पछिल्लो समय तीव्र गतिमा कोरोनाभाइरस सङ्क्रमण बढ्न थालेपछि काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले बुधबारदेखि विभिन्न १८ बुँदे प्रतिबन्धात्मक नियम लागू गरेका छन्।
सरकारले यसअघि नै शैक्षिक संस्थालाई माघ १५ गतेसम्म बिदा दिने निर्णय गरेको छ। कोरोना संक्रमण थप फैलन नदिनका लागि भिड-भाड हुने कार्यक्रम स्थगित गर्न भनेको छ। आगामी माघ ७ गतेबाटे सार्वजनिक सेवा लिनेले अनिवार्य कोरोनाविरूद्ध खोप लगाएको प्रमाण पेश गर्नुपर्नेछ र २५ जनाभन्दा बढीको संख्यामा उपस्थित नहुन भनेको छ।
सरकार आफैंले बनाएको नियम आफैं भने कार्यान्वयन गरिरहेको छैन। त्यसैले जस्तोसुकै प्रतिबन्धात्मक व्यवस्था लागू गरे पनि पालना हुनेमा शंका देखिएको छ।
संक्रमण तीव्र भएकाले केही सातामै नेपालमा अवस्था जटिल बन्न सक्ने जनस्वास्थ्यविद्हरूले बताइरहेका छन्।
त्यस्तो अवस्थामा कोभिडको दोस्रो लहरका बेलामा जस्तै नेपालमा स्वास्थ्य क्षेत्रको अवस्था खराब बन्ने हो कि भन्ने चिन्ताहरू पनि व्यक्त भइरहेका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारीहरूले पनि सङ्क्रमण दर बढिरहेको र अस्पतालमा हुने भर्ना दर पनि बढेकाले विशेष सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरिरहेका छन्।
सार्वजनिक स्थानमा प्रवेश गर्न अनिवार्य खोप कार्ड चाहिने भएपछि खोप केन्द्रमा सर्वसाधारणको लामो भिड लागेको छ।
यस्तै सरकारका विभिन्न कार्यालयमा सेवाग्राहीको काम समयमै नहुँदा सर्वसाधारणले लामो समयसम्म अव्यवस्थित लाइनमा बस्नु परिरहेको छ।
समार्ट लकडाउनको नाममा गर्न पाइने/नपाइने, स्वास्थ्य मापदण्ड अपनाउने आदि नियम लगाइएको भए पनि यो कागजमा मात्र सिमित भएको देख्न सकिन्छ।
शैक्षिक संस्था मात्र बन्द गरेर भिड कम हुन्छ र?
बजारमा किनमेल गर्ने ठाउँ होस् या सार्वजनिक स्थानमा अहिले पनि ठूलो भिड देख्न सकिन्छ। सामाजिक दूरी कायम गर्ने, अनिवार्य मास्क लगाउनेलगायत कुनै पनि नियम लागू भएको पाइँदैन। ठाउँ-ठाउँमा हात धुने ड्रम छन् तर पानी र साबुन छैन। धुलो उडिरहेको देख्न सकिन्छ।
बजारमा बाटो पाउन एक अर्कालाई ठेलाठेल गरेर हिँड्नु परिरहेको छ। अधिकांशले मास्कसमेत लगाएका हुन्नन। औषधि पसलमा समेत मानिसहरू सामान्य नियम मान्ने पक्षमा छैनन्।
हेरौं शुक्रबार काठमाडौंको विभिन्न सरकारी कार्यालयदेखि बजार र सडकमा देखिएको सर्वसाधारणको भिड।