पाटनको मल्लकालीन सांस्कृतिक उत्सव 'कात्तिक नाच' बुधबार सकिएको छ। मंगलबजारको कात्तिक नाच डबलीमा प्रदर्शन गरिएको यो आठदिने उत्सवको अन्तिम दिन बुधबार 'हिरण्यकश्यप वध' देखाइएको थियो।
कथाअनुसार हिरण्यकश्यपका दाइ हिरण्याक्षलाई विष्णुको अवतार वराहले मारेको हुन्छ। यो नाचमा विष्णुकै अर्को अवतार नरसिंहले हिरण्यकश्यपको निर्ममतापूर्वक वध गर्छन्।
यो नाचमा हिरण्यकश्यप बनेका व्यक्ति साँच्चिकै बेहोस हुन्छन्। उनलाई गुठीयारहरू आफूले लगाइरहेको टोपी र जुत्ता फुकालेर साँच्चैको मलामीजसरी कुरेर बस्छन्। उनलाई चोखो पानी पिलाएर मन्त्रद्वारा ब्यूँझाइन्छ।
संस्कृतिविद् सत्यमोहन जोशीका अनुसार हाँसोठट्टाबाट सुरू हुने भए पनि यो एक दुखान्त नाटक हो। बाहिरका चर्चित दुखान्त नाटकले विश्वभर चर्चा कमाएको भए पनि यति सुन्दर नाटक विरलै बन्ने उनी बताउँछन्।
'संसारमा अनेकन दुखान्त नाटकहरू मञ्चन भए र हुँदै जालान् तर नेपाली दुःखान्त नृत्यनाटकको परम्परामा ललितपुरमा प्रत्येक वर्ष मञ्चन हुँदै आएको यो नाटकजस्तो दुखान्त अन्यत्र पाउन दुर्लभ नै हुनेछ,' उनले आफ्नो किताबमा लेखेका छन्।
राजा सिद्धिनरसिंह मल्लले नेपाल संवत् ७६१ मा कात्तिक नाच सुरू गरेका थिए। कृष्ण मन्दिरकै कात्तिक डबलीमा प्रत्येक दिन एक-एकवटा नयाँ लीला देखाउने गरी सातदिने कात्तिक नाच नचाउने परम्परा उनले बसालेका थिए। सुरदास, सुदामाका नृत्य नाटिका, वराह अवतार र नरसिंह अवतारका शास्त्रीय नृत्यहरू त्यही समयमा सिर्जना भएका हुन्।
दोस्रो चरणमा नेपाल संवत् ७८७ मा राजा सिद्धिनरसिंहका छोरा श्रीनिवास मल्लले यो नाचलाई सात दिनबाट दुई साताको बनाए। यसका लागि उनले बाथः प्याखँ (बाठा मान्छेका लोकनाटक) सिर्जना गरे। श्रीनिवास मल्लले स्वयं यले बाथः अर्थात् ललितपुरका बाठा मान्छे भएर अभिनय गरेको भनाइ छ।
तेस्रो चरणमा नेपाल संवत् ८०४ मा राजा श्रीनिवास मल्लका छोरा योगनरेन्द्र मल्लले कात्तिक नाचमा नयाँ कथाहरू थपेर नाचको दिन अझ बढाए। माधवानल ब्राह्मण, उषाहरण लगायत थपेर उनले कात्तिक महिनाभरि यो नाच नचाउने चलन चलाए। यसरी महिनाभरि मनाइने नाच भएकाले यसलाई 'कात्तिक नाच' भनियो।
सबै तस्बिर: निशा भण्डारी/सेतोपाटी