धार्मिक तथा सांस्कृतिक सहर जनकपुरको गंगा आरती पर्यटकका लागि आकर्षण केन्द्र बनेको छ।
गंगा सागरको किनारमा हरेक साँझ आयोजना हुने आरतीमा स्थानीयसँगै आन्तरिक तथा बाहिरी पर्यटकको घुइँचो हुन्छ।
‘सेभ द हिस्टोरिकल जनकपुर’ को पहलमा २५ जेठ २०७१ बाट सुरू भएको गंगा आरतीमा एकसाथ गंगा, जानकी र भगवान शिवको आराधना हुन्छ। साँझपख करिब डेढ घन्टा गंगासागर तटमा आरतीको रौनक हुन्छ।
तीन जना पण्डितले धार्मिक धुनका साथ आरती गर्छन्। आरतीको थाली आराध्यसमक्ष विशेष विधिपूर्वक घुमाइन्छ। आरतीको टुकीमा घ्यू वा तेलको दियो राखिएको हुन्छ। उक्त टुकीमा कपुर पनि मिश्रण गरिएको हुन्छ।
‘सेभ द हिस्टोरिकल जनकपुर’ का अध्यक्ष तथा प्रदेशसभा सदस्य रामआशिष यादवका अनुसार भारत बनारसको आरतीबाट प्रभावित भएर गंगासागरमा पनि त्यस्तै आरती सुरू गरिएको हो।
‘जलको संरक्षण र प्रकृतिको पूजा नै गंगा आरतीको विशेषता हो। गंगा सागर प्रकृति र संस्कृति संरक्षणको संगम हुन । आरतीको माध्यमबाट यहाँ आर्थिक विकास र संस्कृति संगम भइरहेका छ,’ सांसद यादवले सेतोपाटीसँग भने, ‘त्यसैले जलकी देवी गंगा र जमिनकी देवी जानकीको एकसाथ पूजा हुन्छ यस आरतीमा मैथिली संस्कृतिको संरक्षणका लागि सन्देश गएको छ। हाम्रो संस्कृति कति समृद्ध छ भन्ने दर्शाउँछ। पहिले पर्यटक जानकी मन्दिर हेरेरै फर्किन्थे तर आरती हेर्न पर्यटक अहिले कम्तीमा एक रात बिताउने गरेका छन्।’
यो पनि हेर्नुहोस्