माछापुच्छ्रे, मर्दी, अन्नपूर्ण लगायतका हिमशृंखलाको काखमा हिमाल जस्तै मिलेको बस्ती हो कास्कीको ल्वाङ गाउँ अर्थात् ल्होगो नाश।
गुरूङ बस्ती भएकाले ल्वाङ गाउँलाई गुरूङ भाषामा ल्होगो नाश भनिन्छ।
जुन घर हेर्दा पनि उत्तिकै आकर्षक र मनमोहक देखिन्छन्। पुरै गुरूङ संस्कृति झल्किने लोभलाग्दो घरहरू, बाटोका ढुंगे सिँढी छापिएको छ।
माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ८ मा पर्ने मर्दी खोला शिरको ल्वाङ गाउँमा यतिबेला पर्यटकको ओइरो लागेको छ।
२०६७ सालमा सामुदायिक होमस्टेको सुरूआत भएपछि यहाँ आन्तरिक पर्यटकको आगमान बाक्लिन थालेको हो।
पुस्तौदेखिको गुरूङ सभ्यता बोकेको अनि पाहुनाको सत्कारमा चुर्लुम्म डुबेको यो गाउँ पुगेपछि सारा मानसिक देखि शारीरिक थकान निमेषमै मेटिन्छ।
पहिलो पटक आउने पर्यटकलाई मात्र होइन पटकपटक गइसकेको पर्यटकलाई यहाँको आतिथ्य संत्कार, अर्गानिक स्वाद अनि सुन्दर दृश्यहरूले जो कोहीको मन सजिलै तान्छ।
गाउँकै चिसो हावापानीमा उत्पादित साग, दाल, चामल, मुला, गाँजर, मकै भटमास, कुखुरा, मर्दिखोलाको असला माछा र चियापत्ती त्यहाँ आउने पाहुनालाई खुवाउने मुख्य परिकार हुन्।
ल्वाङमा एक जना पाहुनाले एक रातको बास, २ छाक खाना र खाजासहितको प्याकेजमा १ हजार ७५ रूपैयाँ तिर्नुपर्छ।
करिब डेढ सय घरधुरी रहेको ल्वाङका १४ वटा घरमा होमस्टे सेवा छ। यहाँ २ वटा सुविधा सम्पन्न होटल छन्।
ल्वाङ गाउँमा होमस्टेको व्यावसायिक सुरूआत हुनु भन्दा पहिले विसं २०५३ सालमा गाउँको सिरानमा रहेको बारीमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को सहयोगमा चियाखेती सुरु गरिएको थियो।
अहिले उक्त चिया खेतीले व्यावसायिक रूप ग्रहण गरेको छ। यहाँको अन्नपूर्ण चिया बगान पर्यटकको रोजाइमा पर्दै आएको छ।
होमस्टेबाट आधा घन्टाको हाइकिङ पश्चात पुगिने चिया बगानबाट सुन्दर हिमालसँग प्रत्यक्ष्य साक्षात्कार गर्न पाइन्छ।
विभिन्न धार्मिक ऐतिहासिक महत्व वोकेको ल्वाङगाउँ मर्दी हिमाल ट्रेकिङको शुरूआतीस्थल पनि हो।
ल्वाङ गाउँ विदेशी पर्यटकभन्दा स्वदेशी पर्यटकले भरिन्छ। यहाँ बास बस्ने गरि जान पहिले नै आफ्नो बासस्थान सुरक्षित गर्नुपर्ने हुन्छ। धेरै मानिसहरु पहिले नै बुक नगरी पुग्दा बस्ने ठाउँको अभाव हुनसक्ने सञ्चालक समितिका सचिव तिर्थ बहादुर गुरूङले जानकारी दिए।
कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं. ८ मा रहेको ल्वाङ गाउँमा जान पोखराको हरिचोकबाट नियमित बस पाइन्छ। पोखराबाट २० किलोमिटरको दुरीमा रहेको यो गाउँमा जान पोखरा टुँडिखेलस्थित हरिचोकबाट हेम्जा मिलनचोक, मर्दीपुल, खानेपानी, भेडाबारी, खोरामुख, भाङखोला हुँदै डेढ घन्टामा ल्वाङमा पुग्न सकिन्छ।