लामो समयको बन्दाबन्दीले अस्तव्यस्त काठमाडौंलाई चाडबाडले छोएको छ। मध्य असोज भए पनि क्षणभरमै घाम लाग्ने र पानी पर्नाले मौसम थप घमाइलो छ।
वर्षायामकै झल्को आउने गरि झरी परिरहँदा काठमाडौंको केही ठाउँमा भने असारमा लगाएको धान काट्ने चटारो छ।
काठमाडौंको साँखु शंखारापुर क्षेत्रमा यतिबेला धान काट्ने र धान काटेको ठाउँमा आलु रोप्ने काम शुरू भएको छ। अन्त धान भर्खरै फुल्ने बेला भइरहँदा यहाँ भने धान आधाउधी भित्र्याइसकेको छ। धान काटेको ठाउँमा धमाधम आलु रोप्ने काम भइरहेको छ।
सोमबार आधा आकाश गर्जिदै गर्दा शंखरापुरको फाँटको दृष्य भने गज्जबको देखियो। केही मानिस धान काटिरहेका थिए भने केही धान छान्दै थिए। केही खाजा खाँदै थिए भने केही खाजा बोकेर खेततिर आईरहेका थिए। कोही बारी खनिरहेका थिए भने कोही आलुका बिउ रोप्दै थिए।
किसानका अनुसार धान झरीले राम्रोसँग छिप्पिन नपाए पनि आलु रोप्ने बेला भइसकाले धान अलिक अगाडिनै काटिएको हो। यस्तै यहाँका स्थानीयका अनुसार यस फाँटको धान काटेर आलु रोपेपछि मात्रै दशैँ आएको आभास हुन्छ।
यहाँ धान छिट्टै रोप्ने र छिट्टै टिपेर दुई पटक आलु रोपिन्छ। यहाँ अहिले धान काट्न तराईका विभिन्न जिल्लादेखि मजदुर आएका छन्।
उनीहरू यहाँ दशैँ तिहारसम्म धान भित्र्याइदिएर छट मनाउन तराई जाने गरेका छन्।
आधा धान रहेको खेतमा आधा आलु रोप्दै गरेको ड्याङमा परिणत भएको रमणीय ठाउँ अनि किसानको लोभलाग्दो दैनिकी हेरौं केही तस्विरमा।