दसैं नजिकिँदै छ। मानिसको व्यस्तता निकै बढिरहेको छ। राजधानीमा यतिबेला ट्राफिक प्रहरीले चेकजाँचलाई तीव्रता दिएको छ।
सामान्य अवस्थाभन्दा यतिबेला सवारी चाप बढ्नुका साथै दुर्घटना र अन्य आपराधिक घटना बढ्न सक्ने भन्दै ट्राफिक प्रहरीले चेकिङलाई तीव्रता दिएको हो।
काठमाडौंमा बुधबार विभिन्न स्थानमा ट्राफिक प्रहरीले नियमित चेकिङलाई निरन्तरता दिएको छ।
नियमित चेकजाँच अनुसार सवारी साधनको बिग्रिएको नम्बर प्लेट र यसले निम्त्याउन सक्ने दुर्घटनाको न्यूनिकरणको निम्ति सचेतनासहित सवारी जाँच गरिएको ट्राफिक प्रहरीले जनाएको छ। शंकास्पद सवारीका कागजपत्र दुरूस्त भए/नभएको जाँचलाई पनि तीव्रता दिइएको छ।
यस्तै ट्राफिक प्रहरीले नेपाल प्रहरीसँग मिलेर चाडबाड बढेसँगै चोरी-डकैती तथा यात्रुमाथि हुनसक्ने दुर्व्यवहार, बढी भाडा असुल्ने गुनासो सम्बोधन निम्ति विभिन्न ठाउँमा नागरिक सहायता कक्षसमेत निर्माण गरेको छ।
अहिले दैनिक बिहान, दिउँसो र बेलुका नियमित चेकिङको व्यवस्था मिलाइएको प्रहरी सहायक निरीक्षक प्रिन्सानन्द यादवले सेतोपाटीलाई बताए।