बिहीबार बसेको लगानी बोर्डको ५३औं बैठकले विभिन्न पाँचवटा जलविद्युत आयोजनाका लागि एक खर्ब ६७ अर्ब रूपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ।
प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बिहीबार लगानी बोर्डको बैठक बसेको थियो।
लगानी बोर्डको कार्यालय, नयाँ बानेश्वरमा सम्पन्न बोर्ड बैठकद्वारा बिहीबार स्वीकृतमध्ये एक खर्ब ४६ अर्ब रूपैयाँ वैदेशिक र २१ अर्ब रूपैयाँ स्वदेशी लगानी हो।
बोर्डको कार्यालयका प्रवक्ता अमृत लम्सालका अनुसार लगानी बोर्डको बैठकले तल्लो अरूण जलविद्युत परियोजनाको मात्रै ९२ अर्ब ६८ करोड रूपैयाँ लगानी स्वीकृत गरेको हो।
भारतीय कम्पनी सतलज जलविद्युत निगमले बनाउन लागेको तल्लो अरूणमा परियोजना विकास सम्झौता (पिडिए) गर्न दस्तावेज तयार पार्न लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा वार्ता समितिसमेत गठन गरिएको छ।
बोर्डको बैठकले एक सय दुई मेगावाट विद्युत उत्पादन क्षमताको माथिल्लो मर्स्याङ्दी–१ परियोजनाका लागि ३३ अर्ब १९ करोड रूपैयाँ र ७० मेगावाट उत्पादन क्षमताको दूधकोशी–२ (जलेश्वर) जलविद्युत परियोजनाका लागि २० अर्ब ३५ करोड रूपैयाँ बराबर लगानी स्वीकृत गरेको छ।
त्यसैगरी ७०.३ मेगावाट उत्पादन क्षमताको सिम्बुवा खोला जलविद्युत परियोजनाका लागि १३ अर्ब ४४ करोड र ४३ मेगावाट उत्पादन क्षमताको अप्पर मादीखोला जलविद्युत आयोजनाका लागि सात अर्ब ९३ करोड रूपैयाँ बराबरको लगानी स्वीकृत भएको छ।
बैठकले रासायनिक मल कारखाना स्थापनाका सम्बन्धमा अध्ययन अनुमतिका लागि पेस भएको प्रस्तावअनुसार विकासकर्ता कम्पनीसँग गरिने समझदारीपत्रको मस्यौदा पनि स्वीकृत गरेको छ। त्यस्तै ग्रीन क्याल्सियम एमोनियम नाइट्रेट मल उत्पादन गर्न अध्ययन अनुमतिपत्रका लागि मलेसियाको रेनिकोला होल्डिङ्सको प्रस्तावलाई स्वीकृत दिने निर्णय भएको छ।
डाबर नेपालको पुँजी तथा क्षमता वृद्धिका लागि गरिने समझदारीपत्रको मस्यौदा पनि बैठकले स्वीकृत गरेको छ। पश्चिम सेती र सेती नदी–६ जलविद्युत परियोजनाको विकासका लागि भारतीय कम्पनी एनएचपिसी लिमिटेडसँग भएको समझदारीपत्रका व्यवस्थाअनुसार प्रारम्भिक अध्ययन प्रतिवेदन तयार पार्न विकासकर्ता कम्पनीले गरिरहेको कामबारे पनि बोर्डले जानकारी लिएको छ।
त्यस्तै बोर्डमा तमोर जलाशययुक्त जलविद्युत परियोजना र 'भेहिकल म्यानुफ्याक्चरिङ एसेम्बली' प्लान्टको प्रगतिबारे पनि छलफल भएको जनाइएको छ।