एक आफन्त बहिनीले कुरैकुरामा भनिन्, ‘घरमा पाहुना आएको दिन मेरा बुढा मलाई चिया पकाएर खुवाउन दिन अप्ठेरो मान्छन्।’ मैले ठट्टयौलो शैलीमा भनें, ‘किन पाहुना आएको दिन तिम्रो घरमा ग्यास सकिन्छ र ?’ जवाफमा उनले हाँसेरै भनिन्, ‘पाहुना आएकै दिन ग्यास सकिने पनि हुन्छ त ? उहाँलाई पाहुनाका अघि चिया पकाउन लाज पो हुन्छ भन्न खोजेको।’ अन्य दिन श्रीमतीका लागि चिया पकाउन अप्ठेरो नमान्ने बहिनीका श्रीमान पाहुना आएको दिनचाहिँ चिया पकाउन अप्ठेरो मानेको विषयलाई बहिनीले पनि सहजै लिएको देखियो। उनि यस विषयमा ढुक्क थिइन्, ‘लोग्नेले घरमा स्वास्नी हुँदाहुँदै पाहुनाको अघि चिया पकाउनु त ?’ घरमा पाहुना आएको दिन श्रीमानले चिया नपकाएकोमा उनलाई गुनासो नहुनु अनौठो पनि होइन। हामीले देखेको समाजले यही सिकायो, यही पढायो, ‘केटामान्छेले घरको काम गर्नुहुँदैन। कुच्चो लगाउने, खाना पकाउने, लुगा धुने, चिया पकाउने काम गर्न हुँदैन। छोरोमान्छेले यस्ता काम गरेको देखे समाजले के भन्ला?’ जस्तो अभ्यास, उस्तै चिन्तन।
पाहुनाको अघि चिया पकाएर खान नदिएपनि पियारीलाई पतिज्युले अरु बेला त चिया पकाएर खुवाउने रहेछन् भन्ने जानेर म खुशी भएँ। घरबाहिर परिवर्तन नदेखिएपनि भित्र त भएको रहेछ नि भन्ने वोध भएर मलाई रमाइलो लाग्यो। नभए हामीकहाँ अझै पनि कति जना श्रीमान छन् जो श्रीमतिलाई चिया पकाएर खुहाउँछन् ? कुचो लगाउने, तरकारी केलाउने, खाना पकाउने, बच्चाको सरसफाइमा जुट्ने ‘मर्द’ हरु साँच्चै कति होलान् समाजमा ?
यति महत्वपूर्ण घडीमा ‘सामान्य’ चियामाथि गरमागरम बहस गर्ने मेरो जमर्को होइन किनकि देशमा अभूतपूर्व राजनीतिक घटनाहरू हुँदैछन्। देश ठुलो फ्डको मार्न खोज्दैछ । बहस त यता केन्द्रित छ, ‘अब मुलुक कता जान्छ ? कसले आगामी निर्वाचनमा२०७४ मा बहुमत ल्याउँछ ? प्रतिनिधिसभा र प्रदेशमा कुन दल, तिनका नेता र प्रत्यासीले विजयको सयपत्री पहिरन्छन् ? बहस त मतदातको घर दैलोमा कुन पार्टी र कुन नेता पुगे वा कुन पुग्न पाएनन्मै हुनुपर्ने हो।
समानुपातिकमा कुन पार्टीले कुन नेता, अभिनेता या ‘अर्थनेता’ चुने, प्रत्यक्षमा कहाँ कोसँग भिड्दैछन् भन्नेमा हुनुपर्ने हो। नाम चलेको महिला नेतृ स्वयं किन समानुपातिकमा खुसुक्क छिरिन् भन्नेमा पनि बहस हुनसक्थ्यो। र बहस दलहरूले पार्टीले ल्याएको घोषणापत्र र तिनले उठाएका उमेम्दवारका विषयमा हुनुपर्ने हो। तर घोषणापत्रका पाना पल्टाउँदै जाँदा त्यहाँ पनि कहिँ कतै महिला शब्द अवश्य उल्लेख गरिएको छ किनकि ‘आधा आकाश’को भोट नपाई हाम्रा काकाबाउहरूले चुनाव जित्नेछैनन्। तर सवाल सधै राजनितीको मात्र हुँदैन सवाल कहिले काँही राजनितीक व्यवस्थासंग सुक्ष्म तरिकाले जोडिएको तर हामीले वास्ता कहिल्यै वास्ता नगरेको चिया जस्तो सामान्य विषयको पनि हुनसक्छ। किनभने हामी आम नेपालीको दैनिकी चियाको चुस्कीसंगै सुरु हुन्छ।
र, सम्भवतः महिला र पुरुषबीच हुने विवेधको उद्गम स्थल पनि विहान हरेक घरमा पाक्ने चिया हो। भान्छामा कुन चियापत्तीमा चिया पाक्छ ? बासी पानीमा चिया पाक्छ कि ‘साजी’ पानीमा चिया पाक्छ ? अदुवा चिया पाक्छ कि मसला चिया पाक्छ ? वा डिडिसिको दुधमा चिया पाक्छ कि अन्य नीजि डेरीको दुधमा चिया पाक्छ ? म विश्वस्त छु यो सवाल मैले राजनीतिमा खरो उत्रिएर भिडिरहेका मेरा काकाबा र भाइहरूलाई सोधें पनि तिनले सहजै उत्तर दिन सक्नेछैनन्। किनकि आजसम्म हाम्रा दाजुभाईलाई चिया खाने शोख त छ तर पकाउने बानी छैन। जसले आजिवन चिया खाएको मात्र छ, विचरा उसलाई चियामा केके मिसाइएको छ भन्ने के पत्तो ?
चुनावी माहौलमा चियाजस्तो सामान्य विषयमा कलम चलाएर माहौल बिगार्न खोजेका गलत अर्थ नलागोस् तर चुनाव र चिया पनि एक आपसमै जोडिएका छन्। श्रम विभाजनको परम्परागत तरिकालाई चियाले प्रतिनिधित्व गर्छ। भान्छाको चियाबाटै विभेदको सुरुवात हुन्छ भन्ने उदाहरण मात्रै हो यो। ‘भान्छा’ अर्थात् हामी महिलाले हजारौंवर्ष देखि सम्हाल्दै आएको व्यवस्था। अनि भान्छा सम्हाल्नुलाई कहिल्यै पनि समाजले जिम्मेवारी सम्हाल्नुका रूपमा बुझेन। अनि कुनै पुरुषले भान्छा सम्हाल्नै चाहे पनि समाजले खिसिट्युरी गर्ने डरले उ भान्छाबाट कोशौ टाढा रहन थाल्यो।
मलाई थाहा छ, आगामी चुनावलाई लक्ष्यित गरेर लेखिएका राजनितीक दलका घोषणपत्रमा समानाताको वकालत गरिएका छन्। कागजी घोषण पत्रमात्रले समानता के हो त्यो बोल्दैन, व्यवहारमा जे देखिन्छ त्यो पो अक्षरमा कोरिएका शब्दभन्दा बलिया हुन्छन। मैले बारम्बार भनिरहेको भान्छामा चिया, भात, तरकारी पकाउने वा कुचो लाउने काम महिलाले मात्रै गर्नु पर्नेकाम होइन। बरु महिला या पुरुष जसले गरे पनि हन्छ भन्ने हो। कामका आधारमा विभेद र विभाजन हुन भएन भन्ने हो। अनि आजसम्म महिलाले चिया पकाए भान्छा सम्हाले। अब घरघरको संस्कार बद्लेर पुरुषले मात्रै चिया पकाउन थाल्नु प¥यो भन्ने मेरो निष्कर्ष त झनै होइन। बरु भान्छा सम्हाल्दैैमा वा घर सफा गर्न झाडु समाउँदैमा पुरुषको इज्जत जाँदैन। आफ्नो काममा आफ्ना प्रिय दाजुभाई र लोग्नेहरू सहायक भएकोमा पुरुषमाथि महिलाले गर्ने इज्जत झनै बढ्छ। ‘हजारौं वर्षदेखि भान्छा सम्हालेका महिला’ले राष्ट्र पनि सम्हालेको हामीले आँखाले देखका छौं। तर कुनै पनि ठुलो पद सम्हालेको पुरुषले भान्छा सम्हालेको हामीले देख्न पाएको छैन।
मलाई खुबै रहर छ मेरै समाजमा पुरुषले पनि भान्छा सम्हालेको हेर्ने। फेरि पनि गलत नबुझियोस्। कामका आधारमा विभेद र हिनतावोध हुनुहुँदैन भन्नेमात्र मेरो ध्येय हो। यो महिलाले गर्ने र यो पुरुषले गर्ने भनेर छुट्याउनु आवश्यक छैन। जसले जँहाबाट जे काम सक्छ, उसले त्यहि गर्ने हो। पुरुषले दाल उमाल्न, भात छट्काउन र तरकारी ओइरिन नहुने होइन। भान्छाको महिलाले सम्हाल्दा पनि हुनछ , पुरुषले सम्हाल्दा पनि हुन्छ। राजनिती महिलाले गर्दा पनि हुन्छ पुरुषले गर्दा पनि हुन्छ। सगरमाथा जसले सक्छ उसले चढ्दा हुन्छ। हाम्रा पासाङ ल्हामुहरूले उँचनिँचनको सामाजिक संस्कारलाई उहिल्यै सगरमाथा चढेर देखाइदिएका पनि छन्।