गोरखाको दरौंदी नदी वरपरका फाँटहरूमा हिजोआज धान पाक्दै गर्दा मनमोहक दृश्य देखिएको छ।
बुद्ध हिमालको काखबाट नारद पोखरी हुँदै रामशाह घाटमा पुगेर मर्याङ्दी नदीसँग मिसिने दरौंदीको किनारमा अत्यन्तै खेतीयोग्य भू-भाग छ।
साथै गोरखाको सिरानचोक गाउँपालिका र पालुङ्गटार नगरपालिकाको सीमा क्षेत्र खोप्लाङको भुसुन्डेफाँट वरपर यस्तै सुन्दर दृश्य देखिएको छ।
चोरकाटे बजार, दरौदीको सफा सुन्दर पानी, धान पाकेर पहेँलो फाँट अनि वरपरको सुन्दर पहाडको संगमले यहाँको बाटो भएर हिँड्ने जो कोहीको मन लोभ्याउन सक्छ।
गोरखाको बारपाक, भच्चेक, ताकु, जराङ, सुलिकोटलगायत थुप्रै महत्वपूर्ण स्थानमा यहीँ बाटो भएर मानिसहरू पुग्ने गर्छन्।
भुसुन्डे खोला र दरौदी नदीको संगमस्थल रहेको यस स्थानको एकापट्टि गोरखा नगरपालिकामा पर्दछ। दरौंदी नदीसँगै सुन्दर फाँटको बीच भागमा रहेको माछा पालनको स-साना पोखरीले यहाँको सुन्दरता अझै निखारिएको देख्न सकिन्छ। यहाँको नदी र यस्ता प्राकृतिक सौन्दर्यका बस्तु जोगाउन सके यहाँको पर्यटकीय सभावना पनि बढ्ने देखिन्छ।
दरौंदी नदी वरपरको सुन्दर दृश्यहरू हेरौं।