रसुवा जिल्लास्थित टिमुरेको भोटेकोसी बगरमा निर्माणाधीन सुख्खा बन्दरगाहको ४० प्रतिशत काम सकिएको छ।
कोभिडले सुस्ताएको बन्दरगाह निर्माण कार्यले अहिले गति लिन थालेको हो।
अहिले तीव्र रूपमा सुख्खा बन्दरगाह निर्माण गर्ने काम भइरहेको नेपाल इन्टरमोडल विकास यातायात समितिका इ. शोभाकान्त राउतले जानकारी दिए।
'बगरमा वाल लगाउने, जग्गा सम्याउने काम सकियो,' उनले भने, 'हालसम्म ४० प्रतिशत काम सकिएको छ।'
उनका अनुसार तीब्बत फुल्ली कन्स्ट्रक्सन चिनीयाँ कम्पनीले बन्दरगाह निर्माण कार्य गरिरहेको छ। बन्दरगाह निर्माणमा ८० भन्दा बढी मजदुर कार्यारत छन्।
बन्दरगाहभित्र पाँचतले भवन बन्ने छ। त्यहाँ आवश्यक भन्सार कार्यालय, क्वारेन्टाइन, बैंकलगायत सबै निकाय रहने छन्।
५० हजार स्क्वायर मिटर क्षेत्रफलमा बन्ने यस बन्दरगाहमा व्यवस्थापकीय भवनसहित तीन सयभन्दा बढी ठूला कन्टेनर र साना जिप, कार, भ्यान पार्किङको क्षमता रहेको छ।
त्यस्तै, एउटा गोदाम र दुई वटा सेड बन्नेछन्।
उक्त बन्दरगाह चल्नेमा आफूहरू विश्वस्त रहेको समितिका निर्देशक आषिश गजुरेल बताउँछन्।
'अहिले रसुवागढी नाका पनि पूर्ण सञ्चालनमा आइसकेको छ,' उनले भने, 'बन्दरगाह चल्छ भन्नेमा हामी विश्वस्त छौं।'
उनका अनुसार अहिले भन्सार क्लियरेन्स गर्ने बेला ट्रक खोलाको बगरमा पार्किङ गर्नुपर्ने अवस्था छ। त्यसले सामान चोरी हुने समस्या छ।
बन्दरगाह बनिसकेपछि व्यवसायीले ट्रकभित्रै पार्किङ गर्न पाउनेछन्। बन्दरगाह भित्र सहचालकलाई आराम कक्षको पनि निर्माण गरिने उनले जानकारी दिए।
यो बन्दरगाह चिनियाँ सरकारको लगानीमा बन्न लागेको हो। यसमा चिनियाँ सरकारले १२ करोड ४० लाख युआन खर्च गर्नेछन्।
सन् २०१९ मे १२ मा नेपाल इन्टरमोडल यातायात विकास समिति र चिनियाँ सरकारबीच ‘इम्ल्पिमेन्टसन माइन्युट’ सम्झौता भएको हो।
सोअनुसार नोभेम्बर २० मा बन्दरगाहको शिलान्यास भएको थियो। सो समयमा ३० महिनाभित्र उक्त आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि कोभिडका कारण तोकिएको समयमा सम्पन्न हुन सकेन।
कोभिडपछि २०२३ फेब्रुअरी १४ मा 'सप्लिमेन्ट्री इम्ल्पिमेन्टसन एग्रिमेन्ट' सम्झौता भएपछि बन्दरगाह निर्माण कार्यले गति लिएको हो।
सो सम्झौतामा २०२५ जुन–६ मा बन्दरगाहको निर्माण सकिने उल्लेख छ।
नेपाल–चीनबीचको व्यापार बढाउने उद्देश्यले सो बन्दरगाह निर्माण गरिएको हो।