ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको जानकी मन्दिर पवित्र हिन्दू धर्मस्थल हो।
जानकी अर्थात् सीताको यो मन्दिर उनको जन्मस्थल जनकपुरमा छ। मुगल शैलीमा बनाइएको मन्दिरलाई कलाको उत्कृष्ट नमुना मानिन्छ।
प्राचिन मिथिलाको राजधानी जनकपुरमा अवस्थित जानकी मन्दिर विश्वभरका हिन्दुको आस्थाको केन्द्र हो। हिन्दु धर्ममा लोकप्रिय रहेको रामायणकी सीताको जन्मस्थलमा निर्मित यो मन्दिर भव्य र आकर्षक छ।
भारत मध्य प्रदेशस्थित टिकमगढकी राजकुमारी वृषभानु कुँवरीले ९ लाख चाँदीका असर्फी खर्चेर निर्माण गराएको मन्दिर भएकाले यसलाई नौलखा मन्दिर पनि भनिन्छ।
सन् १८९४ मा शिलान्यास भई सन् १९११ मा मन्दिर निर्माण पूरा भएको थियो। मन्दिर मिथिलाञ्चलबासीका लागि सांस्कृतिक धरोहर पनि हो।
मन्दिरको वाषिर्क क्यालेन्डर अनुसार जन्मदेखि मृत्युसम्म प्रायः सम्पूर्ण क्रियाकलाप मिथिला विधि अनुरूप हुने गरेको छ । राम जन्मको अवसरमा हरेक चैत्रमा रामनवमी, वैशाखमा जानकी नवमी, मंसिरमा रामजानकी विवाह महोत्सव, असोज पूणिर्मामा कोजाग्रत, साउन-भदौमा झुला, फागुनमा परिक्रमालगायत मनाइनु यसका उदाहरण हुन्।
प्रत्येक महिनाका पूर्णिमामा हजारौ श्रद्धालु भक्तजन सहभागी हुन्छन्। यस मन्दिरलाई नेपाल सरकारले विश्व सम्पदा क्षेत्रमा सुचिकृत गर्न प्रयास जारि राखेको छ।
जनकपुरको चार दिशामा द्वारपालका रूपमा शिव मन्दिर छ। पूर्वमा मिथिलेश्वर, पश्चिममा जलेश्वर, उत्तरमा छिरेश्वर र दक्षिणमा कल्याणेश्वर।
जनकपुरको मुटु मानिने ‘जनकचोक’ बाट सीधै अगाडितिर हेरियो भने देखिन्छ- नीलो आकाशमुनि रंगीन देखिने, भव्य र कलात्मक दरबार।
जनकपुरधामको मध्य भागमा रहेको सो मन्दिर मानव सिर्जनाको उत्कृष्ट नमूना मानिन्छ। मन्दिरको वास्तुकला, मूर्ति, डिजाइन र प्रविधि दर्शनीय, पूजनीय, आस्था र विश्वासका प्रतीकका रूपमा रहेका छन्। सो मन्दिर ४९ हजार ५५५ वर्गफिटमा फैलिएको छ।
हेरिरहूँ लाग्ने यो मन्दिर र आसपासको दृश्य हेर्नुहोस् तस्बिरमा