उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्डको काम चाँडो सम्पन्न गर्न निर्देशन दिएका छन्।
सोमबार सडकको स्थलगत अनुगमन गर्दै उनले काम चाँडो र गुणस्तरीय गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका हुन्।
उनले नारायणगढबाट बुटवलसम्मको एक सय १४ किलोमिटर लामो सडकको विभिन्न १३ ठाउँमा अनुगमन गरेका थिए।
'सडक अनुगमनका क्रममा काम सन्तोषजनक देखियो। यतिमै खुसी हुने अवस्था भने छैन,' उनले भने, 'एकपटक म्याद थप भइसकेको आयोजनाको काम गुनासो नआउने गरी चाँडो सम्पन्न गर्नुहोला।'
सडकको काम सकारात्मक दिशामा अगाडि बढेको गृहमन्त्री श्रेष्ठले बताए।
आफू भौतिक पूर्वाधारमन्त्री हुँदा सो सडकको निरीक्षण गरेको उल्लेख गर्दै उनले त्यो बेला सडक कसरी चाँडो सम्पन्न गर्न सकिन्छ भन्ने विषयमा निर्देशन दिएको उल्लेख गरे। त्यसपछि अहिले तीव्र गतिमा काम हुन थालेको आफ्नो निरीक्षण र निर्देशनको परिणाम भएको उनको भनाइ थियो।
'त्यही पनि यसलाई छिटो र गुणस्तरीय काम होस् भनेर हामीले चीनका राजदूतसँग कुराकानी गरेका थियौं,' उनले भने, 'त्यसकारण अहिले चिनियाँ राजदूतले आग्रह गरेर उहाँहरूको टोलीसँग सडकको निरीक्षणका लागि यहाँ आएका हौं।'
उनले थपे, 'काममा प्रगति भएको छ, तर जम्मा कति प्रगति भएको छ र त्यसले गुणस्तरीयता कस्तो ल्याएको छ भनेर हामीले विश्लेषण गर्छौं।'