हरेक रात सपनामा
घाइते हुनुभन्दा पहिलाको आफूलाई देख्थेँ
कुनै चोट नबोकी घर फर्किन्थेँ
कुनै माइन नटेकी साथीलाई पर्खिन्थेँ
पड्किने ठाउँ चिनेको जस्तो लाग्थ्यो
हावा बोकेर हिँडेको जस्तो लाग्थ्यो
खोल्सामा राखिएको बम देख्थेँ
तर नउठाई हिँडिदिन्थेँ
मलाई खोज्दै आएका दुईतिरका मान्छे
कुट्थे, हात खुट्टा भाँच्थे र फर्किन्थे
तर मलाई दुख्दैन थियो
कोही मलाई ताकेर मेरै शरीरमा गोली हान्थे
तर मलाई लाग्दैन थियो
छेउमै बम पड्किन्थ्यो
मलाई छुँदैन थियो
दोहोरो भिडन्त भइरहेको ठाउँबाट आँखा चिम्लिएर दौडिँदा पनि
अहँ कुनै गोली मलाई लाग्दैन थियो
सपनामा घाइते हुनुभन्दा पहिलाको आफूलाई देखेर
म असाध्यै बलियो हुन्थेँ
युद्धसँग उधारो नराखेको मान्छे
युद्धलाई देखेर किन लुक्नु?
कसैको पक्ष नलागेको मान्छे
कसैलाई देखेर किन लुक्नु?
युद्धको पक्षमै नभएको मान्छे
आफ्नो पक्षमा हुन किन डराउनु?
सपनाभरि म नडराएको देख्थेँ
सपनाभरि म युद्ध सकिएको देख्थेँ
महिलाहरू बमको चोइटा बढार्दै हुन्थे
पुरुषहरू गोलीको खोका गन्दै हुन्थे
केटाकेटीहरू तातो आलु खेलिरहेका हुन्थे
म हाँस्दै हाँस्दै सबै थोक हेरिरहेको हुन्थेँ
फेर्न चाहेजस्तो सजिलो सास फेरिरहेको हुन्थेँ
त्यसरी हरेक दिन आफूलाई सकुशल देख्न पाएर होला
कुनै दिन सपना देख्न पाइनँ भने म आत्तिन्थेँ
कुनै दिन निदाइनँ भने आत्तिन्थेँ
म सपनाको लति भएको थिएँ
थाहा छैन लति हुँदा कति क्षति भएको थिएँ
म सपनाबाट ब्युँझिन डराउने भएको थिएँ
दुवै खुट्टा मिचिमिची आफ्नै हातले धोएको देख्थेँ
सग्लो जिउमा साबुन लगाएर आफैं पखालेको देख्थेँ
सजिलो गरी कपडा खोलेर पिसाब फेरेको देख्थेँ
हरेक दिन सपनामा म
आफ्नो सबै काम सजिलै आफैंले गरेको देख्थेँ
दुई खुट्टाले हिँडेको देख्थेँ
दुई हातले समाएको देख्थेँ
दुवै आँखाले देखेको देख्थेँ
सबै थोक पहिला जस्तै देख्थेँ
आफूलाई सग्लो जस्तै देख्थेँ
सपनामा म खै कसरी उभिन्थेँ?
सपनामा म जसरी पनि जोगिन्थेँ
भएका सबै कुरा खै कसरी बिर्सिन्थेँ?
त्यस बेला म उल्टो सपना देख्थेँ र त्यसैमा लट्टिन्थेँ
यसरी सबै थोक ठीक देख्दा देख्दै
एक दिन
घुम्ने कुर्सीमा गुड्दै केही मान्छे मेरो नजिकै आए र मलाई च्याप्प समाए
अर्कोपट्टिबाट आएका अरू मान्छे
बन्दुक बिसाएर खुड्किला उक्लिन थाले
र मैले हेर्दा हेर्दै खुड्किलामै बिलाए
सबै थोक छिटो छिटो हुन थाल्यो
सबै हतार गरेर दौडिन थाले
एकले अर्कालाई कुल्चिन थाले
एकले अर्कालाई धकेल्न थाले
मलाई सपनासँग शंका लाग्यो
पहिलो पल्ट
मलाई सपनासँग डर लाग्यो
घाउमा बाँधिरहेको कपडा
झ्वाट्ट पारेर तानिदिए जसरी
कसैले तानिदियो
म सपनाबाट बिपनामा पछारिएँ
म हावाबाट भुइँमा झारिएँ
त्यतिन्जेल आफैंसँग भाग्दै रहेछु
त्यसरी ब्युँझिएर म उठेँ
घाइते भइसकेपछिको आफू भएँ
राम्ररी नमुठारिएका लौरो झैं
काटिएका हात खुट्टा धेरैपछि सुमसुम्याएँ
अप्रिय साथीले अँगाले जसरी
अँगाली बसेका बमका छर्राका दाग
प्रिय साथीको हात मुसारे जसरी मुसारेँ
युद्धमै परेर पनि युद्ध पीडित नगनिएको आफ्नो नाम
दोहोर्यार आफैंलाई सुनाएँ
मैले आफैंलाई पहिलो पल्ट स्वीकारेँ
त्यतिन्जेल आफूसँग हार्दै पो रहेछु
सम्झिन खोज्दा बिर्सिइजाने सपनाको लोभमा
त्यतिन्जेल आफूलाई मार्दै पो रहेछु
सपनामा हुन्जेल म
सिंगो रुख थिएँ
सपनाबाट ब्युँझिएपछि म
सिंगो अचानो भएँ।
जिउँदो अचानो भएँ।
अचानै भएर पनि
जिउँदो भएपछि बल्ल आफूलाई चिनेँ
दिनदिनै काटिरहने खुकुरीलाई चिनेँ
आफूमाथि काटिइरहेका अरू धेरैलाई चिनेँ
आजकाल पनि सपना देख्छु
तर पहिला जस्तो उल्टो देख्दिनँ
अहिले घाइते भएर निको भएको जिउ नै सपनामा देख्छु
बिपनामा भएको आफूलाई नै सपनामा देख्छु
अहिले जितिरहेको सपना देख्छु
जिताइरहेको सपना देख्छु
उ बेला भागेको सपना देख्थे
अहिले आइपुगेको सपना देख्छु
आफूलाई स्वीकारेपछि
आफूलाई भेटिने रहेछ
अहिले भेटिएको सपना देख्छु
(दस वर्षे युद्धका कारण अपांगता भएका सम्पूर्ण द्वन्द्वपीडितमा समर्पित)
ट्विटर: @SurajWritesNP