जिटी स्मार्टफोनको सफलतापछि रियलमीले गत मार्चमा ‘रियलमी जिटी निओ’ स्मार्टफोन ल्याएको थियो। सोमबार रियलमी चाइनाका भिपीले कम्पनी यो स्मार्टफोनको नयाँ मोडलमा काम गरिरहेको खुलासा गरेका छन्। उनको घोषणाको केही समय बित्न नपाउँदै ‘अनलिक्स’ र ‘डिजिट.इन’ले अनलाइनमा ‘जिटी निओ–२’मा हुनसक्ने फिचरहरु सार्वजनिक गरेको छ।
‘जिटी निओ–२’मा फ्ल्याट ६.६ इन्चको एमोलेड डिस्प्ले हुनेछ र यो जिटी स्मार्टफोनमध्ये सबैभन्दा ठूलो डिस्प्लेमा पर्छ। यसमा १२० हर्जको रिफ्रेस रेट हुनेछ र यो एन्ड्रोइड ११ संस्करणमा चल्नेछ।
जिएमएस एरेनाका अनुसार यो स्न्याप्ड्रैगन ८७० चिपसेटमा चल्नेछ। यो चिपसेट ८८८ चिपभन्दा शक्तिशाली नभएपनि यसको पफर्मेन्स ‘जिटी निओ’ र ‘जिटी निओ फ्ल्यास’भन्दा राम्रो हुने बताइएको छ।
रियलमीका जिटी फोनहरु तीनवटा क्यामरासहित आइरहेको हुँदा ‘जिटी निओ–२’को क्यामरा पनि यस्तै हुने अनुमान छ। यसमा ६४ मेगापिक्सलको मुख्य क्यामरा, ८ मेगापिक्सलको अल्ट्रा–वाइड क्यामरा र २ मेगापिक्सलको म्याक्रो क्यामरा हुनेछ। यसको अगाडिपट्टि भने १६ मेगापिक्सलको सेल्फी क्यामरा हुनेछ।
‘जिटी निओ–२’मा ८ जिबी र्याम र १२८ जिबी आन्तरिक स्टोरेज हुने अनुमान गरिएको छ। यसमा पाँच हजार एमएएचको ब्याट्री क्षमता र ६५ वाटको फास्ट चार्जिङ हुने भनिएको छ।
यी सबै फिचरहरु अनुमान मात्रै भएको हुनाले यस फोनमा केकस्ता विशेषता हुनेछ भनेर पक्का भएको छैन। यदि रियलमीले ‘जिटी निओ–२’ सार्वजनिक गर्यो भने उपभोक्ता त्यसका फिचरबारे जानकारी पाउने जिएसएम एरेनाले जनाएको छ।