कोरोना महामारी केही मथ्थर हुँदै जाँदा काठमाडौंलाई दसैंले छोपेको छ। दसैं नजिकिएसँगै बजारमा चहलपहल बढेको छ। मुख्य व्यापारिक केन्द्रमा किनमेलका लागि जाने सर्वसाधारणको भीड बाक्लिएको छ।
दसैंमा मिठो खाने, राम्रो लगाउने अनि आफ्ना आफन्तसँग भेटघाट गर्ने चलन रहिआएको छ। नेपालमा हिन्दु धर्मालम्बी मात्र नभई अरू धर्मका मानिसले पनि दसैं मनाउने गर्छन्।
विगत २ वर्षदेखि कोरोना कहरका कारण दशैँ लगभग खल्लो नै रह्यो। यसपालि भने आशा पलाउन थालेको छ। कोरोनाको जोखिम कायमै रहे पनि यसपालि भने प्रतिबन्ध खुकुलो भएसँगै केही सहज भएको छ। आम मानिसको जनजीवन विस्तारै लयमा फर्कदै छ।
यस वर्ष मानिसहरू आ-आफ्नो परिवारजानसँगै दसैं मनाउन पाउँदा खुसी छन्। सदा जस्तै दसैंको उमंगले विस्तारै मानिसको मन भरिन थालेको छ।
यसैले पनि मानिसहरु दसैंको लागि किनमेल गर्न बजार निस्कन थालेको छ। काठमाडौंको मुख्य व्यापारिक केन्द्र असन, इन्द्रचोक, नयाँसडक आदि क्षेत्रमा मानिसको बाक्लो उपस्थिति देखिन्छ।
नयाँ लुगा तथा खाद्यान्न किन्नका निम्ति मानिसहरू बजार निस्कने गरेका छन। जसले गर्दा चाडबाडको झल्को आउने गरेको छ।
ब्यापारीहरू भने कोरोनाले गर्दा मान्छेसँग कमाइ नभएकोले पहिले जस्तो ब्यापार हुन नसकेको बताउँछन्। ‘कोरोनाले दुई वर्ष थलिएर मान्छे ऋणमा छन्। तै पनि चाड मनाउन मिठो मसिनो किन्न आउने गरेका छन्। अब अहिले मान्छेहरु हेरेर विचार गरेर मात्र किन्छन्’, एक ब्यापारीले आफ्नो अनुभव सुनाए।
काठमाडौंका दसैं किनमेल हेर्नुहोस् तस्बिरमा