एउटा राष्ट्रिय दैनिकको मुखपत्रमै 'थामिएन विदेशिनेको लस्कर’ भन्ने शीर्षक पढेपछि हप्ता दिनभन्दा बढी छटपटी भयो। यस्तै दिनहुँजसो आइरहने समाचारका मुख्य शीर्षकहरूसँगै वैदेशिक रोजगार विभागको वेबसाइट हेरेँ।
हेर्दै जाँदा चालु आर्थिक वर्ष २०७९/८० को पहिलो सात महिना अर्थात् गत साउनदेखि माघ महिनासम्म साढे चार लाखभन्दा बढी नेपाली युवा रोजगारीको खोजीमा मलेसियालगायत खाडी मुलुकमा गएको देखियो।
केही नामका लागि उच्च शिक्षा भने पनि धेरैजसो रोजगारीका लागि विदेशिनेको लर्को पनि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको वैदेशिक अनुमति शाखामा हेर्दा गत साउनदेखि पुस मसान्तसम्म ४५ हजार ९१२ जनाले 'नो अब्जेक्सन लेटर’ लिएको पनि हेरियो।
गत आर्थिक वर्षमा कामका लागि श्रम स्वीकृति लिनेको संख्या ६ लाख ३० हजारभन्दा बढी रहेछ भने उच्च शिक्षाका नाममा घुमाउरो तरिकाले काम नै गर्नका लागि नो अब्जेक्सन लेटर लिनेको संख्या १ लाख १४ हजार जनाभन्दा बढी तथ्यांक देख्दा त झन् हेरेको हेरै भइयो।
पत्रिकाको प्रतिबिम्ब मात्रै पो हो कि भनेर वास्तविक अवस्थाको सजीव चित्रण हेर्न एक फन्को अन्तर्राष्ट्रिय एअरर्पोट लगाई हेरेँ। कसैलै दुई मिनेट कुर्नु न भन्दा 'ह्या जान्छु अर्कोपालि भेटौँला’ भन्ने मान्छे म तर एअरर्पोटमा दुई घण्टा विदेशिँदै गरेका मान्छेका भावभंगी हेर्दै बिताएको चालै पाइनँ।
कमिलाजस्ता मान्छेका ताँती देख्दा लाग्यो बरु पत्रिकामा प्रकाशित गरिएका होस् या सरकारका बेवसाइटमा देखिने तथ्यांकमै पो त्रुटी छ कि? दैनिक एअरपोर्टको अन्तर्राष्ट्रिय टर्मिनलको सर्भे रेकर्ड सूक्ष्म रुपमा अध्ययन गर्ने हो भने यो तथ्यांक त केही महिनाभित्रै माथि हुन्छ होला कि जस्तो लाग्छ।
हुन पनि हो, यस्ता डाटाहरू त केवल कानुनी तवरका आधिकारिक होलान्। तर दलालका चक्रव्यूहमा परेर भारत उपचार गर्नेदेखि विदेश आफन्त भेट्न जाने बहानामा गैरकानुनी तरिकाले एअरपोर्टमा उभिने ती अनुहारका आकृतिहरूबाट बाध्यताको धेरथोर अनुमान लगाउन राम्ररी सकिन्छ।
अन्तर्राष्ट्रिय टर्मिनलमा बिछोड र बिदाइका हात हल्लाउनेहरूको हृदयविदारक चित्र तथा भिडिओहरू बेलाबेलामा सामाजिक सञ्जालमा भाइरल भइरहन्छन्। केहीका गलाभरि धान्नै नसकिने माला र खाँदाका चुलीहरू भेटिन्छन् जहाँ परिवार तथा आफन्तजनले घेरिँदै फोटो खिचिरहेका हुन्छन्।
अर्कातिर कुर्कुचा फुटेका पैतालाहरूमा फाटिनै लागेका चप्पल घिसार्दै हातमा हरियो पासर्पोट लिएर एअरपोर्टको एक कुनामा प्लेन कुरिरहेका दृश्य अझ कहालीलाग्दो देखिन्छ। यी दृश्यले सहजै जो-कोहीले पनि अनुमान लाउन सक्छ कि ती विदेशिने नेपालीका गन्तव्य स्थल सपनाको देश युरोप, अमेरिका, अष्ट्रेलिया होलान् कि बाध्यताको देश खाडी भनेर।
गन्तव्यमा यस किसिमको भिन्नता भए पनि देश र आफन्तजनबाट छुटिँदा आउने भावावेषमा मुटु भक्कानिँदै आँसुका धारा सबैको उही र उस्तै एअरपोर्टमा देखिन्छ। बेग्लै वातावरणको बिछट्ट अनुभूतिले शरीरमा एक प्रकारको चिडचिडाहट उत्पन्न गराउँछ। मन र मस्तिष्कबीचको अन्तरद्वन्द्वले फन्नक फर्किएर देशमै केही किन नगर्ने भन्ने हुटहुटीलाई बेसमारी जगाउँछ।
विश्वव्यापीकरणले गाँजेको आधुनिक समाजमा राज्यका उच्च ओहदामै भएका केही गन्यमान्यहरूको कुरा सुनेर यही केही पृथक गर्न सकिन्छ कि भन्ने पनि हुन्छ।
गफगाफ सुन्दै गर्दा बीचमै सोधिहाल्छन्- 'बाबु पनि विदेश नगएर के यस्तो देशमा हल्लिराको होला? सँगैका साथीले डलर छापेर काठमाडौंमा घर किन्दा उनीहरूकैमा डेरा माग्नुपर्ने दिन आउँला है। होस गर बैलैमा।’
अझ त्यसमाथि सरकारले विदेश जानेका लागि सकेसम्म सहज र सरल व्यवस्थापन गर्न दैनिकजसो निर्देशन दिएको देख्दा उदेक लाग्छ। यस्ता दिव्योपदेश र दूरदर्शिता देख्दा लाग्छ विदेशिनेको लर्कोभन्दा देश चलाउनेको झर्को भंयकर छ।
काठमाडौं अनि देशका ठूला सहरमा गल्लीपिच्छै खोलिएका कन्सल्टेन्सीका रंगिबिरंगी विज्ञापन बोर्डहरू हेर्दे हिँड्दै गर्दा लाग्छ मैले केही हदसम्म विश्व भम्रण गरिसकेँ। गाउँका बारीदेखि पिँढीमा स्मार्टट फोन बोकी सामाजिक संजालमा विदेशिएका आफन्तहरूसँग सुखदुःख साटासाट गरिरहेका देख्दा लाग्छ यो देशमा अब म मात्रै बाँकी पो छु कि भनेर।
यी र यस्ता भिन्न परिवेश तथा पृष्ठभूमिसँग साक्षात्कार हुँदा हाम्रा नेताहरूले भनेझैँ देशले विश्वव्यापीकरण र प्रविधिको युगमा अग्रगामी छलाङ लगाएको मान्नै पो पर्छ कि।
भर्खरै विदेशिएको आत्मीय साथीसँगै अन्य केही घनिष्ट प्रियजनहरूसँग समय मिलाएर फोन सम्पर्क पनि भइरहन्छ। कुराकानीका क्रममा नेपालप्रतिको राष्ट्रप्रेम र बिछोडिएका परिवारप्रतिको आत्मीयता देख्दा मन एकतमास भएर भावावेषमा डुबिन्छ र लाग्छ देश कहिले नछोडौं।
तर फेरि एकछिनमा देश बाहिरको विकास, सुविधा, विधि प्रणालीको बारेमा सुनिरहँदा लाग्छ जहिले ब्यागमै बोकिरहेको राहदानीमा भिसा छाप लगाउने प्रकिया बुझ्न कन्सल्टेन्सी कुदिहालौं।
गहनताका साथ सोच्छु, रेमिट्यान्सले धानिरहेको यो देशमा बेलैमा मैले कसरी योगदान गर्न सक्छु होला र खै? बौद्धिक ब्रेनड्रेन गदै विदेशमा गएर विप्रेषण पठाउने बाहेक।
हुँदाहुँदा बैंकको फिक्स्ड डिपोजिटमा पनि विदेशबाट पठाउने पैसाको ब्याजदर नै बढी आउने भएपछि विदेश नै नगएर होला त? लाग्छ, कुनै बेला भाइरल भएको चालीस कटेसी रमाउला भन्ने गीत यी नै ५० लाखभन्दा बढी विदेशिएका युवाहरूका लागि दूरदर्शी गीतका रुपमा रचना गरिएको हो कि?
वा खोक्रा भाषण र समृद्धिको दिवासपना देखाएर क्या गजबको देश बनाउँदैछौँ है हामी! जहाँ माथि उल्लेख गरिएझैँ पछिल्लो ७ महिनामा बाध्यता होस या विदेश बहकिएका युवाहरूलाई देश छोड्न ती नै माथि प्रतिस्पर्धा गराइरहेछौँ।
हाम्रा नेताहरूको भाषणमा व्यापक सुनिन्छ, बाध्यात्मक वैदेशिक रोजगारीलाई शून्यमा झार्दे विदेशी नेपाली फर्क अभियान गर्ने र देशलाई समृद्धिको बाटोमा लैजाने प्रतिबद्धता छ भनेर। देशमै केही गरौं भन्ने तमाम युवा दिनानुदिन विदेशिए भने नेताका बुझिनसक्नुका यस्ता गहन भाषण बालबालिका र वयोवृद्ध व्याक्तित्वले के भेउ पाउलान र खै?
आफूमा ज्ञान, सीप र दक्षता अभिवृद्धि गर्ने हिसाबले विदेशिनु कदापि नराम्रो होइन। तर त्यो आर्जित सीप र श्रमले देश सिँचित गरी समृद्धिको सपना साकार हुन सक्दैन होला र?
मजस्ता तमाम युवाका धोक्राका धोक्रा पीडाहरू, मुरीका मुरी गुनासाहरू, पाइलापिच्छै द्विविधाहरू छन् देशसँग। समृद्धि र राष्ट्रवादका अनगिन्ती नाराहरू सभा समारोह कार्यक्रमहरूमा सुन्छु। विदेशिएका नेपालीहरूको वितृष्णाका पोकाहरूले सामाजिक सञ्जाल भरिएको देख्छु। अनि झन् रनभुल्लमा पर्छु, देशमै रहेर समृद्धिको दिवासपना सुनिरहनु कि विदेश गएर विरक्तिएर बस्नु?
सबैको एकबारको जिन्दगी न हो। कैयौँ सपनाहरू बोकेर निरन्तर विदेशका बुलेट ट्रेन होस् या देशका गल्लीहरूमा अनवरत रुपमा चलिरहेको हुन्छ। विदेशिँदै गर्दा विछोड र वितृष्णाको आगोभित्र दिनहुँ जल्नु बेस कि देशकै माटोभित्र सपनाका पालुवाहरूमा पानी थप्दै गर्नु बेस?
यी र यस्तै अन्यौलताका अनगिन्ती प्रश्नहरूको उत्तर कसले दिने होला?