नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले पर्यटन प्रवर्द्धनका लागि चीनमा 'सेल्स मिशन' गर्ने भएको छ।
कोभिडको महामारी पछि पुनः नेपाल पर्यटन बोर्ड र नेपाल राजदूतावास बेइजिङको सहकार्यमा सन् २०२३ अप्रिल १४ देखि अप्रिल २१ सम्म चीनका तीन प्रमुख व्यवसायिक शहरहरू चेङदु, खुमिङ र बेजिङमा 'सेल्स मिशन' आयोजना हुने नाट्टाले जनाएको छ। नाट्टाका अनुसार यसका लागि सबै तयारी पुरा भइसकेको छ।
यस वर्षको नेपाल-चाइना सेल्स मिशनको समन्वय गर्न संयोजकका रूपमा नाट्टा उपाध्यक्ष वरुण मेहता छन्।
संघका उपाध्यक्ष एंव कार्यक्रम संयोजक वरुण मेहताको नेतृत्वमा चीन जान लागेको नेपाली पर्यटन व्यवसायीहरूको प्रवर्द्धन टोलीमा ट्राभल/टूर व्यवसायी, होटेल एवम् ट्रेकिङका गरी कुल ३७ जना सहभागी छन्।
टोलीले तीनवटा शहरमा नेपालको पर्यटनबारे प्रस्तुतिकरण गर्नेछन्। साथै त्यहाँको स्थानीय टूर अपरेटरहरूसँग 'बीटुबी' गर्ने तथा स्थानीय संचार माध्यमहरूलाई नेपालका पर्यटकीय आकर्षणबारे जानकारी गराइने कार्यक्रम छ।
कार्यक्रममा बेइजिङस्थित नेपाली राजदूतावासले पनि नाट्टाको यस प्रवर्द्धनमूलक कार्यक्रममा सहकार्य गर्दै स्थानीय सरकारी निकाय तथा पर्यटन संघ-संस्थाहरूको विषेश भेला आयोजना हुने उनले बताए।
चीन सरकारले सन् १९७८ देखि अवलम्बन गरेको राष्ट्रिय सुधार र खुल्लाद्वार नीतिको फलस्वरुप चीनबाट पर्यटकहरू बाह्य मुलुकमा भ्रमणका लागि जाने क्रम बढेको हो। कोभिडपछि गत मार्चमा चीन सरकारले नागरिकहरूलाई घुम्न जान खुला गरिसकेको पनि छ।
आफ्ना नागरिकलाई भ्रमण गर्न खुल्ला गरी तयार गरेको देशको सूचीमा नेपाल समेत समेटिएको र यस सेल्स मिशनले चिनियाँ पर्यटकलाई उल्लेख्य रूपमा नेपाल भित्राउन सफल हुने विश्वास लिइएको छ।
सेल्स मिशनको भ्रमण टोलिमा नाट्टाका उपाध्यक्ष एव मिशन संयोजक वरुण मेहता र नाट्टा सचिव एवं मिशन सहसंयोजक युविका भण्डारीसँगै नेपाल पर्यटन बोर्डका दुई जना प्रतिनिधि र एअर चाइनाका एक प्रतिनिधि रहनेछन्।
कोभिडले थला परेको पर्यटन व्यवसाय पुनः सञ्चालनका लागि नाट्टाले अन्तराष्ट्रिय सेल्स मिशन, मार्ट तथा प्रदर्शनीहरू गर्दै आइरहेको सन्दर्भमा यस चाइना सेल्स मिशनले पर्यटन पुनः संचालनका लागि नेपालले गरिरहेको प्रयासलाई मजबुद बनाउने अपेक्षा राखिएको छ।