साउन कृष्णपक्ष घण्टाकर्ण चतुर्दशीका अवसरमा मंगलबार नेवार समुदायले घरमा शान्तिको कामना गर्दै गठामुंगः पर्व मनाउँदैछन्।
सो समुदायले हर्षोल्लासका साथ घण्टाकर्ण राक्षसको पूजा गर्दै मनाउने सो पर्व मौलिक पर्वमध्येको एक हो। वर्षको चारवटा प्रमुख चतुर्दशी घण्टाकर्ण चतुर्दशी, बाला चतुर्दशी, तिहारको काग चतुर्दशी र शिवरात्रि चतुर्दशीमध्ये घण्टाकर्ण चतुर्दशी नेवार समुदायले मात्र मनाउने भएकाले यसलाई नेवार समुदायको मौलिक पर्वका रूपमा लिने गरिएको हो।
आज उनीहरूले आफ्नो घरगृहमा शान्तिको कामना गर्दै आफ्ना परिवारलाई रोगव्याधी नलागोस् भनेर राक्षसको पूजा गर्दछन्। सो समुदायमा एकाबिहानै उठेर घरलाई लिपपोत गरी सफा पार्ने र घरका सबै जनाले नुहाएपछि महादेव र नायरायणको मन्दिर पुगेर जल ल्याई आफ्नो घरको सम्पूर्ण भागमा जलले छर्केर चोखो बनाउने प्रचलन छ।
घर चोखो बनाउने क्रममा दैनिक जीवनमा प्रयोग भइरहेका सम्पूर्ण भाँडाकुँडासमेत धोएर चोखो बनाउनु पर्दछ। जल नछर्केसम्म कसैले खान नहुने धार्मिक मान्यता रहेको छ ।
घरलाई चोखो बनाएपछि बौ वाय् ज्या (भुत मन्छाउने कार्य) गर्दछ। काँचो माटोको सानो दहीको कटारो वा सलीचा (एक प्रकारको माटोको भाँडा)मा चिउराको ढुटो, जाँडको कट, लसुन, रगत, रातो खुर्सानी, कालो भटमास, रङ्गीविरङ्गी ध्वजा, सिन्कामा कपडा बेरेर बनाएको बत्ती बालेर टोल बाहिरको दोबाटो वा चौबाटोमा लगेर राख्ने प्रचलनलाई बौ वाय् ज्या अर्थात् भूत पन्छाउने कार्य भनिन्छ। बौ वाय् ज्या गर्ने क्रममा कसै कसैले कुखुराको बलि पनि दिने चलन रहेको छ।
बौ वाय् ज्यासँगसँगै घरघरको मूल ढोका र मुख्य निदालमा पञ्चरङ्गी मयुरको प्वाँख र तीनखुट्टे फलामको किला ठोक्ने चलन छ । यसले घरमा भूतप्रेत पस्न सक्दैन भन्ने जनविश्वास रहेको छ। घरका साना केटाकेटीलाई फलाम कली (खुट्टामा लगाउने गोलाकार) वा तामाको औँठी लगाइदिने चलन पनि छ। वयस्क युवतीले आजको दिन विशेषगरी खुट्टामा विभिन्न प्रकारका टाटु खोप्ने, हातमा मेहेन्दी लगाउने प्रचलन पनि रहेको छ।
काठमाडौं उपत्यकामा करिब दुई हजार वर्ष अघिदेखी यो पर्व मनाउँदै आएको पर्वले मानिसमा भएको नकारात्मक सोच र व्यवहार परिवर्तन गर्न उत्प्रेरणा मिल्ने र व्यक्ति, परिवार, समाज र देशमा शान्तिको कामना गर्ने पर्वको रुपमा समेत लिने गरेको संस्कृतिविद् डा पुरुषोत्तमलोचन श्रेष्ठले बताए। कानमा घण्टा झुण्ड्याएर हिँड्ने राक्षसको पूजा गर्ने भएकाले यसलाई घण्टाकर्ण पर्व भनिएको हो। घण्टाकर्णलाई शिवको प्रतीकका रूपमा पनि लिइन्छ।
आजकै दिनबाट नेवारी समुदायमा परम्परागत नाच तथा बाजागाजा सिकाउन थालनी गरिन्छ। गाईजात्राका बेला आठ दिन प्रदर्शन गरिने विभिन्न बाजागाजा, भैरव नाच, माक प्याखं, देवी प्याखं, भालुचा प्याखं, नागाचा प्याखं, मयुर प्याखं, खिचा प्याखं, रामायणलगायत व्यंग्यले भरिपूर्ण नाटकको प्रशिक्षणसमेत घण्टाकर्ण पर्वपछि सुरुआत गरिन्छ। भक्तपुरको प्रसिद्ध नवदुर्गा नाचका लागि आजकै दिनबाट मुखुण्डो बनाउन शुभारम्भ गरिन्छ।


















