मध्यम वर्गीय किसानको छोरो म, गाउँको झुपडीमा हुर्केको। त्यसैले सहरका सम्भ्रान्त परिवारको जस्तो छुट्टाछुट्टै कोठामा बसेर पढ्न पाउने वा राति छुट्टै कोठामा सुत्न पाउने कुरै भएन। हामी दुई भाइ एउटै कोठामा पढ्थ्यौँ र त्यही कोठमा रहेको पलङमा सँगै सुत्ने गर्दथ्यौं।
त्यो पलङमा बस्नको लागि वा सुत्नको लागि हामी दाजुभाइबीच झगडा भएको याद छैन। भाइ साह्रै ज्ञानी छ। त्यसैले होला हामीबीच न कहिल्यै रातो अनुहार भएको छ न कहिल्यै खस्रो शब्दको प्रयोग भएको छ।
दिदीको म सानै हुँदा बिहे भैसकेकाले गाउँको त्यो घरमा दिदीको लागि छुट्टै बिछ्याउना समेत थिएन। छुट्टै कोठा त परै जाओस्।
कक्षा सात पास भएपछि दिदीको घरमा बसेर पढ्न थालेँ। दिदी-भिनाजुले मलाई पढ्नको लागि सहज होस् भनेर भण्डार कोठामा एक्लै सुत्ने व्यवस्था मिलाइदिनु भयो। भण्डार नै भए पनि त्यो मेरा लागि छुट्टै कोठा थियो तर ताल्चा लगाउन भने पाइँदैनथ्यो।
त्यस बेलादेखि नै मलाई कता-कता पछि छोराछोरीलाई पढ्न र सुत्नको लागि छुट्टाछुट्टै कोठाको व्यवस्था गर्छु भन्ने मनभित्र लाग्न थालिसकेको थियो। विवाह नै भएको थिएन तर छोराछोरीलाई कोठाको कल्पना। आफूले भोगेको अभाव छोराछोरीले भोग्नु नपरोस् भनेर यो सोचाइ आएको हुनसक्छ।
मैले भण्डार कोठामै बसेर पढें र एसएलसी पास गरें। एसएलसीपछि उच्च शिक्षा हाँसिल गर्न सहर पसें। एक्लै भाडा तिर्न हिम्मत नपुगेर हुनुपर्छ ढुङखर्ककै केदार दाइसँग (केदारबहादुर घिमिरे) मिलेर बस्न थालें। एउटा कोठामा दुईजना मिलेर बस्थ्यौं।
भान्छा कोठा, बैठक कोठा, पढ्ने कोठा र सुत्ने कोठा एउटै थियो हाम्रो। कहिलेकाहीँ सँगै पढ्ने जागिरे साथीको कोठामा जाँदा भान्छा कोठा छुट्टै, पढ्ने र सुत्ने कोठा छुट्टै देख्दा म यसरी कहिले बस्न सक्छु होला जस्तो लाग्थ्यो मलाई।
केही वर्षसँगै बसेपछि केदार दाइ सञ्चयकोषमा जागिरे हुनुभयो र पाटनको कोठा छोडेर काठमाडौं बस्न थाल्नुभयो। अनि म एउटा कोठामा एक्लै भएँ। त्यस बेलासम्म मेरो इच्छा र चाहना एक्लै कोठामा बस्नुभन्दा पनि भान्छा कोठा, पढ्ने कोठा र सुत्ने कोठा छुट्टाछुट्टै भए त स्वर्ग पुगिन्थ्यो भन्ने थियो। कहिले होला खै मेरो जीन्दगीमा यत्तिका कोठा भन्ने लाग्थ्यो।
समय सन्दर्भ जागिर गर्दै पढ्दै गएँ र स्नातकपछि गाउँको पार्वती माध्यमिक विद्यालयमा प्रधानाध्यापक भएँ। त्यसै समयमा ललितपुर भैंसेपाटीमा ३ आना घडेरी किनेँ। विष्णु दाइको असीम सहयोग र बुबाको केही आर्थिक सहयोग समेतले किनेको त्यो घडेरी पास गरेको दिन युद्ध जितेको सैनिक खुसी भएँ झैं खुसी भएको थिएँ म। करिब ५ वर्ष प्रधानाध्यापकको जागिर गरेँ र पछि लोक सेवा परीक्षा पास गरेर निजामती सेवामा प्रवेश गरेँ।
करिब ३ वर्ष निजामती सेवामा काम गरेपछि नेपाल सरकारले छात्रवृत्तिमा अध्ययन गर्न म लगायत हाल नेपाल सरकारका सहसचिवहरू डा. हरि लम्साल, दीपक शर्मा र सहसचिवबाट सेवा निवृत दिनेश श्रेष्ठलाई पढ्न बेलायत पठायो। छात्रवृत्तिको रकम बेलायतमा पढ्न, खान, बस्न र घुम्न समेत प्रशस्तै पुग्ने किसिमको थियो।
जब पढ्न म बेलायतको लिड्स विश्व विद्यालय पुगें, त्यही दिनदेखि मलाई दुईवटा चिन्ता हुन थाल्यो। पहिलो चिन्ता उच्च अङ्कसहित पढाइलाई समयमा नै सक्ने र दोस्रो चिन्ता पैसा जोगाउने। उत्कृष्ट अङ्कका साथ स्नातकोत्तर तह उत्तीर्ण गर्नु त छँदै थियो त्यससँगै छात्रवृत्तिमा प्राप्त रकम बढीभन्दा बढी कसरी जोगाउने होला भन्ने ध्याउन्न थियो ममा। थाहा छैन अरु तीन जना साथीहरू के सोच्थे।
केही जोर कपडा, एउटा क्यामेरा, एक जोर जुत्ता र पुस्तकबाहेक सायद नयाँ केही किनिनँ होला मैले। खानामा कन्जुस्याइँ गरिएन तर बाहिर रेष्टुरेन्टमा गएर अनावश्यक खर्च पनि गरिएन। प्रायःजसो दाल, भात, तरकारी टन्न खाइयो। खाजामा पाउरोटी बढी। त्यसैले कहिलेकाहीँ आजसम्म पनि भन्ने गर्छु कि बेलायतमा पाउरोटी खाएर कमाएको पैसाले बनेको घर हो यो।
आफ्नो पैसा खर्च गरेर न सिनेमा हेर्न गइयो न अन्य सहरहरू नै घुमियो। बस मेहनत गरियो, समय-सीमाभित्रै पास गरियो र सरकारले तोकेको समयमा नै स्वदेश फर्कियो।
स्नातकोत्तर पढाइ सकेर घर फर्कने बेलासम्म करिब ५/६ लाख रुपैयाँ जोगियो। नेपाल फर्किएपछि त्यो पैसाले काठमाडौंको सुविधानगरमा एउटा घडेरी किनेँ। गाई-भैंसीको दूध, अन्न आदि बेचेर घरमा बचत गरेको रकम, भाइले जागिरबाट कमाएको रकम, घडेरी किनेर बाँकी रकम, भैँसेपाटीको घँडेरी बेचेको रकम र बाँकी नपुग बजेट कौशलटारको एक सहकारीबाट ऋण लिएर त्यही वर्ष एक तला घर बनाएँ।
उक्त एक तले घरमा २०५७ वैशाख १ गते बुबाको उपस्थितिमा पूजापाठ गरेर म डेराबाट घरमा सरें। मेरा लागि त्यो दिन राजा वीरेन्द्र राज्याभिषेक गरेर नारायणहिटी दरबार सरे सरह थियो।
लागेको थियो आफ्नो घर भएपछि त भान्छाकोठा, बैठक कोठा, सुत्ने कोठा, अध्ययन गर्ने कोठा छुट्टाछुट्टै हुन्छन्। तर एक तला घरमा ४ कोठा, कसरी पुगोस् सोचेजस्तो छुट्टाछुट्टै कोठा? मेरो पढ्ने, सुत्ने र बैठक कोठा एउटै थियो।
आमाबुबा वा गाउँबाट भाइ बुहारी जो आए पनि उनीहरूको लागि एउटै कोठा थियो। भाइ र मेरा छोराछोराछारीहरू पढ्न भिएस निकेतनमा भर्ना गरियो। उनीहरू सबैको लागि एउटै कोठा। अनि एउटा भान्छा कोठा। भान्छा कोठामा समेत एउटा पलङ राखिएको थियो। कहिलेकाहीँ गाउँबाट आफन्त वा दिदी-भिनाजु वा पाहुना आएमा सुत्ने व्यवस्थाको लागि।
मैले र भाइले त छुट्टै कोठामा लेखपढ गर्न र सुत्न पाएनौं पाएनौं, छोराछोरीले पनि फेरि एउटै कोठामा भेला भएर पढ्नु पर्ने भयो। के गरेर उनीहरूलाई छुट्टाछुट्टै कोठाको व्यवस्था गर्ने होला भन्ने चिन्ताले छोडेन मलाई।
कहिलेकाहीँ बुबासँग चिन्ता व्यक्त गर्दा तँ आँट ईश्वरले पुर्याउँछन् भन्ने उखान सुनाउनु हुन्थ्यो। फेरि भन्नुहुन्थ्यो, ‘तर छोरा कर्म भने निरन्तर गरिरहनु पर्छ नि, सपना देखेर मात्र हुँदैन।’
काठमाडौंमा एउटा घर बनाउने हुटहुटीमा बिहान ५ बजे उठेर स्कुल कलेजमा पढाउन जाने, तालिम केन्द्रमा कक्षा लिने अनि १० बजे शिक्षा मन्त्रालयमा जागिर गर्न पुग्ने मेरो नित्य कर्म नै भयो। करिव १० वर्ष यो रुटिन नियमित पालना गरियो।
मेरो बिहान ५ बजेदेखिको परिश्रम, विभिन्न समयमा विदेश भ्रमण गर्दा जोगाएको रकम, गाउँमा दूध, मकै, तोरी, सिमी बेचेर बचत भएको रकम र भाइले शिक्षक जागिरबाट कमाएको रकमबाट करिब ५ वर्षपछि एकतले घरलाई उचालियो र सबैलाई पुग्ने कोठा तयार पारियो। अनि सबैलाई छुट्टाछुट्टै कोठामा बस्ने व्यवस्था भयो। त्यसबेलासम्म हाम्रो सम्पूर्ण परिवार काठमाडौं सरिसकेको थियो।
बुबाआमा, छोराछोरीलाई छुट्टाछुट्टै कोठा, बैठक कोठा छुट्टै, भान्छा कोठा छुट्टै अनि मन्दिरको लागि सानो कोठा र दाल, चामल, सामान आदि राख्ने भण्डारको लागि सानो कोठा छ घरमा। मेरो खुसीको सीमा रहेन।
अफिसबाट फर्किएपछि आफ्नो कोठामा जानुभन्दा अगाडि सधैं छोराछोरीको कोठा चियाउने गर्थें म। को के गर्दै छन् भनेर भन्दा पनि मैले सबैलाई छुट्टाछुट्टै कोठाको व्यवस्था गर्न सकेँ भनेर गर्व र खुसीले।
म जागिरबाट फर्किंदा छोरी त सधैं कोठामा नै हुन्थिन्। सधैं बिताब पल्टाएर बसेको पाउँथें। छोराहरू भने कहिले कोठामै हुन्थे, कहिले माथि भान्छातिर वा बैठक कोठा वा कहिले बाहिर खेल्न गएका हुन्थे। जो जहाँ भए पनि कोठा खुल्लै हुन्थ्यो।
कतै गएर घर फर्कँदा आज पर्यन्त त्यो बानी छ मेरो। तर विडम्बना त्यो बेला प्रायः खुला रहने ती कोठा आज सधैं बन्द मात्र पाउँछु म।
छोरीको विवाह भएको १० वर्ष बित्यो। १० वर्षदेखि छोरीको त्यो कोठा बन्द छ। कहिलेकाहीँ छोरी आउँछिन्, कोठा खोल्छिन्। केही क्षण खुला हुन्छ तर फेरि बन्द। यातायातको सुबिधाले होला अब त माइतमा रात बस्न पनि नपर्ने। चाडबाड आउँछ, छोरी, ज्वाइँ र नातिनी सबै आउँछन्। बिहान दिउँसो सँगै खानपिन हुन्छ। अनि बेलुकी सुत्न घर फर्कन्छन्। छोरीको त्यो कोठामा फेरि ताल्चा।
यतिसम्म त चित्त बुझाएको छु। हिन्दु परम्परा र संस्कारअनुसार छोरी विवाहपश्चात ज्वाइँको घरमा जान्छिन् अनि माइतीघरमा रहेको उनको कोठामा ताल्चा लाग्ने नै भयो। यो सबैमा समान रुपमा लागु हुने कुरा हो। मेरो मात्र घरको कथा होइन यो।
तर मेरो घरमा अर्को कोठामा पनि ताल्चा लागेको छ।
दुई छोरामा एउटा मेरै काखमा छ। राजनीति गर्छु भनेर बिहान ७ बजे देखि बेलुकी ८/९ बजेसम्म बाहिरै रहे पनि उसको कोठामा ताल्चा लाग्दैन। बिहान-बेलुका देखभेट कुराकानी हुन्छ।
अर्को छोरो पढाइको क्रममा विदेश गयो। स्नातकोत्तर पास गरेर नेपाल फर्कियो पनि। छोराको विवाह पनि भयो। करिब ३ वर्ष छोरा बुहारी त्यही कोठामा बसे। कति रौनक थियो त्यो कोठामा। बुहारीका छमछम गर्ने चुरीका आवाज, मैले ढोका ढकढक्याएँ भने ‘बुबा हजुर हो?’ भन्ने उनको सुरिलो स्वर अनि सधैं सफा र सबै सामान मिलाएर राखेको त्यो कोठा।
तर आज करिब एक वर्ष भयो त्यो कोठामा ठूलो ताल्चा झुन्डिएको छ। साँचो मसँग छ। कहिलेकाहीँ कोठा गुम्सियो कि भनेर खोल्छु। बिछ्याउना टेबल लगायत सबैतिर धुलो अनि सुनसान कोठा। न त्यहाँ छोरा बुहारीका लुगा कपडा वा सामान राखिएका छन् न उनीहरूले पढ्ने कुनै पुस्तक छन् त्यहाँ। न बुहारीका कुनै शृङ्गारका सामान छन् त्यो कोठमा न छोराको कम्प्युटर।
छन् त ताल्चा मारिएका ठूला ठूला दराज, ताल्चा लगाइएको सुट्केस अनि बन्द गरिएको छोराको ब्रिफकेस र बन्द गरिएको बुहारीको आल्मारी। यी सबैको साँचो छोरा बुहारीले मलाई नै छोडेर गएका छन्। तर आजसम्म मैले ती साँचोको प्रयोग गरेको छैन। बेलाबेलामा कोठामा पस्छु। सबैतिर नियाल्छु, धुलो सफा गर्छु। मन भारी बनाउँदै फेरि कोठामा ताल्चा लगाउँछु र आफ्नै कोठातिर लाग्छु।
मलाई रहर मरेको छैन त्यो कोठा भित्रबाट छोरा-बुहारीले छलफल, वादविवाद, प्रश्नउत्तर अझ भनौं कहिलेकाहीँ झगडा गरेको आवाज सुन्ने। मैले नानी भनेर बोलाउँदा ‘हजुर बुबा’ भनेको बुहारीको सुरिलो आवाज सुन्ने। अनि छोरा बुहारी अफिस जाँदा वा ससुराली वा माइत जाँदा, सिनेमा हेर्न जाँदा वा बजार जाँदा हामी हिड्यौं साँचो धारामाथि छ है बुबा भनेको सुन्ने रहर अझै मेटिएको छैन मलाई।
अब त रहर झन बढ्न थालेको छ। त्यो कोठा भित्रबाट छोरा बुहारीको स्वर मात्र होइन, बाबामामु भनेको मसिनु स्वर सुन्ने पनि रहर बढेको छ। कहिलेकाहीँ मैले ढोका ढकढकाउँदा बुबा भन्ने बुहारीको सुरीलो स्वर मात्र होइन हबा भन्ने मसिनु र मिठो तोते बोलीको आवाज सुन्न हतारिएको छ म भित्रको मान्छे।
यी त सबै कल्पना भए। आखिर कोठा बन्द छ। ठूलो ताल्चा लगाइएको छ। आफैंलाई प्रष्ट थाहा छैन म कति खुसी छु बन्द कोठाको साँचो हातमा लिएर। कहिलेकाहीँ लाग्छ आखिर साँचो त मैसँग छ, खोले भैगो नि कोठा।
तर छोरा-बुहारी विदेशमा अनि नेपालको बन्द कोठा खोलेर भावुक हुनु, भक्कानिनु बाहेक केही प्राप्ती हुँदैन मलाई। त्यसैले सकेसम्म त्यो बन्द कोठा खोल्ने गरेको छैन मैले। उही महिनाको एक पटक सफा गर्न र हावा छिरोस् भनेर मनलाई बाँधेर खोल्ने गरेको छु।
तर आशा मरेको छैन। छोराले स्नातकोत्तर गर्यो। अब त्योभन्दा माथि पढ्ला। अनि बुहारी स्नातकोत्तर भर्ना भएकी छिन्, त्यो पूरा गर्लिन्। अनि केही वर्षपछि दुवैजना पढाइका प्रमाणपत्र, ज्ञान, सीप र वैदेशिक अनुभव लिएर आफ्नै देशमा पसिना बगाउन फर्कनेछन्।
र, त्यो कोठामा २ जना मात्र होइन, ३ वा ४ जना हुनेछन् र बुबा मलाई कोठा साँघुरो भयो अर्को एउटा व्यवस्था गर्नुपर्यो भनेर छोरा-बुहारीले भन्नेछन्। म भाडामा लागेको कोठा खाली गर्न अनुरोध गर्नेछु र छोरालाई आवश्यक कोठाको व्यवस्था गरिदिनेछु।
त्यति मात्र होइन, आमा-बुबा र भाइलगायत परिवारका सम्पूर्ण सदस्यको परिश्रम र मेहनतले जग बसालेको र मैले इँटा थपेको यो घर, मैले आर्जेको सामाजिक र बौद्धिक सम्पत्ति मेरा तीन सन्तान दुई छोरा र एक छोरीलाई सँगै राखेर जिम्मा लगाउनेछु।
त्यसपछि आफू खुसी र आनन्दका साथ बाँकी जीवनको पूरा समय सामाजिक, धार्मिक तथा प्राज्ञिक कार्यमा समर्पित गर्नेछु।