कमल पोखरीको पुनर्निर्माण लगभग सकिएको छ।
काठमाडौं महानगरपालिकाले चैत मसान्तसम्म कमलपोखरी बनाइसक्ने योजना बनाएको थियो। तर कहिले ठेकेदारले काम ढिलाइ गर्यो, त कहिले सम्पदा अभियन्ताको विरोधले योजनाअनुसार निर्माण हुन सकेन।
करिब २३ रोपनी १४ आना क्षेत्रफलमा फैलिएको यो पोखरीलाई २०७६ सालको असारमा काठमाडौंका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी र वडा नम्बर-१ का अध्यक्ष भरतलाल श्रेष्ठले शिलान्यास गरेर निर्माण थालेका थिए।
करिब नौ करोड ४७ लाख रूपैयाँ बजेट यसका लागि महानगरले छुट्याएको थियो। जय धनञ्जय (कँडेल निर्माण सेवा) ले करिब साढे ६ करोडमा निर्माण सम्पन्न गर्ने भनेर टेन्डर लिएको हो।
निर्माण अन्तिम चरणमा पुगिसक्दा यहाँको प्रहरी चौकी र स्पोर्ट्स क्लब हटाउनुसँगै पोखरीमा पुल र बत्ती राख्नेलगायत काम भइसकेको छ। वास्तुविदलाई देखाएर यहाँको काम वास्तुअनुसार बनाइएको महानगरपालिकाले जनाएको छ।
वास्तुअनुसार भन्नाले मण्डप, पुल कता, कसरी बनाउने लगायत कुरा पर्छन्। त्यस्तै अंक पाँचलाई पनि प्राथमिकता दिइए छ- पाँच मण्डप, पाँच फाउन्टेन, पाँच साना कमल पोखरी र पाँच ढुंगेधारा।
पोखरीको चार कुनामा चार कलात्मक मण्डप र बीच पुलको अन्तिममा एउटा मण्डप बन्दैछ। पोखरी वरिपरि ढुंगा छापिएका छन्। र आकर्षक सिँढी बनाइएको छ।
पोखरीका चार कुनामा फाउन्टेन छन्। पाँचौं फाउन्टेन पोखरी बीचमा छ। बीचको फाउन्टेनको आकार बाहिरैबाट देखिन्छ। अन्यको भने देखिन्न तर तिनले पानी फाल्छन्। यसरी फाउन्टेन राख्दा पोखरी आकर्षक देखिएको छ।
यसरी निर्माण भइरहेको कमल पोखरी हेर्नुहोस् तस्बिरमा