राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आफ्नो कार्यभार विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणलाई हस्तान्तरण गरेको छ।
बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्राधिकरणले आफ्नो कार्यभार र विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणलाई हस्तान्तरण गरेको हो।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण हस्तान्तरण तथा बहिर्गमन कार्यक्रममा बोल्दै गृहमन्त्री बालकृष्ण खाँडले विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणलाई नयाँ चुनौति थपिएको बताए। उनले नेपाल जहिले पनि भूकम्पको उच्च जोखिममा रहेको र अन्य प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेकोले त्यसतर्फ समेत भएर व्यवस्थापन प्राधिकरणले काम गर्नुपर्ने बताए। मन्त्री खाँडले अब पुनर्निर्माण प्राधिकरणले गरेको पुनर्निर्माणको अनुभवलाई लिएर व्यवस्थापन प्राधिकरणले देशको पुनर्निर्माणको क्षेत्रलाई उकास्नुपर्ने बताए।
कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपालको पुनर्निर्माण सफलतापूर्वक सम्पन्न भएको बताए। उनले यो उपलब्धिको जगमा उभिएर २०३० सम्म विपद् उत्थानशील मुलुकको रुपमा नेपाललाई विकास गर्नुपर्ने बताए।
कार्यकारी अधिकृत ज्ञवालीले भूकम्पपछिको पुनर्निर्माणले मुलुक दिगो विकास गर्नका लागि सबै प्रकारका जोखिमबाट सुरक्षित मुलुकको विकास गर्ने एउटा आधार निर्माण गरेको बताए।
त्यस्तै विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बितेको ६ वर्षमा हासिल गरेको उपलब्धिहरुलाई कायम राख्ने जिम्मेवारी आफ्नो काँधमा आएको बताए। उनले ६ वर्षका सीप, ज्ञान र अनुभवलाई नेपालमा मात्र नभइ अन्तर्राष्ट्रिय स्तरमा समेत पुर्याउनु पर्ने बताए।
कार्यकारी प्रमुख पोखरेलले पुनर्निर्माण प्राधिकरणको एक समूहलाई नै संरचनामा ल्याएर काम अघि बढाउने बताए। उनले निर्माण भएका भौतिक संरचनालाई सदुपयोग गर्नु अबको चुनौति रहेकोसमेत बताए।
हेर्नुहोस् तस्बिरहरू