हिन्दु नेपालीको दोस्रो ठूलो चाड तिहार आउन अब एक सातामात्रै बाँकी छ। तिहार नजिकिँदै गर्दा भक्तपुरका प्रजापति समुदायलाई माटाका भाँडा बनाउन भ्याइनभ्याई छ।
बोलाछेँ, ठिमी, ब्यासी, पोटरी स्क्वायरलगायत स्थानमा तिहारको लागि आवश्यक पर्ने माटाका भाँडा, पालाचा (पाला) बनाइँदै गरेको देख्न सकिन्छ।
काठमाडौं उपत्यकामा माटोका सामानको लागि प्रख्यात भक्तपुरको पोट्री स्क्वायरका कुमालेहरूलाई भ्याईनभ्याई हुन थालेको छ।
पालाको व्यापार तिहारमा अत्याधिक हुने र तिहारपछि अत्यन्त न्यून हुने भएकोले पोट्री स्क्वायरका प्रायः सबै कुमाले भाँडा बनाउन व्यस्त छन्।
दियोको प्रयोग तिहारमा मात्र हुने होइन। बाह्रै महिना खपत भइरहन्छ, तिहारमा अलिकति माग बढ्नेमात्र हो। त्यही भएर बजारमा जतिसुकै झिलिमिली बत्ती आए पनि दियोको माग नघट्ने व्यवसायीहरू बताउँछन्।
'यो हाम्रो यस्तो परम्परा हो, जसको ठाउँ आधुनिक बत्तीले लिनै सक्दैन,' एक कुमालेले सेतोपाटीसँग भने।
एक जनाले राम्रोसँग काम गर्यो भने दिनमा १ हजार वटा पाला बनाउन सक्ने उनले जानकारी दिए।
तिहारमा मात्र एकजनाले राम्रोसँग पाला बनाएर बेचे ५०-६० हजारसम्म कमाउने गरेको व्यवसायीहरूको अनुभव छ। तिहारमा पाला मात्र नभई कलश, धुपौरो आदि पनि राम्रै बिक्री हुने गरेको छ।
साधारणत: पाला ४ प्रकारका हुन्छन्। सबैभन्दा सानो पाला १ सय वटाको २ सय रुपैयाँ पर्छ। त्योभन्दा ठूलाको प्रतिगोटा क्रमश: १०, १५ र २० रुपैयाँ पर्छ।
कतिपयले आगोमा नपोलेको पाला लैजाने गरेको र त्यसको ३ वटाको ५ रुपैयाँ पर्छ। उनीहरूले काँचो पालालाई चोखो मान्ने व्यवसायी बताउँछन्।
पाला बनाउन झ्याउ हुने र पैसा कम आउने भएकोले धेरै कुमालेहरूले पालाभन्दा अरू चिज बनाउनतर्फ लागिसकेका छन्।
माटोको भाँडो बनाउन झन्झटिलो हुने भएकाले पछिल्ला पुस्ताले बिस्तारै यो पेसा छोड्दै गएको विगत ५४ वर्षदेखि माटोका भाँडा बनाउँदै आएका ७५ वर्षीय गणेशभक्त प्रजापति बताउँछन्।
‘गर्दिनँ भन्नेलाई कर लगाउन मिलेन, यस्तै पारा हुने हो भने हाम्रो पुर्ख्यौली पेसा नै लोप हुन्छ,’ उनले भने।
माटोका भाँडा बनाउन अहिले प्रविधिको सहयोगले अहिले धेरै सहज भएको गणेशभक्तको अनुभव छ।
‘पहिले-पहिले हामीले सुरूमा माटोलाई खुट्टाले फुटाउँथ्यौं अहिले त्यसको लागि मेसिन प्रयोग गर्छौं त्यसपछि भाँडा बनाउन चक्र हातले घुमाउन पर्थ्यो, अहिले मोटर प्रयोग गर्छौं र अन्तिममा सामान्य तरिकाले पोल्थ्यौं अहिले त्यसको लागि पनि आधुनिक भट्टी प्रयोग गर्छौ,’ उनले भने।
सबै चिज सहज भए पनि यो पेसामा भविष्य नदेखेर युवाहरूले अन्य काम गरेकोमा भने गणेशभक्त चिन्तित छन्।
व्यवसायीहरूका अनुसार तिहारको समयमा माटोको पालाको माग अत्याधिक हुने गरेको छ।
दीपावलीको अवसरमा मैन बाल्ने प्रचलन व्यापक भए पनि विगतका केही वर्षयता माटोको पालामा मैन भरेको पाला बाल्ने क्रममा बढेको छ ।
सुरक्षाको दृष्टिकोणले समेत पाला उत्तम मानिने गरिन्छ। आगलागी नहुने भएकाले माग बढेको जानकारहरू बताउँछन्।
तिहारका लागि माटोको पाला, भिउँटे, ठेकी, धुपौरो लगायतका माटोका सामाग्रीहरूको माग उच्च हुने गरेको छ।