ट्विटर इंकको नाम परिवर्तन भएको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इलन मस्कले ट्विटरको नाम 'एक्स कर्प'मा परिणत गरेका हुन्। यससँगै अब ट्विटर इंक एक स्वतन्त्र कम्पनी रहेन।
विभिन्न अन्तर्राष्ट्रिय सामाजिक सञ्जालहरूका अनुसार मस्कले ट्विटरलाई आफ्नो एक्स कर्पोरेसनकै 'प्रडक्ट’' रूपमा सामेल गराएका हुन्।
गत अप्रिल ४ मा क्यालिफोर्नियाको एक अदालतमा पेस गरिएको कम्पनी र कम्पनीका पूर्व सिइओ ज्याक डोर्सेविरुद्ध दायर गरिएको मुद्दाको कागजातमा ट्विटर इंक मस्को एक्स कर्पोरेसनसँग मर्ज भएको देखाइएको हो। उक्त मुद्दा अभियानकर्ता लौरा लुमरले दर्ता गराएका थिए।
यसबारे मस्कले भने सार्वजनिक रूपमा घोषणा गरेका छैनन्। ट्विटरको नाम पनि देखिने ढंगमा परिवर्तन गरिएको छैन। यद्यपि ट्विटर खरिदसँगै उनले आफ्नो ट्विटहरूमा 'एक्स' लेख्ने गर्थे। यसका कारण केही प्रयोगकर्ताहरूले मस्कले ट्विटरलाई एक्स कर्पोरेसनअन्तर्गत ल्याउन पहिल्यैदेखि खोजेको भन्ने अनुमान लगाइरहेका छन्।
मस्कले पनि यसबारे संकेत भने गरेका थिए। मंगलबार उनले ट्विटरमा एक अक्षर 'X' (एक्स) लेख्दै ट्विट गरेका थिए।
गत वर्ष मस्कले ४४ बिलियन डलरमा ट्विटर खरिद गरेदेखि ट्विटरमा विभिन्न खालका परिवर्तनहरू गरिरहेका छन्। धेरैले उनको गतिविधिहरूको आलोचना गरिरहेका छन्। तर पनि मस्कले आफू खुशी गर्न छाडेका छैनन्।
संसारको दोस्रो धनाड्य व्यक्ति मस्कले 'एक्स'लाई चीनको 'ह्वीच्याट' जस्तै बनाउने इच्छा व्यक्त गरेका छन्। टेनसेन्ट होल्डिङ्स लिमिटेडको स्वामित्वमा रहेको ह्वीच्याट भुक्तानी र टिकट बुकिङदेखि मेसेजिङसम्मको लागि प्रयोग गर्न सकिन्छ।