बुधबार बिहान घाम उदाउँदै गर्दा राम सुरत काठमाडौं महाराजगञ्जस्थित कतार भिसा सेन्टरअघि बाटोमै हातमा धूलो मञ्जन लिएर दाँत माझ्दै थिए। लुम्बिनीका उनी आजै रात्रि बसबाट काठमाडौं ओर्लिएका हुन्।
उनका पछाडि उनीजस्तै हात-हातमा आफ्नो जीवनी बताउने कागजात बोकेका एक हुल युवा लामबद्ध थिए। कतारको सपना देख्ने यी युवाहरू आधा रातमै ब्युँझिएर यहाँसम्म आइपुगेका हुन्।
वैदेशिक रोजगारीका निम्ति कतार जाने सपना बोकेका उनीहरू भिसा पाएका छन्। यसपछिको प्रक्रियाका रूपमा भिसा सेन्टरमै रहेको आधिकारिक मेडिकल सेन्टरमा आफ्नो स्वास्थ्य परीक्षण गराउन उनीहरू झिसमिसेदेखि नै लामबद्ध भएका हुन्।
धनुषाका जाहिम हुसेन ११ वर्ष साउदी अरब बसेर आएका हुन्। कोरोनाका कारण लकडाउन भएपछि उनी फेरि ऋणमा डुबे। कमाइको अरू बाटो नदेखेर फेरि कतार जान लागेको उनले बताए।
'मेरो पहिल्यै स्वास्थ्य परीक्षण भइसकेको थियो। तर फेरि गर्नुपर्ने भनेर बोलाइयो। अनि आएँ,' उनले भने, 'किन मेडिकल फेरि गर्नुपरेको भन्ने चाहिँ खुलाउँदैनन्।'
जाहिमजस्ता पुनः स्वास्थ्य परीक्षण गराउन आउने दर्जनौं युवा भेटिए।
तिहारअघिदेखि नै पुनः परीक्षणको आशामा बसेका मोरङ, उर्लाबारीका मनकुमार थापाले काम हुने आशामा तिहारसमेत मनाउन नपाएको बताए।
यहाँबाट दिनदिनै बोलाए पनि बिहानदेखि बेलुकासम्म कुराएर काम भने नहुने गरेको अर्का एक युवाले गुनासो गरे।
'अब त अत्ति भइसक्यो, भिसा क्यान्सिल गरिदेऊ, घर फर्किन्छौं भन्दा पनि मान्दैनन्,' एक युवाले भने, 'मेडिकलको रिपोर्ट उनीहरू नै हेलचेक्र्याइँ गरेर बिगार्छ, अनि दुःख दिइरहन्छन्।'
वैदेशिक रोजगारीका निम्ति फ्री भिसा-फ्री टिकट व्यवस्था भए पनि कतार जान नेपालका म्यानपावर कम्पनीले दुई लाख बीस हजार प्रतिव्यक्ति असुलेको उनीहरू बताउँछन्।
पैसा तिर्न पर्दैन भन्ने थाहा हुँदाहुँदै किन पैसा तिरेरै जान लाग्नुभयो त?
हाम्रो प्रश्नमा उनीहरू सबैजसोले भने, 'पैसा दिएन भने म्यानपावरले हामीलाई कहाँ पठाउँछ र?'
त्यस्तै मेडिकल गर्ने ठाउँमा निःशुल्क लेखिएको छ। तर हरेक व्यक्तिसँग १५ देखि २० हजार रूपैयाँसम्म असुल्ने गरेको उनीहरूको भनाइ छ। पैसा तिरे पनि समयमा काम नगरिदिएर आफूहरूलाई दुःख दिएको र दोहोरो खर्च भएको पनि उनीहरू बताउँछन्।
'हामी टाढा-टाढाबाट आएकाहरू आफ्नै खर्चमा होटलमा बसेर दिनदिनै लाइन लाग्न परेको छ,' उनीहरू भन्छन्।
विदेश बसेर फर्किएका अधिकांश युवाले यहाँ हरेक काममा ढिलासुस्ती र सिधा हिसाबले बाँच्न नसकिने देखेर आफूहरू विदेशिन आँटेको बताए।
'यहाँका कर्मचारीको हेलचेक्र्याइँका कारण हामीले दुःख पायौं,' कतार भिसा सेन्टरअघि लामबद्ध युवाले भने।
हामीले सेन्टरमा यसबारे बुझ्न खोज्यौं। तर आधिकारिक मानिसलाई भेटेर यसबारे बुझ्न हामीलाई दिइएन। आधिकारिक नम्बरमा फोन गरेर बुझ्दा सिस्टममा विगत २-३ दिनदेखि समस्या आएका कारण आज भिड बढेको भनियो।
झिसमिसेदेखि आफ्नो पालो पर्खेर बसेका युवाहरूको परीक्षण भने मध्यान्ह १२ बजेदेखि मात्र हुने सेन्टरकी कर्मचारी नर्वा महर्जनले जानकारी दिइन्।
साढे आठ बजेदेखि मात्र कार्यालय खुल्ने भए पनि किन बिहानैदेखि भिडभाड भयो भन्नेबारे आफूहरूलाई जानकारी नभएको पनि उनले बताइन्।
हामी त्यहाँ पुग्दा बिहान साढे छ मात्र बजेको थियो। लगभग ७ बजेदेखि सेन्टरका सुरक्षाकर्मीले कागजात जाँच गर्दै भित्र पठाएका थिए।
हेर्नुहोस् बुधबार बिहानै कतार भिसा सेन्टरमा देखिएका दृश्य तस्बिरमाः