विशेषगरी मिथिलाञ्चलमा मनाइने छठ पर्वको रौनकले पछिल्लो समय काठमाडौंलाई पनि छोएको छ। सुरू सुरूमा तराई क्षेत्रमा मनाइँदै आएको छठ पर्ष पछिल्लो समय काठमाडौंमा पनि व्यापक रूपमा मनाउन थालिएको छ।
यसैबीच काठमाडौंको गुहेश्वरी क्षेत्रमा छठ पूजा समिति कार्यालयनै स्थापना गरेर काठमाडौंमा छठ पूजाको भब्य तयारी सुरू गरिएको छ।
यही समितिले छठ घाट निर्माण कार्यलाई तीव्रता दिइरहेको छ। जलाशयमा पूजा गर्न र सूर्यलाई अर्घ्य दिन सहज हुने किसिमले पूर्वतयारी गरिएको छ। पूजा समितिले उक्त क्षेत्र रात्रिकालिन समयमा झकिझकाउ र आकर्षण देखिने किसिमले रंगीचङ्गी बत्ती जडान गरेर तयारी थालेको छ।
४ दिनसम्म विशेष रुपमा मनाइने यो पर्वको पहिलो दिन ‘नहाय–खाय’ विधि आजबाट सुरू भयो। ब्रतालुहरुले पर्व सुरु हुन एक दिनअघि नै उसिनिएका धानको चामल, कोदो, माछामासु, मुसुरोसहितका धार्मिक अनुष्ठानका लागि अशुद्ध मानिएका खाद्य वस्तुहरु नखाने चलन छ। यो विधिलाई ‘अरबा–अरबाइन’ भनिन्छ।
आइतवार ‘अरबा–अरबाईन’ गरेका ब्रतालुहरुले सोमवार चौंथी तिथिमा ‘नहाय–खाय’ र पञ्चमी तिथिका दिन राति एक छाकमात्र अलिनो खानेकुरा खाएर खरना विधि सम्पन्न गर्दछ। पर्वको मुख्य दिन षष्ठी तिथिमा निराहार ब्रत बसेर साँझपख पवित्र जलाशयमा गई अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ। सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व समापन हुन्छ।
हेर्नुहोस् यसरी तयार हुँदैछ काठमाडौंमा छठ घाट