पाटनको मंगलबजारमा जारी मल्लकालीन सांस्कृतिक उत्सव 'कात्तिक नाच' को सातौं दिन मंगलबार राति वराह अवतार नृत्य प्रस्तुत गरियो।
यो नृत्यमा यज्ञ गरिरहेका बेला वराह अवतार लिएका भगवान इन्द्र आएर हिरण्यकश्यपलाई लात्ताले हान्छन्। यज्ञ भंग गर्छन्। उनीहरूबीच झगडा हुन्छ। वराहले हिरण्यकश्यपलाई हराउँछन्। हिरण्यकश्यप भागेर जान्छन्।
यसैको निरन्तरता बुधबार हुनेछ। बुधबार नरसिंह अवतार नृत्य प्रदर्शन गरिनेछ। हिरण्यकश्यपका दाइ हिरण्याक्षलाई विष्णुको अवतार वराहले मारेको हुन्छ। यो नाचमा विष्णुकै अर्को अवतार नरसिंहले हिरण्यकश्यपको निर्ममतापूर्वक वध गर्छन्।
यो नाचमा हिरण्यकश्यप बनेका व्यक्ति साँच्चिकै बेहोस हुन्छन् भनिन्छ। उनलाई गुठीयारहरू आफूले लगाइरहेको टोपी र जुत्ता फुकालेर साँच्चैको मलामीजसरी कुरेर बस्छन्। उनलाई चोखो पानी पिलाएर मन्त्रद्वारा ब्यूँझाइन्छ।
कात्तिक नाचभरमा सबभन्दा लोकप्रिय यो नाचको अवधि निकै लामो हुन्छ। त्यही भएर मध्यरातसम्म जारी रहन्छ।
राजा सिद्धिनरसिंह मल्लले नेपाल संवत् ७६१ मा कात्तिक नाच सुरू गरेका थिए। कृष्ण मन्दिरकै कात्तिक डबलीमा प्रत्येक दिन एक-एकवटा नयाँ लीला देखाउने गरी सातदिने कात्तिक नाच नचाउने परम्परा उनले बसालेका थिए। सुरदास, सुदामाका नृत्य नाटिका, वराह अवतार र नरसिंह अवतारका शास्त्रीय नृत्यहरू त्यही समयमा सिर्जना भएका हुन्।
दोस्रो चरणमा नेपाल संवत् ७८७ मा राजा सिद्धिनरसिंहका छोरा श्रीनिवास मल्लले यो नाचलाई सात दिनबाट दुई साताको बनाए। यसका लागि उनले बाथः प्याखँ (बाठा मान्छेका लोकनाटक) सिर्जना गरे। श्रीनिवास मल्लले स्वयं यले बाथः अर्थात् ललितपुरका बाठा मान्छे भएर अभिनय गरेको भनाइ छ।
तेस्रो चरणमा नेपाल संवत् ८०४ मा राजा श्रीनिवास मल्लका छोरा योगनरेन्द्र मल्लले कात्तिक नाचमा नयाँ कथाहरू थपेर नाचको दिन अझ बढाए। माधवानल ब्राह्मण, उषाहरण लगायत थपेर उनले कात्तिक महिनाभरि यो नाच नचाउने चलन चलाए। यसरी महिनाभरि मनाइने नाच भएकाले यसलाई 'कात्तिक नाच' भनियो।