विधानअनुसार अध्यक्षमा चन्द्र ढकाल र सहमतिबाट वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठसहित नेपाल उद्योग वाणिज्य महासंघको तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति आएको छ।
बुधबार सम्पन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका लागि चाहिने मत (५० प्रतिशत बढी) कसैले पनि नपाएको अवस्थामा पहिलो बनेका अञ्जन श्रेष्ठ र दोस्रो बनेका उमेशलाल श्रेष्ठ सहमतिबाट वरिष्ठ उपाध्यक्ष टुंगाएपछि दोस्रो चरणको निर्वाचन नै नगरी महासंघ कार्यसमिति तय भएको हो।
तीन उपाध्यक्ष पदका लागि ८ जना बीच प्रतिस्पर्धा भएकोमा जिल्लानगरमा सुरकृष्ण वैद्य, एसोसिएटमा ज्योत्सना श्रेष्ठ र वस्तुगतमा हेमराज ढकाल विजयी भए।
कसको कति मत?
उद्योग वाणिज्य संघको तर्फबाट सदस्य बन्न पाउनुपर्ने १८ जनामध्ये ३२ जनाले उम्मेदवारी दिएकामा सबैभन्दा बढी मत पाल्पाका मोहनप्रसाद श्रेष्ठले पाए। निर्वाचितमध्ये कम मत सुर्खेतका निरक केसीले पाए।
वस्तुगतमा १४ जनाका लागि निर्वाचन गरेकोमा २८ जनाले उम्मेदवारी दिएका थिए। सबैभन्दा बढी भोट नेपाल उनी फेल्ट उत्पादक तथा निर्यात संघका नरेश श्रेष्ठले लिए भने निर्वाचितमध्ये सबैभन्दा कम नेपाल अलैंची व्यवसायी संघका राजकुमार कार्कीको रह्यो।
एसोसिएटतर्फ १९ पदका लागि २९ जनाले उम्मेदवारी दिएकामा सबैभन्दा बढी सफिसियन्ट कन्सलटेन्सीका डा रामशरण थपलियाले १४ सय ६३ मत प्राप्त गरे।
प्रदेशबाट प्रतिनिधित्व गर्नेमा कोशीबाट नरेन्द्र खड्का, मधेशबाट अरुणकुमार प्रधान, बागमतीबाट सविन श्रेष्ठ, लुम्बिनीबाट जम्शेर मिया, कर्णालीबाट लालिमान बुढा र सुदूरपश्चिमबाट जंगबहादुर मल्ल निर्वाचित भएका छन्। गण्डकीको भने टुंग्याउन बाँकी छ।
द्वीराष्ट्रियबाट सुनिल केसी निर्वाचित भएका छन्।