तिहारको दोस्रो दिन बुधबार कुकुर तिहार कुकुरको पूजा गरी मनाइएको छ।
हिन्दु परम्परा अनुसार कार्तिक कृष्ण चर्तुदशीका दिन भैरवको बहान कुकुरको पूजा गर्ने गरिन्छ। मानिसको निकट साथीको रूपमा मानिने कुकुर आज्ञाकारी र रक्षक भएकाले यसको पूजा गर्ने प्रचलन रहिआएको हो।
यसै अवसर पारेर नेपाल आर्मी र नेपाल प्रहरीले विशेष कार्यक्रमको आयोजना गरि कुकुर पूजा गरेको छ।
नेपाल प्रहरीले महाराजगन्जस्थित केन्द्रीय प्रहरी कुकुर तालिम स्कुलमा विशेष कार्यक्रम आयोजना गरी कुकुर पूजा गरेको छ।
नेपाल प्रहरीले अपराध नियन्त्रण तथा अनुसन्धानका लागि प्रयोग गरेका तालिम प्राप्त कुकुरहरूको पूजा गरेको हो । कार्यक्रममा अनुसन्धानमा उत्कृष्ट भएका एउटा कुकुरलाई सम्मान पनि गरिएको थियो। केन्द्रीय प्रहरी तालिम स्कुलबाट तालिम प्राप्त कुकुरहरूलाई अपराध अनुसन्धानको कार्यमा परिचालन गर्ने गरिन्छ।