'बाबु प्लस-टु पनि पास गर्यौ, अब युरोप छिर्ने त होला?’
रिजल्ट आएको भोलिपल्टदेखिको यो वाक्य सुन्दासुन्दा देशमा त अवसर नै केही रैनछ कि भन्ने एउटो भ्रमको जुम्रो मस्तिष्कलाई जिस्काउन टाउकोमा कुद्न थाल्यो।
कसैलाई भन्नै नसकेको कुरा एसइई सकिएलगत्तै बाबालाई भनेको थिएँ- 'बाबा, मलाई त सरकारी जागिरे हुने रहर छ। मलाई विदेशिने रहर नै छैन।’
सरकारी जागिरे भन्ने बित्तिकै बाबालाई कुन्नी के गर्व महसुस भएछ, त्यसपछि अरुले विदेशिने कुरा गर्दा पनि भन्नुहुन्थ्यो- 'अरु जे-जे गरून, जहाँ-जहाँ जाऊन तर कान्छोले नेपाल छोड्दैन। सरकारको नुन खाने रहर गरेको छ, हेरौँ कति खान सक्दो रहेछ।’
बाबाले कति खान सक्दो रहेछ भनेको सुन्ने बित्तिकै थुप्रै खान्छु भन्नु थियो। हतार चाहिँ गरिनँ, पहिला खानु छ।
अनि सेतो सर्ट, निलो कोट पाइन्ट, सरकारी कार्ड झलझली सम्झिएँ- त्यो मेरो लागि हो।
प्लस-टुपछि खरिदारको तयारीमा लागेँ। पढ्न त पढ्नु थियो तर त्यो युद्धभन्दा कहाँ कम रैछ र! राम्रोसँग नेपाल नचिनेको म विचरो विश्व चिन्नु पर्ने रहेछ, जान्नु पर्ने रहेछ। इतिहास खानु रहेछ सर्लक्कै।
म जन्मेकै साल दरबार हत्याकाण्ड भएको हो। ती सबै राजाको बारेमा जान्नु रहेछ।
आफ्नै बाबाको अंशमा कति जग्गा-जमिन छ थाहा छैन, ब्रह्माण्डको जमिन थाहा हुनु रहेछ।
'हैन कति चाहिँ पढ्छस् हो? पढ्दापढ्दै पागल नै होलास् है’ साथीहरूले थुप्रै पटक भन्थे।
लोक सेवा तयारी भनेको पागल हुनु नै हो जस्तो लाग्दो हो उनीहरूलाई। बुझेर, सम्झेर, पृथक ढंगले पढ्ने हो मेहनत पुगेपछि भगवानले पनि ल गरी खा भन्दा हुन्।
सफल भएपछि जे भन्दिँदा पनि त भयो। रातदिन नसुती पढेँ। खाना नखाई पढेँ। किताब नहेरी पास गरेँ। यी सब भ्रम हुन्। मेहनत गरेर, याद गरेर पढ्नु हो। रातदिन पढ्नै पर्दैन। केही घण्टा समय दिए पुगि नै हाल्छ। तर निरन्तरता हुनुपर्छ। ध्यान हुनुपर्छ। म सक्छु भन्ने हुनुपर्छ।
जब रस पस्छ नि त्यसपछि पढेको कुरा पनि गजबले दिमागमा पस्ने रहेछ। कहिलेकाहीँ मस्तिष्कले हरेस नखाएको पनि त होइन। मनले मस्तिष्कलाई हजारौं प्रश्नचिन्ह लगाउने पनि गर्थे। अनि तुरुन्तै मस्तिष्कले जवाफ दिइहाल्थ्यो- ए मन, तँ नआत्तिएस्। बरु हाँस्न सिक्, त्यो दिन छिट्टै आउँदैछ।’
तीन महिनाको अन्तरालमा के गरिएन होला? कपाल झम्लङ्गै हुने गरी पालियो। यो आवश्यक थिएन होला तर आनन्द थियो।
दारी काटिएन। यो पनि आवश्यक थिएन तर आनन्द थियो।
दारीजुँगा झपक्क पालेर हिँड्दा कि जोगी भयो, कि त मायामा बिछोड भयो सोच्ने रहेछन्। आफू तयारीमा थिएँ सरकारको मान्छे हुन। होस् भोलि कर्मचारी भएपछि नै काट्छु भन्ने लाग्यो। आफैंलाई भुलेर पढियो।
एउटा गजबको अनुभव लिन पाएँ। जब कतै उपस्थिति जनाउन छोडिन्छ नि त्यहाँ आफ्नो ठाउँ खाली छ सोच्नु एक प्रकारले भ्रम रहेछ। आफ्नो ठाउँ लिन अर्को विकल्प आइसक्ने रहेछ। साथी सर्कलमा मेरो खोजी कम हुने भएछ। मेरो उपस्थितिबिना पनि उनीहरूको दिन चल्दो रहेछ।
एकै साल दुई/तीन ठाउँमा नै नाम निस्कियो। जागिर रोजेर खाइयो। अब पो मेरो कथा सुरु हुन्छ त।
नियुक्तिको दिन सपथ खाँदा इश्वरको नाममा सपथ लिइयो। सेवा जनताको गर्नु थियो, सपथ इश्वरको खाइयो। ठिकै छ, नियम होला जस्तै लाग्यो। चट्ट दुई/चार दिन सान छुट्टै थियो।
सरकारी पोसाकमा चिटिक्क सजिँदा साथीहरूले लोभ पनि गर्थे। 'लौन हामीलाई पनि आइडिया दिनुपर्यो’ भन्थे।
अरु केही होइन, मेहनत हो भनियो। पढ्नु पर्छ भनियो।
वास्तविक जागिर त तब लाग्न थाल्यो जब जनताको समस्याहरूको चाङ अफिसको टेबलमा थुप्रन्थे। दश बजे अफिस कोठामा छिरेपछि पाँच कति बेला बज्यो पत्तो हुन्नथ्यो। बाबाले भन्नु भएको बल्ल याद आयो- हेरौँ कति खान सक्दो रहेछ सरकारको नुन।
बेलाबेला मनमनै भन्थेँ- बाबा, घरको नुन खाएजस्तो भने सरकारको नुन खानु छैन। यता नियममा चल्नु छ, कहिले राजनीतिक हस्तक्षेपले निरास बनाउँछ। कहिले जनताको माग बुझेर सेवा दिन अनेक दबाब प्रभावले रोक्दा नुन खान गाह्रो छ झैँ लाग्छ। अत्तालिएको छैन, रोक्किएको पनि छैन।
कर्मचारी नियममा चल्नु पर्छ। नियमले रोकेको काम नियम विपरीत गर्नु हुन्न। लोभ लालचमा लाग्नु कर्मचारी बिग्रन्नु मात्र होइन, देश बिग्रनु हो। यसमा कुनै हस्तक्षेप प्रभाव पार्नु हुन्न। कर्मचारी देशको सम्पत्ति हो। देश बनाउनु कर्मचारीको कर्तब्य हो भने कर्मचारीलाई काम नियमअनुसार गर्न दिनु कुनै पनि राजनीतिक दलको दायित्व हो।
बाबा, मैले सरकारको नुन नियमअनुसार नै खाँदैछु। सकुन्जेल खानेछु, ढुक्क हुनुस् म असल कर्मचारी हुनेछु, भैरहने छु।