो जुन अहिले सम्भव र आवश्यक दुवै छैन। त्यस हिसाबले हेर्दा अहिले बनिरहेको संरचना नदी किनारमा हैन बर्खे नदीको पिँधमै बनिरहेको छ। त्यसैले हाल चलिरहेको १६ करोडको निर्माण काम बालुवामा पानी हाल्नेभन्दा फरक छैन।
यदि अहिले त्यो संरचना बन्ने र त्यसको क्षतिबाट बच्न पारिपट्टि गैंडाकोटमा पनि उसै गरी तटबन्ध बन्ने हो भने त्यसले नदीको यसै साँघुरो हिस्सालाई झनै साँघुरो बनाउनेछ। अनि नदीले अझ माथिबाट दिशा परिवर्तन गरेर गैंडाकोटको घना बस्तीमा नयाँ भँगालो बनाउन सक्नेछ। त्यसो भएमा हाल हुँदै गरेको डुबानको समस्या झन् गहिरिने मात्रै होइन, ठूलो संख्यामा घर र अरू भौतिक संरचना भत्किने खतरा हरेक वर्षायाममा रहनेछ।
होइन, गैंडाकोटतर्फ अग्लोभन्दा अग्लो तटबन्ध लगाउँदै जाने र मानव–सिर्जित विपत्तिबाट त्यसलाई बचाउँदै जाने हो भने त्यसले एक त वर्षौंसम्म नदीको भुइँ उचालिँदै गएर गैंडाकोटकै तल्लो तटीय क्षेत्रलाई धेरै महिना डुबानमा पार्ने र पानीको निकासबिनाको सिमसारमा बदल्ने जोखिम हुनेछ।
अर्कोतिर नदीको सिधा प्रहार हुने नारायणगढतर्फ बाँध खोलेर पानी छिर्यो भने त्यसले यतापट्टि अकल्पनीय क्षति गर्न सक्नेछ।
यो कुरा धेरै मानिसलाई अहिले प्राज्ञिक छलफलको विषय मात्रै जस्तो लाग्न सक्छ। तर सन् २००८ मा कोशी नदीको तटबन्ध भत्किँदा कोशीले साविकभन्दा सय किलोमिटर परसम्म नयाँ भँगालो सिर्जना गरेर २५० जनाको को ज्यान लिएको थियो। तीन लाख घर भत्काएर तीस लाख मानिसलाई विस्थापित गरेको थियो।
त्यो पनि २८,५०० क्युमेकसम्म पानीको बहाव छेक्ने भनेर बनाइएको तटबन्ध ४,३२० क्युमेकको बहावमै अर्थात् तोकिएको क्षमताको १५ प्रतिशत मात्रै बहाव भएका बेला तटबन्ध भत्केको थियो। यस विषयमा थप जानकारीका लागि नदीहरूसम्बन्धी शोध र पैरवीका लागि विख्यात समाचार संस्था 'द थर्ड पोल' को यो शृंखला हेर्नुहोस्।
यस्तो निर्माण कार्यका सम्भावित जटिलताहरू वातावरणीय असर मूल्यांकन (इआइए) का क्रममा विस्तारमा हुनुपर्ने हो। तर हालै यो निर्माण कार्य गरिरहेको नारायणी नदी व्यवस्थापन कार्यालयका प्रवक्ताले यो निर्माणका लागि इआइए नै नगरिएको भनेर कान्तिपुर दैनिकलाई भनेका छन्। उनका अनुसार वन क्षेत्रभन्दा बाहिर दस किलोमिटरभन्दा सानो क्षेत्रमा हुने यस्तो निर्माण कामका लागि इआइए आवश्यक नै हुँदैन।
जलवायु परिवर्तनका कारण यसै पनि आउँदा वर्षहरूमा सरदर वर्षाको मात्रा बढ्दै जाने अनि अतिवृष्टि, अनावृष्टि र खण्डवृष्टिको समस्या बारम्बार र व्यापक हुने वैज्ञानिकहरूको प्रक्षेपण छ। नेपालमै हालैका वर्षहरूमा मेलम्ची क्षेत्रमा यस्तो भीषण बाढी आएको छ कि त्यसले असाधारण क्षति गरिसकेको छ। त्यसमाथि नारायणी पानीढलोका काली, सेती, मर्स्याङ्दी र त्रिशुलीमध्ये कुनै एकमा विनाशकारी बाढीपहिरो आयो भने त्यसले यहाँ यसै पनि ठूलो विनाशलीला निम्त्याउन सक्छ।
त्यसमाथि नदीलाई साँघुरो पारेपछिको अवस्थामा त्यस्तो असाधारण बाढी आयो भने त्यसले एकैसाथ दुवैतिरका बस्तीलाई तहसनहस बनाउन सक्नेछ।
संसारमा नदी वा समुद्रलाई काबुमा राख्ने मानिसको प्रयास नयाँ होइन। युरोपका धेरै देशले समुद्रको सतह बढेसँगै सहरहरू डुब्नबाट बचाउन अर्बौं डलर खर्च गर्न थालेका छन्।
अक्सर दशकौंको छलफल, अध्ययन र तयारीपछि मात्रै त्यस्ता आयोजना अघि बढाउने गरिन्छ। इटलीको भेनिस सहरलाई समुद्रका बढ्दा छालहरूबाट बचाउन एउटा मोस नामक ६ अर्ब डलर लागतको भीमकाय इञ्जिनियरिङ योजना ल्याइएकोमा त्यो बन्न झन्डै पचास वर्षको समय लागेको थियो। सन् २०२० बाट प्रयोगमा आएको उक्त संरचना अहिले भेनिसलाई डुबानबाट बचाउन अनिवार्यजस्तै भएको छ।
तर त्यसको बारम्बार प्रयोगले पर्खालभित्रपट्टि लामो समयसम्म पानी जम्ने, त्यहाँ फोहोर थुप्रिने, विषाक्त एल्गीहरू हुर्किएर दुर्गन्ध फैलने तथा त्यहाँका जलचर नाश भएसँगै आर्थिक क्षति हुने र पर्यावरण नै संकटमा पर्नेजस्ता जटिलताहरू आइसकेका छन्। त्यो बनिनसक्दै समुद्री सतह यति बढेको छ र आँधीहरू यति तीव्र भएका छन् कि एकाध वर्षमा पुरानो डिजाइनमा बनेको संरचनाले तिनलाई थेग्न नसक्ने र एकतिर विनाशकारी दुर्घटना हुने र अर्कोतिर छ अर्ब डलरभन्दा बढी लगानी बालुवामा मिल्ने हो कि भन्ने चिन्ता थपिएको छ।
युरोपमा बीसौं वर्षको अध्ययन र विमर्शपछि बनेका संरचनाहरूको हालत त त्यस्तो छ भने हामीकहाँ बजेट सक्न वा कसैको अहंकार तुष्टि गर्न स्थानीयहरूलाई गुमराहमा पारेर रातारात बनाइएको यस्तो योजनाको हालत के होला?
देश यस्तो चरम् आर्थिक संकटमा भएका बेला, अस्पताल र स्कुलहरू तहसनहस भएको बेला, करदाताहरू टाट पल्टेर आत्महत्या गर्न बाध्य भएको बेला, सरकारलाई कर्मचारीको तलब र पेनसन दिन हम्मे परेका बेला बालुवामा अर्बौं खन्याउने आत्मघाती योजना अघि बढाउन किन यस्तो हतार होला?
नेताहरू त नेताहरू भए, हामी सर्वसाधारण समेत किन यसरी चुप लागेर बसेका हौंला?
यो पनिः यत्रो विनाश हुँदा पनि कोही किन नबोलेका?
(जीवन क्षेत्रीका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्।)
पाठकहरूका लागि लेखकले साप्ताहिक रूपमा सिफारिस गर्ने सामग्रीहरूका लागि हेर्नुहोस्ः द हिमालयन गेज