माघे संक्रान्तिमा विशेषतः चाकु खाने चलन छ। काठमाडौंको टोखा र ललितपुरको पाटन चाकु बनाइने नामले पनि प्रसिद्ध छन्। टोखाको काशिलाल चाकु प्रोडक्सनमा अहिले चाकु बनाउन कामदारलाई भ्याइनभ्याइ छ।
यहाँ एक सिजनमा एक करोड बढीको चाकु बिक्री हुने गरेको बताउँछन् काशिलाल चाकु प्रोडक्सनका सञ्चालक बुद्ध काशिलाल।
यहाँ हाल ४० जना मजदुरले काम गर्ने उनले जानकारी दिए। यहाँको चाकु देश-विदेश जाने गरेको छ। विशेषत: माघे संक्रान्तिमा चाकु अत्यधिक बिक्ने गर्छ। त्यसैले अहिले यहाँका कामदारलाई चाकु बनाउन चटारो छ।
कसरी बनाइन्छ चाकु?
सखरलाई करिब एक घण्टा पकाइसकेपछि भाँडोबाट निकालेर चिस्याउनुपर्छ। चिसो पारेपछि कालो रंगको पाकेको झोललाई फिटेर पहेँलो रंगको बनाइन्छ। फिटेको चाकुलाई चाहिने मात्रामा तौलेर प्लास्टिकमा पोका पारेर बजारमा पठाइन्छ।
नेवारी संस्कृतिमा माघ १ गते चाकु खानैपर्ने प्रचलन छ। साथै नेवार समुदायमा काजकिरियाको बेलामा पनि चाकु खाने गरिन्छ। त्यस्तै चिसो लागेका मानिसलाई चाकु खुवाएमा सन्चो हुने मान्यता छ।