तिहारको दोस्रो दिन बुधबार कुकुर तिहार कुकुरको पूजा गरी मनाइएको छ।
हिन्दु परम्परा अनुसार कार्तिक कृष्ण चर्तुदशीका दिन भैरवको बहान कुकुरको पूजा गर्ने गरिन्छ। मानिसको निकट साथीको रूपमा मानिने कुकुर आज्ञाकारी र रक्षक भएकाले यसको पूजा गर्ने प्रचलन रहिआएको हो।
यसै अवसर पारेर १८ वर्षदेखि शान्ति मिसनमा सहभागी गराउँदै आएको सैनिक डगको पूजा गरेको छ।
नेपाली सेनाले भैरव बहान गुल्ममा सैनिक कुकुर तथा कला प्रदर्शनी गरेको छ। बिहान नेपाली सेनाले सैनिक कुकुर तथा कला प्रदर्शनी तथा कुकुर पूजा कार्यक्रम राखेको हो।
नेपाली सेनाले अपराध अनुसन्धान र सुरक्षा कार्यमा अब्बल मानिएका कुकुरको सहयोगमा शान्ति सैनिकलाई सुम्पिएको जिम्मेवारी पुरा गर्न सहज भएपछि नेपाली सेनाले द्वन्द्वरत मुलुकमा हातहतियार तथा विष्फोटक पदार्थ पत्ता लगाउन र सुरक्षा गार्डमा कुकुरको प्रयोग गर्दै आएको छ।
संयुक्त राष्ट्रसंघको आह्वानमा तत्कालीन द्वन्द्वरत मुलुक लाइबेरियामा तैनाथ नेपाली शान्ति सैनिकले पहिलो पटक मिसनमा २०५९ सालमा सान र गामिनी नामक दुई कुकुर समावेस गरेको थियो।
लाइबेरीया र लिवियामा खटिएका शान्ति सैनिकको सहयोगका लागि नेपालबाट हालसम्म १३ कुकुर लगि सकिएको छ। लाइबेरिया मिसनमा कुकुरको प्रयोगबाट हातहतियार र विष्फोटक पदार्थ पत्ता लगाउने कार्यमा उत्कृष्ट नतिजा हात पारेपछि सेनाले लिवियामा पनि परिचालन गरेको हो।
नेपाली शान्ति सैनिकलाई लिबियामा शान्ति स्थापनार्थ अहिले रेक्स, किलो, बुजो र टोनी नाम गरेका कुकुरले सहयोग पुर्याउँदै आएका छन्। त्यहाँ खास गरी हातहतियार र विष्फोटक पदार्थ बरामद, खोजीतथा उद्धार एवं कार्यक्षेत्रको सुरक्षा अर्थात् सुरक्षा गार्डमा कुकुर समावेश गरिएको छ। पछिल्लो पटक लिवियामा गत असोज १४ गते किलो नामक कुकुर पठाइएको छ भने लिवियाबाट फिर्ता भएको माईकल नामक कुकुरलाई सेनाले भैरव वाहन गुल्ममा राखिएको छ।
सरकारले २०५५ सालमा सेनामा तालिम प्राप्त सैनिक कुकुर राख्ने निर्णय गरेपछि सोही वर्ष भारतबाट जर्मन सेफेर्ड ६ र लेब्राडोर ६ कुकुर ल्याएर २०५६ साल देखि तालिम दिइ सञ्चालन गरिएको गट्ठाघरस्थित भैरव वहान गुल्मको केनलमा हाल जर्मन सेफेर्ड २३, ल्याब्रोडोर ५५, ककर स्पाइनल ७, गोल्डेन रिट्रिभर २ र मालिनोइज १ बच्चा कुकुर छन्।
एउटा कुकुरका लागि तालिम र खाना खर्चसहित सबै बन्दोबस्तीका लागि प्रतिदिन ३७३ रूपैयाँ खर्च लाग्ने बताइएको छ। शान्ति सेनामा सुरक्षा गार्ड र गस्तीमा खटिने प्रतिजोडाले ८९०.०४ र खोज तथा उद्दारमा खटिने जोडी कुकुरलाई प्रतिमहिना ९९५.७२ अमेरिकी डलर भत्ता हुन्छ ।
सेनाले उमेर र कामगर्ने क्षमताका आधारमा छनोट गरी शान्ति मिसनमा कुकुर पठाउने गरेको छ । सामान्यतया एउटा स्वस्थ्य कुकुरले आठ वर्षको उमेरसम्म पूर्ण रूपमा काम गर्छ।
यसका अतिरिक्त सेनाकै मुस्ताङस्थित सैनिक उच्च शिखर शिक्षालयमा गोल्डेन रिट्रिभर २ र चितवन राष्ट्रिय निकुञ्जमा चोरी शिकारी नियन्त्रण मालिनोइज र लेब्राडोर २ जातका कुकुर छन्।
सेनाले कुकुरलाई समयानुकूल तालिम प्रदान गर्ने, कुकुर सम्हाल्नेलाई भारत, पाकिस्तान र बंगलादेश पठाउने गरेको छ। यसका अतिरिक्त सुरक्षा फौजले सञ्चालन गरेको विभिन्न समारोहमा खेलकुद र मनोरञ्जनका लागि कुकुरको प्रयोग गरिँदै आएको छ।