नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ निर्वाचित भएका छन्। बुधबार सम्पन्न महासंघको निर्वाचनबाट उनले ३७.९९, उमेशलाल श्रेष्ठले ३१.५५ र रामचन्द्र संघईले ३०.४६ प्रतिशत मत ल्याएका थिए।
पहिलो र दोस्रो हुनेबीच सहमति गरेर अन्जन वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका हुन्।
पूर्व अध्यक्षहरू, वर्तमान वरिष्ठ उपाध्यक्ष तथा भावी अध्यक्ष चन्द्र ढकाल लगायतको रोहबरमा गरिएको छलफलबाट अन्जनलाई छोड्न उमेश सहमत भएका हुन्।
स्रोतका अनुसार उमेशलाई महासंघको विशिष्ट सदस्यका रूपमा राख्न अन्जन सहमत देखिएका छन्। यसअघि पूर्वअध्यक्ष मध्येबाट विशिष्ट सदस्य राख्ने गरिएको थियो।
बुधबार भएको निर्वाचनमा तीन उपाध्यक्षसहित सात प्रदेश सदस्य, १८ र जिल्लानगर सदस्य, १४ वस्तुगत सदस्य, १९ एसोसिएट सदस्यका साथै एक द्वीराष्ट्रिय सदस्य निर्वाचित भइसकेका छन्।
जिल्लानगर र एसोसिएट उपाध्यक्षमा संघई समूहका सुरकृष्ण वैद्य र ज्योत्सना श्रेष्ठ, वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ समूहका हेमराज ढकाल विजयी भएका छन्।
अन्जन पोखराबाट अघि बढेका व्यावसायिक घराना लक्ष्मी ग्रुपका सदस्य हुन्।
परिवारले सञ्चालन गरेको सानो मिठाइ व्यापारबाट अघि बढेको उनको व्यावसयिक यात्रा अहिले धेरै क्षेत्रमा फैलिएको छ।
अन्जनका अनुसार ४९ वर्षअघि ३०० रूपैयाँ लगानीको मिठाइ व्यापारबाट उनको व्यावसायिक यात्रा सुरू भएको थियो। आफैं व्यवसाय क्षेत्रमा संलग्न भएको ३० वर्षभन्दा बढी भएको उनी बताउँछन्।
सन् १९७३ मा लक्ष्मी मिठाइ भण्डारबाट सुरू भएको यात्रा २०२३ सम्म आइपुग्दा दूधजन्य उत्पादनका साथै, प्याकेजिङ उद्योग, अटोमोबाइल्स, डन्डी, स्टिल हुँदै खाद्य उद्योगसम्म विस्तार भएको छ।
मिठाइ व्यवसायबाट सुरू गरेको यात्रा डेरी उत्पादन, प्याकेजिङ उद्योग, अटोमोबाइल्स, डन्डी, स्टिल हुँदै खाद्य उद्योगसम्म विस्तार भएको छ।
लक्ष्मी ग्रुप अन्तर्गतको सुजल डेरीले उत्पादन गर्ने कन्फेक्सनरी, चकलेट लगायत उत्पादन विश्व बजारमा समेत परिचित छन्। सुजलका ४० भन्दा बढी कन्फेक्सनरी ब्रान्ड बजारमा छन्।
लक्ष्मी ग्रुपका प्रबन्ध निर्देशक अन्जन श्रेष्ठका अनुसार १४ वटा देशमा सुजलका उत्पादन निर्यात भइरहेको छ।
अमेरिका, क्यानडा, अस्ट्रेलियाका साथै, एसिया, अफ्रिका तथा मध्यपूर्वका राष्ट्रमा यी उत्पादनहरू निर्यात हुने गरेका उनले जानकारी दिए।
तीन वर्ष अघिबाट लक्ष्मी ग्रुप अन्तर्गतको समृद्धि स्टिलले आफ्ना उत्पादन बजारमा ल्याएको छ। यसले वार्षिक दुई लाख टन डन्डी उत्पादनको क्षमता राख्छ।
लक्ष्मी ग्रुपले सुजल डेरीलाई विस्तार गर्ने योजनाअनुसार काम सुरू गरेको श्रेष्ठ बताउँछन्। सातै प्रदेशबाट उत्पादन गर्ने योजना रहे पनि तत्काल मध्य नेपाल र पूर्वी नेपालमा उत्पादन विस्तारमा रहेको उनले बताए।
त्यस्तै होटल तथा होटल तथा सेवामूलक उद्योगमा आफ्नो लगानी विस्तार गर्ने योजना छ।
लक्ष्मी ग्रुपले हाल तीन हजार दुई सय रोजगारी सिर्जना गरेको छ। आगामी पाँच वर्षमा यो संख्या पाँच हजार पुर्याउने लक्ष्य छ।
सबै तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी