'जोगले हुन्छ भेट, मायाले हुन्छ सम्झना' भने झैं उनको र मेरो भेट नेपाल बैंकको भौचर बुझाउने लाइनमा भएको थियो। उनी बैंकको भौचर भरेर लाइनमा बसेकी रहिछन्। म पनि पुगेँ।
त्यहीँ लाइनमा बस्दाबस्दै सामान्य बोलचालबाट सुरु हुँदै सामीप्यताको आभास हुन थालिसकेको थियो। साँच्चै जीवनमा पहिलो पटक लाइनमा बस्दा रमाइलो लागेको थियो। झन् उनी र म एउटै कलेजमा भर्ना गर्दै एउटै विषय पढ्ने कुरा थाहा पाउँदा खुसीको सीमा थिएन।
सबै काम सकेर घर फर्कने बेला ‘अब घर जान्छु ल’ भन्दा ‘होइन, चिया खाएर जाँदा भइहाल्छ नि!’ वाक्यले चिया खाने मन नहुँदानहुँदै चिया पसलसम्म डोर्याएर लग्यो। त्यो एक कप चियाले मेरो अहिलेसम्मकै चिया अनुभवलाई मात दिएको थियो।
मन नहुँदानहुँदै पनि छुट्टिने बेला आयो। चियाको पैसा उनले मलाई तिर्न दिइनन्। झन् मलाई मायाको गुन लगाएको आभास भयो। छुट्टिने बेला मेरो मोबाइल नम्बर टिप भन्दै मोबाइल नम्बर दिइन्। टिप्नै परेन, कण्ठस्थ गरेँ।
‘फेसबुकमा रिक्वेस्ट पठाउँछु एड गर ल’ भन्दै उनी हात हल्लाउँदै बिदा भइन्।
म घर आएर वाइफाई खोल्ने बित्तिकै उनको म्यासेजसहित रिक्वेस्ट आएको रहेछ। मैले रिक्वेस्ट एक्सेप्ट गरिहालेँ। अनि हाम्रो दिनदिनै कुराकानी हुन थाल्यो।
कलेजमा ब्रेकको बेला कसैले थाहा नपाउने गरी कुराकानी हुन्थ्यो। कलेजमा धेरै कुराकानी हुँदा पनि घर आएर उस्तै कहिले नसकिने कुराकानी हुन्थ्यो। उनलाई मैले मेरो जीवनसाथीको रुपमा हेर्न थालेको थिएँ।
एक्लै बस्न र आफैंमा रमाउने म, कसैको लागि हाँस्न थालेको थिएँ। आफ्नो भविष्यभन्दा पनि उनीसँगैको सुनौलो जिन्दगीको परिकल्पना गर्न थालिसकेको थिएँ। कोही यति चाँडो मेरो नजिक भएको पत्तो पाउनै सकेको थिइनँ।
उनी मेरो बानी बनेकी थिइन्। मेरो जीवनको अभिन्न सदस्य बनेकी थिइन्। उनीबिना म मेरो परिकल्पना पनि गर्न असमर्थ थिएँ। खासै उनको रुपभन्दा पनि उनको सामीप्यताले मलाई लोभ्याएको थियो।
उनी कक्षाको पहिलो बेन्चमा बस्थिन्। म अन्तिम बेन्चमा बस्थेँ तर पढाइप्रति लगाव चाहिँ थियो। उनी घरीघरी मलाई सम्झाउँथिन्- ‘मलाई क्लासको बेला त्यसरी नहेर ल! अरु साथीले तिम्रो नामसँग मेरो नाम जोडेर जिस्काउँछन्।’
म हेरेको छैन भन्दै टार्थेँ तर त्यसो भन्ने उनका साथीदेखि चाहिँ अत्यन्त रिस उठ्थ्यो। तर के गर्नु? दोष त मेरै हो। नहेरौँ भन्दा पनि मेरो मनले उतैतिर मेरा आँखालाई तानेर लग्थ्यो। यति भनौँ मेरो नजरले उनैलाई हेर्न मात्र चाहन्थ्यो।
उनी म र म उनी भएको अनुभूति हुन थालेको थियो। यसैका कारण एकदिन मैले मन खोलेर उनलाई प्रेम प्रस्ताव राखेँ। त्यो म्यासेजको रिप्लाई आएन। उनले मलाई ब्लक गरिन्। सायद मैले चाँडो गरेको आभास भयो। तर अब के गर्नु, प्रेम प्रस्ताव त गरिहालेँ। सारा संसारको सगर ममाथि खसेको थियो।
भोलिको पर्खाइमा बसेँ। कलेजमा गएर उनीसँग बोल्ने कति प्रयास बिफल भए। उनी मबाट टाढा हुन थालिन्। म मेरै नजरमा दोषी भएको थिएँ। ती दिनहरू मेरा लागि साह्रै कठिन बने। मैले कल्पना गरेर बनाएको साम्राज्य एकाएक खरानी भयो। म आफैंबाट पर गएको थिएँ। मभित्रको म मरेको थियो।
म बारम्बार आफैंसँग सम्पर्कमा हुन छोडेँ। मेरा प्रिय किताब र कलमहरूले अहँ फिटिक्कै बोलाउन छोडेँ। मोबाइलका किबोर्डमा छरिएका अंक रिसाएका थिए। आफ्नै हृदयसँगको सम्बन्धविच्छेदले जस्तो पीडा अरु केले देला र?
ती दिनहरू सोच्दा पनि डर लागेर आउँछ। तर यी दिन चाँडै पाखा लागेँ। दुई हप्तापछि उनको रिप्लाई आयो।
‘तिमी मेरो असल साथी हौ। जीवनमा धेरै कर्तव्य छन्। अहिले यस्तो कुरामा किन लाग्नु’ भन्दै लामो सन्देश पढ्दा आनन्द आयो। कहीँ ‘नाइँ’ शब्द थिएन। मन यसै प्रसन्न भयो। झन् मेरो लागि उनीप्रतिको माया प्रगाढ भयो। अहिले त मेरा लागि उनको उपस्थिति नै मिठो उपहार बनेको छ।
मेरा लागि फूलहरू फुल्न थाले। आकाशमा जून पनि देखिन थाल्यो। जूनलाई हेरेर पीडा सुनाउने मेरो अन्तरमन फेरि जन्मिएको थियो। मभित्रको ‘म’ ले काउकुती लगाउन थालेको थियो।
हामी फेरि पहिलेजस्तै भयौँ। समय राम्रोसँग बित्न लाग्यो। हामी एकअर्कालाई सदैव हौसला र साथ दिन थाल्यौँ। एकअर्काको दुःखसुखको साथी बन्यौँ। खासमा भन्नुपर्दा हामी एउटै सिक्काको दुई पाटा जस्ता भएका थियौँ र छौँ।
दुवै भविष्यमा केन्द्रित भयौँ तर मेरो भविष्यको एउटा पाटो त उनैमा उनिएको थियो। तर मनको कुरा मनमै राखेर म बसेको थिएँ। समय बित्दै गयो। हाम्रो मित्रता सुमधुर बनेको कुरामै म प्रसन्न थिएँ।
समय कति चाँडै बित्यो। भोलि हाम्रो ब्याचलरको बिदाइ कार्यक्रम छ। भोलिदेखि अरु साथीभन्दा पनि उनीसँग भेट नहुने हो कि भन्ने डरले सताउन थालेको छ। अर्कोतिर मेरो मनको कुरा मनमै गुम्स्याएर राख्दा निन्द्राले कोल्टेमात्र फेरिरहेको छ। मैले साहस गरेर उनलाई फेरि प्रेम प्रस्ताव राखेँ।
यो चोटि त उनीलाई अलि मज्जाले चिन्ने मौका पाएको छु। तर पनि उनको मनको कुरा त के जान्नु! फेरि ब्लक हुने डरले पो सताउन थालेको छ। म्यासेज पठाएर फेरि अनलाइन आउने आँट आएको छैन। भोलि बिहान मात्र अनलाइन आउने निर्णय गरेँ।
उनको लागि मेरो अस्तित्व के छ त थाहा भएन, तर मेरो त अस्तित्व नै उनी भएकी छिन्। नकारात्मकताले घेरेर राखेको सकारात्मकताको आशमा बसेको छु। मनले ढुक्क हुन सघाएको छ भने दिमागले कुरा कहाँ-कहाँ पुर्याएको छ। मनमा एउटै प्रश्न चलिरहेको छ- ‘प्रेम प्रस्ताव स्वीकार गर्लिन् त?’