नेपाल उद्योग वाणिज्य महासंघको कार्यसमितिमा प्रवेश गरेको छोटो अवधिमै व्यवसायी चन्द्र ढकाल महासंघको अध्यक्षको जिम्मेवारीमा पुगेका छन्।
प्रदीपजंग पाण्डे/पशुपति मुरारकाको कार्यकालमा महासंघको एसोसिएट सदस्य निर्वाचित भएका ढकाल एसोसिएट उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष हुँदै अध्यक्षमा निर्वाचित भएका हुन्।
वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष हुने महासंघको विधानअनुसार उनी अध्यक्ष बनेर शपथ लिएका छन्।
दुई वर्षअघि नै भावी अध्यक्षका रूपमा अनुमोदित भएका उनले महासंघमा अहिले वरिष्ठ उपाध्यक्ष सहमतिबाट ल्याउने प्रयास गरेका थिए।
'मेरो पहिले नै सहमतिबाट अध्यक्ष ल्याउने प्रयास हो। पहिलो चरणमा निर्वाचन भए पनि दोस्रो चरणमा भने सहमतिबाट नै वरिष्ठ उपाध्यक्ष आउने भयो। यसले निजी क्षेत्रको एकतामा सन्देश पुग्छ,' ढकाल भन्छन्।
व्यावसायिक जीवनमा ढकालको लोभलाग्दो सफलता भएको उनका समकक्षीहरूले बताउने गरेका छन्। उनी आफैं पनि आफ्नो व्यावसायिक यात्रा शून्यबाट नै सुरू भएको दाबी गर्छन्। उनले भन्ने गरेअनुसार २०४१ सालमा काठमाडौं प्रवेश गर्ने क्रममा उनीसँग जम्मा ३५ सय रूपैयाँ थियो। त्यसपछि निजी क्षेत्र, संस्थान हुँदै जागिर गर्दै व्यवसायमा प्रवेश गरेका उनले चार दशकमा ठूलो फड्को मारेका हुन्।
'उच्च प्रतिफलका लागि उच्च जोखिम' को व्यावसायिक सिद्धान्तले नै आफ्नो व्यावसायिक यात्रामा सहयोग पुर्याएको उनको भनाइ छ।
वाणिज्य बैंकको जागिरमा रहेकै बखतमा आफ्नो व्यवसाय सुरू गर्ने निर्णय लिएर उनले जागिर असुरक्षित रहन सक्ने जोखिम उठाएका थिए। आफ्नो व्यवसाय विस्तार गर्न आफैंले काम गरेको बैंकबाट ऋण माग्ने जोखिम पनि लिएको स्मरण गर्छन् उनी।
तर ऋण पाउन जागिर छोडेर व्यवसायमा केन्द्रित भएको उनी बताउँछन्। गण्डकी प्रदेशको बागलुङ अमलाचौर स्थायी घर भएका ढकाल गाउँमा रहँदा चोया काडेको, डोको बुनेको, नाम्लो बुनेको सुनाउँछन्। उनी अहिले नेपालका धनाढ्यहरूको सूचीमा अग्रस्थानमा पर्छन्।
आफैंले पाँच/छ सय रूपैयाँ पारिश्रमिक लिएर श्रम गर्न सुरू गरेको केही दशकमै न्यूनतमदेखि चार/पाँच लाख रूपैयाँसम्म पारिश्रमिक दिनुपर्ने १५ हजारभन्दा बढी रोजगारी सिर्जना भएका छन् उनी आबद्ध कम्पनीमा।
पूर्णकालीन व्यवसायी बनेको करिब ३३ वर्षको समयमा उनले राज्यले प्राथमिकतामा राखेका हरेक क्षेत्रमा लगानी गरेका छन्।
'व्यवसाय राज्यको नीतिलाई सहयोग पुग्ने र ठूलो संख्यामा जनतालाई सेवा दिने खालका छन्। आइएमईले बैंकिङ च्यानलबाट मुलुकमा रेमिटेन्स भित्र्याउन सहयोग गरेको छ,' उनले थपे, 'बैंक, डिसहोम, चन्द्रागिरि तथा इन्स्योरेन्सले एकातर्फ जनतालाई अत्यावश्यक सेवा दिएका छन् भने अर्कोतर्फ राज्यको प्राथमिकताअनुरूप काम गरेका छन्।'
बैंक, वित्त, बीमा, जलविद्युत, उत्पादन, सूचना प्रविधि, ट्राभल एन्ड टुर्स, सवारीसाधन बिक्री, केबलकार, होटल तथा रेस्टुरेन्ट लगायत क्षेत्रमा उनले लगानी विस्तार गरेका छन्। उनको व्यवसायमा भाइ हेमराज ढकालले साथ दिइरहेका छन्।
काठमाडौंमा पढ्छु, काठमाडौंमै केही गर्छु र परिवारको आर्थिक समस्या समाधान गर्छु भन्ने लक्ष्यसहित २०४१ सालमा काठमाडौं प्रवेश गरेको ढकाल बताउँछन्।
उनी भन्छन्, 'काठमाडौं आउँदा ३५ सय रूपैयाँ बोकेर आएको थिएँ। त्यसपछि आफ्ना लागि आफैं कमाउने मात्रै होइन, परिवार, समाज लागि काम गर्ने स्थितिमा पुगेँ,' उनी भन्छन्।
२०४१ सालमै काठमाडौंमा पहिलोपटक मासिक पारिश्रमिकको जागिर 'पेप्सी' कम्पनीमा पाएको उनले बताए। उक्त जागिरबाट तत्कालीन समयमा ६ सय रूपैयाँ मासिक पारिश्रमिक पाउँथे।
यो कम्पनीमा काम गर्दैगर्दा राष्ट्रिय वाणिज्य बैंकमा सहायक 'ग' तहका लागि आवेदन खुलेको उनले थाहा पाए र आवेदन दिए। नाम निस्कियो। उनी वाणिज्य बैंक विशालबजार शाखाका कर्मचारी बने।
वाणिज्य बैंकको जागिरे बनेपछि उनको संगत केही व्यवसायीसँग हुन थाल्यो र व्यावसयिक यात्रा तय गर्न सहयोग पुगेको उनी बताउँछन्।
'बैंकका ग्राहकहरूका कुरा सुन्दा व्यवसाय गर्न ठूलो रकम चाहिने रहेनछ, म पनि सक्छु कि भन्ने आँट आयो,' उनले भने।
तीन व्यवसायीहरूको संगतमा कार्गो व्यवसायमा पनि लाग्न थाले उनी। व्यवसाय बढाउने नाममा बैंकबाट ऋण माग गरे।
'तर हाकिमले कि जागिर छोडेर ऋण लैजानू कि कर्मचारी मात्रै बन्ने सुझाव दिए,' जागिर छाडेर ऋण लिएको उनी स्मरण गर्छन्।
कार्गोबाट केही सफलता प्राप्ति भएपछि २०४८ सालमा उनले गार्मेन्ट व्यवसाय सुरू गरे।
'अर्काको सामान ल्याइदिने पठाइदिने मात्रै होइन, अब आफ्नै सामान पठाउने काममा पनि केन्द्रित भएँ,' उनले भने।
आफ्नो पहिचान नै बनेको आइएमईको स्थापनाको सन्दर्भ पनि उनी सम्झिन्छन्।
कार्गो उनको व्यावसायिक जग थियो। व्यवसायको सिलसिलामा उनी धेरै देश पुग्थे। एकपटक जापान हुँदै अमेरिकाका लागि हिँडेका उनी जापानमा लामो समय अल्मलिनुपर्यो। त्यही बेला 'मनी एक्सचेन्ज' को काउन्टरको विषयमा जानकारी पाए।
त्यहाँबाट फर्केपछि उनले ठमेलमा मनी एक्सचेन्जको काउन्टर खोले। पछि युएई मनी एक्सप्रेसको नेपालको एजेन्टका रूपमा समेत काम गरे। मनी एक्सचेन्जको अनुभव बटुले। केही वर्ष काम गरेपछि २०५६ सालमा मनी ट्रान्सफरका लागि राष्ट्र बैंकमा निवेदन दिए।
उनले इन्टरनेसनल मनी एक्सप्रेस (आइएमई) का नाममा विदेशबाट रेमिटेन्स भित्र्याउने अनुमति पनि पाए। त्यसपछि वैदेशिक रोजगारीमा गएकाहरूले बैंकिङ प्रणालीबाट नेपालमा पैसा पठाउन पाउने वातावरण तय गरेका थिए। आइएमई स्थापनापछि केही वर्ष उनले निकै संघर्ष गर्नुपरेको उनी सुनाउँछन्।
'सबैभन्दा बढी चुनौती त मानिसमा विश्वास जगाउनु थियो,' उनले भने।
अन्तर्राष्ट्रिय मुद्रा विनिमयमा हुने उतारचढावको जोखिम एकातिर थियो भने अर्कातिर हुन्डीवालाहरूको आँखाको तारो बन्नुपरेको उनी सम्झिन्छन्। आज-आज, भोलि-भोलि गर्दै आइएमई प्रति विश्वास बढ्दै गयो।
अहिले उनी अध्यक्ष रहेको आइएमई समूहले आइएमई लाइफ इन्स्योरेन्स, आइएमई पे, डिसहोम, आइएमई जनरल इन्स्योरेन्स, आइएमई मोटर्स, आइएमई अटोमोबाइल्समा लगायतमा लगानी गरेको छ।
अबको तीन वर्ष आफ्नो व्यवसायभन्दा बढी महासंघको काममा केन्द्रित हुने प्रतिबद्धता गर्छन् उनी।
साना तथा मझौला व्यवसायीका समस्या सम्बोधन गराउन नीति नियामकसँग निरन्तर समन्वय गर्ने र मुलुकमा लगानीको वातावरण सहज बनाउन महासंघबाट भूमिका खेल्ने उनको भनाइ छ।
सबै तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी