नेपाल टेलिकमले पोखरा र वीरगञ्जमा पनि ५जीको परीक्षण सुरू गर्ने भएको छ। टेलिकमका प्रवक्ता शोभन अधिकारीका अनुसार पोखरा र वीरगञ्जमा रहेको टेलिकमको कार्यालयहरूमा ५जी सेवाको आन्तरिक परीक्षण गर्ने भएको हो।
'यसको लागि आवश्यक प्रविधि जडान काम सकिएको छ। छिट्टै परीक्षण पनि थाल्नेछौं,' उनले भने।
यतिबेला कम्पनीले आफ्नो बबरमहल र सुन्धारास्थित कार्यालयबाट ५जी नेटवर्कको आन्तरिक परीक्षण गर्दैछ। कम्पनीले गत माघ २२ गतेदेखि परीक्षण थालेको हो। परीक्षणको अन्तिम निश्कर्ष भने सार्वजनिक हुन बाँकी नै छ।
काठमाडौं (बागतमी प्रदेश)मा परीक्षण जारी छ। पोखरा (गण्डकी प्रदेश) र वीरगञ्ज (मधेश प्रदेश)मा पनि छिट्टै सुरू हुने बताइएको छ।
यीबाहेक बाँकी चार प्रदेशमा परीक्षणको लागि आवश्यक उपकरणहरू आयात भइसकेको छैन। स्वीकृति मिलेसँगै कम्पनीले यी उपकरणहरू आयात गर्ने र जडान कार्य अघि बढाउने प्रवक्ता अधिकारी बताउँछन्।