दुई साताअघि वीरगन्जका पत्रकार साथी आशु सर्राफले चिया गफमा भने– पर्सा जिल्लामा काठमाडौं, ललितपुर र वसन्तपुर छ।
उनले कविशिरोमणि लेखनाथ पौडेल यही काठमाडौंमा बसेको पनि बताए। उनको कुराले मनमा खुलदुली मच्चियो। ती ठाउँ हेर्न र केही बुझ्न हुटहुटी भयो।
पत्रकार सर्राफले काठमाडौं टोलनजिकै घर भएका स्थानीय पत्रकार कृष्णमोहन साहसँग कुरा गरेर हामीलाई त्यहाँ पुर्याउन समन्वय गरिदिए।हामी करिब मध्याह्नको चर्को घाम बेवास्ता गर्दै मोटरसाइकल चढेर काठमाडौं टोलतिर हुइँकियौं।
वीरगन्जस्थित पावरहाउस चोकबाट पश्चिम–उत्तरतर्फ जिराभवानी पुग्ने बाटो सोध्दै हामी झन्डै डेढ घन्टा यात्रा गरेर जिराभवानी गाउँपालिका पुग्यौं।
त्यहाँको एउटा घुमाउरो बाटोमा हामी अलमलमा पर्यौं। हाम्रो खबर पाएपछि पत्रकार कृष्णमोहन हामीलाई लिन जिराभवानी गाउँ नजिकैको हनुमान मन्दिरमा आइपुगे।
उनको पछिपछि पाँच मिनेट जति मोटरसाइकलमा अगाडि जाँदा जिराभवानी गाउँपालिका कार्यालय आयो।
त्यहाँबाट पिच बाटो हुँदै अझ उत्तरतर्फ गएपछि देब्रेतिर 'ललितपुर' फेला पर्यो। त्यहाँबाट दाहिनेतर्फ थोरै अघि बढ्दा 'काठमाडौं' फेला पर्यो।
काठमाडौंको बीचमै रहेछ 'वसन्तपुर' टोल।
काठमाडौं छ, ललितपुर छ, वसन्तपुर पनि छ तर काठमाडौं उपत्यकाका जस्ता अग्ला घर छैनन्, घना बस्ती पनि छैन। तीन वटै ठाउँ जिराभवानी गाउँपालिका–२ मा छन्। देहातको यो 'काठमाडौं' वरिपरि खेतैखेत छ। बस्ती पातलो छ।
कृष्णमोहनले हामीलाई काठमाडौंको 'दरबार' पुर्याए। उनले भनेको दरबार काठको दुईतले घर थियो, निकै जीर्ण अवस्थामा पुगेको।
यही घरलाई स्थानीयवासीहरू 'दरबार' भन्दा रहेछन्।
घरमा तल र माथि दुई–दुई वटा कोठा छन्। स्थानीयवासीहरूका अनुसार यो घर त्यति बेला गाउँको सबभन्दा अग्लो ठाउँमा बनाइएको थियो।
लेखनाथ पौडेल माथिल्लो तलाको पश्चिमपट्टिको कोठामा सुत्थे। भित्तामा जोडिएको एउटा खाट अहिले पनि छ जसको तीनतिर ठूल्ठूला झ्याल छन्।
घर बनाउँदा लगाइएको काठको भर्याङ भाँचियो। अहिले फलामको राखिएको छ। यो मूलघरको उत्तरतर्फ काठकै अर्को दुईतले घर छ। यो चाहिँ धान भण्डार हो। योसँगै टाँसिएको एउटा गोठ पनि छ।
कवि शिरोमणि लेखनाथ मधेसको यो ठाउँमा कसरी आइपुगे त?
हामीले यो प्रश्न उनीबारे अध्ययन–अनुसन्धान गरेका विद्वान प्राध्यापक डाक्टर वासुदेव त्रिपाठीलाई सोध्यौं।
उनका अनुसार २००० सालतिर तत्कालीन राणा प्रधानमन्त्री जुद्धशमशेरले लेखनाथलाई डेढ सय बिघा जमिन बकस दिएका थिए। यही जमिन रेखदेख गर्ने सिलसिलामा उनी पर्सा पुगे।
लेखनाथ कुशल कवि त थिए नै रंगमञ्चमा जमेका नाट्यकलाकर पनि थिए।
त्रिपाठीले भने, 'उहाँ (लेखनाथ) दरबारमा नाटक देखाउने र काव्यगोष्ठी इत्यादि गर्ने काम गर्नुहुन्थ्यो। प्रधानमन्त्रीले आफू सेना प्रमुख हुँदा बिर्तामा पाएको डेढ सय बिघा जग्गा बकसमा लेखनाथजीलाई दिनुभयो।'
लेखनाथले जमिन अन्यत्रै लिन चाहेका थिए। उनले चाहेका ठउँमा राणाहरूले नै आवादी गराएका थिए। अवादी नभएको पर्साको जमिन उनले पाए।
लेखनाथ यहाँ कहिले आए भन्ने तिथिमिति त्रिपाठीले पनि बताउन सकेनन्। स्थानीयवासीलाई पनि यकिन छैन। लेखनाथ सुरूमा नयका टोला (नयाँ टोल) मा बसे। यो टोल बिस्तारै बढ्दै गयो तर त्यहाँको पानी उनलाई मन परेन।
स्थानीयवासी कमल साहका अनुसार लेखनाथले वरिपरिका चार वटा गाउँको पानी मगाएर खाए। उनलाई कतैको पनि मन परेन। घुम्दै जाँदा उनलाई आफ्नै खेतको जरूवा पानी मन परेछ।
कमलले भने, 'खेतको पानी मन परेपछि उहाँ (लेखनाथ) ठाउँ सरेर यहाँ (काठमाडौं) आउनुभयो।'
उनले २२ वर्ष लेखनाथको खेतीमा ट्याक्टर चलाए।
अहिले स्थानीयवासीले दरबार भनेको घर, धान भण्डार र गोठ लेखनाथका छोरीहरू पुण्यप्रभा, कुन्ती र छोरा अनन्तले २०१८ सालमा बनाएका हुन्।
यो घर बन्दा लेखनाथ वृद्ध थिए। यो ठाउँको नाम काठमाडौं किन रह्यो भन्ने कुरा कमललाई पनि थाहा छैन।
जिराभवानी गाउँपालिकाका अध्यक्ष अनोज चौधरीले सुनेअनुसार लेखनाथले बकसको जग्गा काठमाडौंमै दिन प्रधानमन्त्री जुद्धशमशेरसँग आग्रह गरेका थिए।
प्रधानमन्त्रीले काठमाडौंमा त्यति धेरै (डेढ सय बिघा) जमिन दिन चाहेनन्। पर्सामै दिए।
'प्रधानमन्त्रीले काठमाडौं उपत्यकामा त्यति धेरै जग्गा दिएनन्। उहाँ (लेखनाथ) लाई मधेसमा पनि बाहिर गएजस्तो नहोस् भनेर प्रधानमन्त्रीले नै ठाउँको नाम काठमाडौं राखिदिएको भन्ने सुनेको छु,' अध्यक्ष चौधरीले भने, 'काठमाडौं भनेपछि वसन्तपुर र ललितपुर पनि उनै (प्रधानमन्त्री) ले भनिदिएको हुन सक्छ।'
लेखनाथका ट्याक्टर चालक कमलका अनुसार काठमाडौं भन्नुअघि यो ठाउँको नाम वसन्तपुर थियो। अहिले सानो टोललाई मात्र वसन्तपुर भनिन्छ तर वरिपरि सब काठमाडौं।
'वसन्तपुर नाम कसले, कहिले, किन राखेको भन्ने मलाई थाहा छैन तर म सानो छँदा हाम्रो घर वसन्तपुरमा थियो,' उनले भने।
लेखनाथ पर्सा आएर बस्न थालेपछि उनले छिमेकी टोलका बासिन्दालाई आफ्नो जमिन कमाउन र बस्न दिने भए। वरिपरिका मानिसहरू खेत कमाउने गरी बस्न आए।
कमलले भने, 'वसन्तपुरमा हाम्रो परिवार बढ्दै थियो। ठाउँ कम हुँदै गयो। बस्न र कमाउन दिन्छन् भन्ने लोभमा हामी पनि यहाँ (काठमाडौं) बस्न आयौं।'
उनका बुबालाई लेखनाथले डेढ बिघा जमिन कमाउन दिएका थिए।
बुबासँगै कमल पनि लेखनाथकै खेतमा काम गर्थे। केही पछि लेखनाथकी जेठी छोरी पुण्यप्रभाका परिवारले रसियन ट्याक्टर मगाए। कमल त्यही ट्याक्टर चलाउने चालक भए। तलब थियो महिनाको सय रूपैयाँ। सुरूमा तोकिएको यो तलब कहिल्यै बढेन।
'अरू सुविधा बढ्यो तर महिनावारी तलब २२ वर्षसम्म सय रूपैयाँ नै रह्यो। अरू सुविधाहरू जोड्दा वर्षमा ६ हजारसम्म हुन्थ्यो,' उनले भने।
त्यही तलब पनि अरूको भन्दा बढी थियो।
कमलले भने, 'मैले जतिको सेवासुविधा कुनै ड्राइभरले पाएका थिएनन्।'
उनका अनुसार लेखनाथ हिउँदमा पहाडको चिसो छल्न परिवारसहित यहाँ आउँथे। वर्षमा दुई–तीन पटक आउँथे र केही दिन बसेर राजधानी काठमाडौं फर्किन्थे। लेखनाथको वेशभूषा र चालचलन स्थानीयवासीको भन्दा धेरै भिन्न थियो। उनी सधैं सेतो कमिजसुरुवाल लगाउँथे। लामो कपाल र दाह्री थियो। स्थानीय मानिसहरू उनलाई देखेर हच्किन्थे।
'उहाँ (लेखनाथ) को छुट्टै दुनियाँ हुन्थ्यो। गाउँका मानिससँग खासै बोलचाल हुँदैनथ्यो,' कमलले भने, 'गाउँमा लेखपढ गरेका मान्छे थिएनन्। गाउँका मानिसले उहाँको स्वभाव बुझ्न सकेनन्। धेरै मानिस त उहाँलाई देखेर भाग्थे।'
लेखनाथले मधेसको वर्णन गरेर थुप्रै कविता लेखे।
प्राडा त्रिपाठीका अनुसार लेखनाथले 'म मधेसमा' शीर्षकमा पनि कविता लेखेका छन्। मधेसमा आफू बस्ने घरको वर्णन पनि कवितामै गरेका छन्। अन्तिम पटक उनी २०२० सालमा मधेस पुगेका थिए।
वि.स. १९४१ मा हालको कास्की जिल्लाको अर्घौं, अर्चलेमा जन्मेका लेखनाथलाई २००८ सालमा राजा त्रिभुवनले 'कविशिरोमणि' उपाधि दिएका थिए।
२०२० सालपछि उनको देब्रे आँखा मोतीबिन्दुले छोप्यो, एउटा आँखाले मात्र देख्ने भए। २०२२ सालमा उनी तीर्थ गर्न भनेर भारतको वनारसतिर हिँडे तर रक्सौल पुगेपछि बिरामी भए थला परे।
साथमा गएकाहरूले उनलाई रातारात नारायणगढस्थित नारायणी नदीमा ल्याए। त्यही वर्ष फागुन ७ गते ८२ वर्षको उमेरमा उनको निधन भयो। निधनअघि उनले दुई छोरी र एक छोरालाई पर्साको जमिन बराबर बाँडिदिए।
लेखनाथको निधनपछि पनि उनका छोराछोरीले यहाँको माया त्यागेनन्। परिवारसहित उनीहरू यहीँ बस्थे। तत्कालीन नेकपा माओवादीले चलाएको सशस्त्र द्वन्द्व चर्किँदै जाँदा उनका परिवारजनहरू नराम्ररी सताइएको स्थानीयवासीहरूले बताए।
'उहाँहरूलाई यहाँबाट जाने इच्छा थिएन। माओवादीकै कारण भाग्नुपर्यो,' स्थानीयवासी रामलाल साहले भने, 'उहाँहरू यहाँबाट जाँदा हामीलाई पनि धेरै दुःख लाग्यो। लेखनाथको परिवारसँग हाम्रा बाजे, बुबा सबैको साइनो जोडिएको छ।'
२०६२ सालतिर लेखनाथका परिवारजन यहाँको सबै सम्पत्ति बेचेर राजधानी काठमाडौं गएको उनले बताए। लेखनाथको घर भएको जग्गा जगरनाथपुर गाउँपालिका घर भएका समसुलक मियाँले किनेका छन्।
स्थानीयवासीहरूले लेखनाथ बसेको घर संरक्षण गर्न माग गर्दै आएका छन्।
'यो ऐतिहासिक ठाउँ हो। यो (लेखनाथको) घर र यस ठाउँले काठमाडौं र मधेसलाई जोडेको छ। नयाँ पुस्तालाई पनि यहाँको इतिहास थाहा पाउन यो घर संरक्षण गर्न जरुरी छ,' रामलाल भन्छन्।
जिराभवानी गाउँपालिका अध्यक्ष चौधरीले लेखनाथ बसेको घर संरक्षणका लागि अफूहरूले प्रयास गरेको भए पनि जग्गाधनी समसुलकसँग भाउमा कुरा नमिलेको बताए।
'हामीले लेखनाथको घरवरिपरि एउटा पार्क बनाएर पर्यटकीय स्थल बनाउन खोजेका हौं। जग्गाधनीसँग दुई-तीन पटक कुरा पनि गरेँ तर चलनचल्तीको भन्दा तीन गुणा बढी भाउ भन्छन्,' उनले भने।
काठमाडौं नाम कसरी रहन गयो सबैलाई आउँदो छ। तर वसन्तपुर टोल त्योभन्दा पनि पुरानो भएकाले स्थानीयवासी अनभिज्ञ रहेछन्।
ललितपुर टोलको कहानीबारे दुई थरि कुरा छ।
हामीले सुरूमै जिराभवानीका अध्यक्षसँग कुरा गर्दा उनले भनेका थिए- उहाँ (लेखनाथ) लाई मधेसमा पनि बाहिर गएजस्तो नहोस् भनेर प्रधानमन्त्रीले नै ठाउँको नाम काठमाडौं राखिदिएको भन्ने सुनेको छु। काठमाडौं भनेपछि वसन्तपुर र ललितपुर पनि उनै (प्रधानमन्त्री) ले भनिदिएको हुन सक्छ।
यो उनको अनुमान मात्र देखिन्छ। त्यतिले मात्र चित्त नबुझेपछि मैले टोलमै पान पसल थापेर बसेका ६४ वर्षे प्रेम रायलाई सोधेँ- यो टोलको नाम कसरी ललितपुर भएछ?
२१ सालमा हात्तीको रेखदेख गर्न महेन्द्रले पठाएका तापेसुब्बाका छोराले आफ्नो नाममा टोलको नाम राखेको कथा आफूले सुन्दै आएको बताए।
'हात्तीको रेखदेख गर्ने मान्छेका छोराकै नामबाट टोलको नाउँ रहेको? कसरी?' मैले सोधेँ।
उनले थप कथा भन्न सकेनन्। बरू गाउँघरको इतिहासबारे हिसाब राख्ने कमलेश रायलाई सबै कुरा थाहा होला भनेर मलाई बाटो देखाइदिए। म कमलेश राय थारूका कुरा सुन्न गएँ।
५८ वर्षे कमलेशले भन्न सुरू गरे- अहिलेको ललितपुर टोल २०२१ सालअघि 'विश्रामपुर जगतिया' नामले चिनिन्थ्यो।
त्यहाँ राजा महेन्द्रको हात्ती राखिन्थ्यो।
हात्तीको रेखदेख गर्न काठमाडौंबाट तापेसुब्बा केसी नामका व्यक्ति यहाँ आएका थिए। केही स्थानीयवासीलाई मोहीका रूपमा जग्गा कमाउन दिइएको थियो।
उब्जनीको चार भागको एक भाग करस्वरूप बुझाउनुपर्थ्यो। विभिन्न कारणले खेतीवालाले समयमा कर बुझाउन सकेनन्।
स्थानीयहरूका अनुसार, तापेसुब्बाका छोरा ललितबहादुरले नेपाली सेनाका निवृत्त सुवेदार हरिचन खवास (मुखियाजी) को आडमा कर नबुझाउने व्यक्तिहरूबाट जग्गा लिन थाले।
मुखियासँग १५ राउन्ड गोलीको राइफल थियो। उनीसँग सबै डराउँथे। उनकै डरत्रासको आडमा ललितबहादुरले ५३० बिघा जग्गा आफ्नो नाममा बनाए।
कमलेशले भने, 'मेरै बुबाको पौने तीन बिघा लिए।'
त्यसपछि ललितबहादुरले आफैं यो ठाउँको नाम ललितपुर राखे। यो कथा आफूले बुढापाकाबाट सुनेको कमलेश बताउँछन्।
'यहाँको काठमाडौं र वसन्तपुरसँग ललितपुर टोलको साइनो छैन,' उनले भने।
सबै तस्बिरहरू सौजन्य: बुधेश्वर रजक।