विशेषगरी माघे संक्रान्तिमा चाकु खाइन्छ। उपत्यकामा पनि यस अवसरमा चाकुको माग बढी रहन्छ। विशेषगरि काठमाडौं टोखा, ललितपुरको पाटन लगायत क्षेत्रमा चाकु बनाइने नामले पनि प्रसिद्ध छ।
काठमाडौंमा चाकुको माग यस वर्ष दोब्बरले बृद्धि भएको उत्पादकहरूले बताएका छन्।
करिब ३० वर्ष अघिदेखि चाकु उत्पादन गर्न थालेका टोखाका न्हुच्छेमान श्रेष्ठलाई चाकु बनाउन अहिले भ्याई नभ्याई छ।
माग निरन्तर आइरहेको छ तर सो अनुसार उनले उत्पादन गर्न सक्ने स्थिति छैन। उनले भने, ‘गत वर्षभन्दा अहिले चाकुको माग दोब्बर भएको छ तर सख्खर र दाउरा सहज रुपमा पाईदैँन, त्यसैले मागअनुसार उत्पादन गर्न सकेका छैनौ।’
श्रेष्ठले २७ वर्षअघि यो व्यवसाय थाल्ने समयमा साधारण चाकुको मात्रै बजारमा माग थियो । तर अहिले साधारणभन्दा मसलादार र स्पेशल चाकुको माग बढी देखिन्छ। मसलादार चाकुमा नरिवल मिसाइएको हुन्छ। साथै स्पेशलमा भने नरिवल, खुवा, बदाम, काजु र गरम मसला मिसाईको हुन्छ। जसले गर्दा अन्यभन्दा स्पेशल चाकुको मूल्य अलि महंगो छ।
जाडोमा चाकु खाए गर्मी पैदा गर्ने उनले बताए। सखरलाई करिव एक घण्टा पकाइसकेपछि भाँडोबाट निकालेर चिस्याउनुपर्छ।
चिसो पारेपछि कालो रंगको पाकेको झोललाइ ढुंगाले कुटसिकेपछि पहेँलो रंगको बनाइन्छ। पहेँलो नभएसम्म फिटिन्छ। फिटेको चाकुलाइ चाहिने मात्रामा तौलेर प्लास्टिकमा पोका पारेर बजारमा पठाइन्छ।
नेवारी संस्कृतिमा माघ १ गते चाकु खानैपर्ने प्रचलन रहेको छ। साथै नेवार समुदायमा काजक्रियाको बेलामा पनि चाकु खाने गरिन्छ। त्यस्तै चिसो लागेका मानिसलाई चाकु खुवाएमा सन्चो हुने पनि हुन्छ।
हेर्नुहोस् तस्बिरहरू