प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन बिहान सतबीज छरी मनाइने बालाचतुर्दशी पर्वको पूर्वसन्ध्यामा बिहीबार पशुपतिनाथ लगायत मुलुकभरका शिव मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ।
आज त्रयोदशीका दिन बेलुकीदेखि दिवंगत पितृका नाममा भक्तजनहरू अखण्ड दीपदान गरी बसिरहेका छन्।रातभर दीपदान गरी बसेका भक्तजनले भोलि बिहानै पितृको सम्झनामा सतबीज छरी बालाचतुर्दशी पर्व मनाउँछन्।
बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन पशुपति आउँछन्। जाडोको मौसम भएकाले पाल लगायत व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
आफ्नो परिवारभित्र दिवंगत व्यक्तिको चिरशान्तिको कामना गर्दै १०८ शिवलिंग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वरमा सतबीज छर्ने गरिन्छ।
सतबीजमा धान, जौ, तिल, गहुँ, चना, मकै र कागुनो पर्छन्।
हेर्नुहोस् तस्बिरहरू