मध्य रातकाे १२ बजे अर्को दिन सबेरै ब्युँझिनका लागि अन गरेकाे त्याे अलार्मकाे घण्टीसँगै सुरूआत हुन्छ हरेक दिन। झिसमिसे उज्यालो हुन नपाउँदै जुरूक्क उठेर हतार हतार ड्युटी भेट्नकाे लागि दाैडिहाल्छु।
ड्युटी सकेर रूम फर्किंदा टेबलभरि फिजारिएका किताब, नमिलाइएकाे ओछ्यान, जुठा भाँडा, थकित ज्यान, अनि सेताे सर्ट निलाे पाइन्ट, काेट र घाँटीमा गभर्मेन्ट आइडी कार्डमा सजिने सपना। घरिघरि त ती फिँजारिएका किताबले पनि आफूलाई गिज्याएजस्तै लाग्छ।
आखिर सपना देख्न पनि त सजिलो कहाँ रैछ र ? एउटा मध्यम वर्गीय परिवारमा जन्मिएको सन्तानकाे लागि त।
कालीगण्डकी गाउँपालिका गुल्मीको एउटा सामान्य परिवारमा जन्मिएँ। परिवारकाे अवस्था, समय र परिस्थितिले समयअगावै परिपक्वता ल्याउँदाे रहेछ। सायद मलाई पनि त्यस्तै भयाे।
छिप्पिँदै गरेकाे बाबा आमाकाे उमेर, आर्थिक अवस्थाकै कारण आफ्नाहरूबाट बर्सिएका वचनका वाणहरू, घृणित व्यवहार, अल्झिएका खुसी, टिलपिल टिलपिल भरिँदा पनि बग्न नसकेका आँसुहरू।
गन्तव्य पछ्याउन थर्थराइरहेका पाइला, भविष्यको चिन्ता आखिर रातीमा निदाउन पनि त कहाँ सकिँदाे रहेछ र!
अझ त्यसैमाथि साथीभाइ, इष्टमित्र अनि आफन्तहरूकाे ममाथि आउने पहिलो प्रश्न- बचत कति छ? माेज छ लाइफ, बाेल्न छाडिस् ,अब के सम्झिन्थिस्....।
साँच्चिकै मेरा मित्र अनि आफन्तहरूले देखेजस्तै मेरो लाइफ त्यस्तै माेज हाेला त?
आखिर सबैले पर्दा बाहिरको स्क्रिन न देख्ने हुन्, पर्दा भित्रकाे वास्तविकता कसले नियाल्न सक्छ र ?
काठमाडौंको ठाउँ, महङ्गो काेठाभाडा, आफ्नाेपनकाे आभाष नै नहुने माहोल, घरको अत्यास, दिनभर अफिसकाे कामको प्रेसर, थकान, साँझ निद्रा लाग्छ भन्ने चिन्ताले चिसो काेठाकाे भुइँमा फर्ममाथि टेबल राखेर पढ्दै गर्दा त्यहीँ टेबलमा टाउको अड्याएर कट्ने रातहरू।
अझै वर्ष दिनकाे दशैं आउँदा पनि घर जान नपाएर काेठामा एक्लै अमिलो मुख बनाएर बस्दाकाे पीडा, वर्ष दिनमा बल्लतल्ल घर पुग्दा पनि बाबाआमाकाे काखमा एक हप्ता पनि सँगै बिताउन नपाउँदाकाे पीडा, देशभित्रै रहेर पनि एउटा परदेशी जीवन बिताउनु पर्दाकाे पीडा कति हुन्छ त्याे त म शब्दमा उतार्न सक्दिनँ।
लाेक सेवा पास गर्नु आफैंमा चुनाैतीपूर्ण छ। एउटा प्राइभेट जागिरसँगै लाेक सेवा याे अझै चुनाैतीपूर्ण। जुन मैले अगांलिरहेकी छु र म यसमै खुसी छु। थाेरै ढिला हुन सक्ला तर गन्तव्यमा अवश्य पुग्छु पनि।
लाेक सेवा पास गर्नु चानचुने कुरा होइन तर लाेक सेवालाई कलेज स्कुलकाे ३०-३५ नम्बर ल्याएर पास भइने जस्तै साेच्ने हाम्रो समाज, त्यसैमाथि यसको प्रक्रिया लामो।
यसको असली पीडा मजस्तै लाेक सेवाकाे तयारीमा लाग्नुभएका साथीहरूले मात्र महसुस गर्न सक्नुहुन्छ।
अरू आफन्त साथीभाइ अनि इष्टमित्रहरूलाई मेराे बिन्ती छ सङ्घर्षकाे मैदानमा उत्रिएकाहरूलाई सक्नुहुन्छ साथ दिनुस्। यदि त्याे सक्नुहुन्न भने आलाे घाउमा नुनचुक छर्दिने काम बिल्कुल नगर्नुस्।
मलाई याद छ, बाबाआमा हजुरहरूले हामीलाई यहाँसम्म पुर्याउन गरेको संघर्ष र त्याग।
सफलता प्राप्त गर्नकै लागि बासीभातसँगै संघर्ष गर्न थालेकाे पनि वर्ष दिन बितेछ। अचेल मलाई एउटै कुराले पिराेलिरहन्छ।
सन्तानको सफलताको पर्खाइमा रहेका ती आँखामा हर्षका आँसु बगाउँदै सफलताको अंकमाल गर्न पाउँला कि नपाउँला! हजुरहरूकाे अंगालाेमा सफलतासँगै मज्जाले बेरिन पाउँला कि नपाउँला?