भक्तपुरको मध्यपुर थिमि नगरपालिका–२ बोडेका ४९ वर्षीय बुद्धकृष्ण वाग श्रेष्ठले नवौं पटक जिब्रो छेडाएका छन्।
तीन दिन अघिदेखि केही नखाई व्रत बसेका श्रेष्ठले शुक्रबार नवौ पटक जिब्रो छेडेका हुन्। व्रत बसेदेखि जिब्रो नछेडेसम्म सुत्नसमेत नहुने र जिब्रो छेड्दा पीडा नहोस् भनेर सात दिनअघिदेखि नै नूनसमेत नखाने गरिन्छ।
व्रत बस्नेले जिब्रो छेड्नुअघि शक्ति प्राप्त होस् भन्ने कामनासहित बोडे क्षेत्रका विभिन्न देवीदेवताको पूजाआजा गर्ने गरिन्छ।
जिब्रो छेड्ने पाँचो गणेशको पाटीमा पुगेपछि जात्राका नकर्मी नाइकेले उनको जिव्रो छेडिदिएका थिए। एक महिना अगाडिदेखि तयार पारेर तेलमा डुबाएर राखेको फलामको १० इञ्च लामो सुइरो जिब्रोमा छेडेने गरिन्छ।
त्यसपछि जिव्रो छेड्ने व्यक्तिले महादीप बोकेर एक घण्टा नगर परिक्रमा गरेर बोडेको महालक्ष्मी मन्दिरमा पुगेर सुइरो झिकेपछि जात्राको समापन हुने गर्दछ । यसपछि उक्त परिवारमा भोज खाने प्रचलन छ ।