गोविन्द केसीले अनसन बस्न सुरु गर्नुभन्दा भन्दा पहिले आम नागरिकको स्वास्थ्यसंग प्रतक्ष्य जोडिएको चिकित्सा शिक्षा र स्वास्थ्य पद्धति विकृति र विसंगतिले ग्रसित थियो| सरकारले बेलगाम छाडेकाले निजि मेडिकल कलेजहरूमा संचालकको मनोमानी र नाफाखोर प्रवृति फस्टाउने क्रममा थियो|
मापदण्डविहीन न्यून पूर्वाधार, फ्याकल्टीको अभाव जस्ता विभिन्न प्रतिकूलताको बाबजुद अधिकतम विधार्थी भर्ना लिने कार्य बढ्दो थियो| नियमन निकायले पनि विभिन्न प्रलोभनमा परेर होस् अथवा ठोस राष्ट्रिय नीति र कानुनको अभावमा यस्ता विकृति रोक्न सकेका थिएनन्, रोक्ने दिशातिर सोचेकै थिएनन्| जसको कारण चिकित्सा जस्तो संवेदनशील पेशा र सेवाका लागि दक्ष जनशक्ति उत्पादन गर्ने संविधानको मर्ममा गम्भीर चुनौती खडा हुनुको साथै सम्पूर्ण स्वास्थ्य जगत नै अँध्यारो दिशातिर धकेलिदै थियो| तर पनि यी र यस्ता विकृतिहरूको विरुद्धमा बोल्ने कोही थिएनन्, आफूले प्रतक्ष्य नभोगेसम्म जे छ ठिकै छ भनेर चलिरहेको थियो|
तर यस्तै चलिरहने हो भने भोलिको दिनमा नेपालको स्वास्थ्य क्षेत्रले नराम्रो मूल्य चुकाउनु पर्नेछ, स्वास्थयको गुणस्तरीयतामा आँच पुग्नेछ र त्यसको मारमा सोझा, सिधा नेपाली नागरिक पर्नेछन् भनेर स्वास्थ्य सुधार अभिन्यन्ताको रुपमा डाक्टर केसी अगाडि आए| सुधारको लडाईं त्रिभुवन विश्वविधालय अन्तर्गतका मेडिकल शिक्षालाई नियन्त्रण र संचालन गर्ने निकाय शिक्षण अस्पतालमा डीन नियुक्ति निष्पक्ष हुनुपर्ने कुराबाट गरे| राजनीतिक भागबन्डामा नियुक्त डीनबाट विभिन्न स्वार्थ समूहबाट प्रभावित भएर या राजनीतिक दवाबमा परेर विभिन्न मेडिकल संचालक र राजनीतिक समूहलाई अधिक फाइदा हुने र गुणस्तरीय स्वास्थ्य शिक्षामा सम्झौता हुने खालको निर्णय हुने भएकाले निष्पक्ष डीन नियुक्त गर्ने विषय उठाए|
त्यस्तो बेथितिको उदाहरणको रुपमा ८०-९० जनामात्र विधार्थी पढाउन बल्लतल्ल मापदण्ड पुगेको मेडिकल कलेजलाई १५० सीट विधार्थी भर्ना लिन सिफारिस दिएर सम्बन्धित सस्थालाई अधिक आर्थिक लाभ हुने बाटो खुल्ला गरिदिनुलाई लिन सकिन्छ| त्यसैले डीन नियुक्तिको विषयमा दर्जनौ पटक भएको सत्याग्रह केवल कुन व्यक्ति डीन हुने भन्दा पनि मेडिकल शिक्षा सुधारकै एउटा महत्वपूर्ण पक्ष हो| यो कुरालाई सबै सामान्य मानिसले नबुझ्नु स्वभाविक भए पनि धेरै विद्वान भनिने र चिकित्सा जगतकै बरिस्ठहरुले नबुझेको बाहना गर्नु चाहिँ दु:खद कुरा हो| हुन त नबुझेझै गर्नेहरुको पनि आफ्नै स्वार्थ र बाध्यता होलान्|
१४ औं अनसनसम्म पुग्दा गोविन्दको धेरै शुभचिन्तक बढेका छन् त उत्तिकै धेरै मात्रामा विरोधीहरू पनि| अचम्मको कुरा त यो छ कि चिकित्सा जगतभित्र पनि उनको पाइला-पाइलामा विरोध गर्ने बढेका छन्| हुँदा-हुँदा केसी चिसोबाट पीडितहरूको स्वास्थ्य परिक्षण गर्न र उनीहरूको पीडामा सहानुभूति राख्न जाँदा पनि केहि चिकित्सककै टाउको बेस्सरी दुखेको छ र उहाँ प्रचारवादी हुनुभयो भन्दै न्यानो सिरकभित्र बसेर सरको विरोधमा फेसबुकबाट स्टाटस राखेर चर्चा बटुल्न खोज्दैछन्| टाउको नदुखोस् पनि किन, हरेक बेथितिको विरुद्धमा लड्ने पनि केसी अनि समाजसेवामामार्फत् जनताको घाउमा मलम लगाउन सबैभन्दा अगाडी पुग्ने पनि उनी नै| अनि चर्चित हुनलाई फेसबुकमा लेख्नु बाहेक के नै बाकीं रह्यो र? उनको राम्रो कार्यलाई अनुसरण गरेर हामीले पनि सामाजिक दायित्व वहन गरेको भए अनि डाक्टर केसीझैँ मानवीय मर्मलाई बुझेर आफ्नो लागि मात्र नभएर अरुको लागि पनि बाँचेको भए हाम्रो समाज यति साह्रो दु:खी र विभाजित हुने नै थिएन|
अर्का एकजना डाक्टर सा‘ब रामेछापस्थित केसीको गाउँमा रहेको स्वास्थ्य चौकीमा उभिएर फोटो खिचे। अनि केसीले आफ्नो गाउँको स्वास्थ्य केन्द्रलाई सुधार गर्न केहि नगरेकाले उहाँले मेडिकल सुधारको लागि भनेर गरेको सबै प्रयास चर्चित हुने नाटक मात्र हो भनि स्टाटस हाले| चिकित्सक जस्तो व्यक्तिले बुझ्न पर्ने थियो गोविन्द केसी स्वास्थ्य मन्त्री हैनन्, प्रधानमन्त्री नि हैनन् र सांसद नि हैनन्। कि कुनै स्वास्थ्य चौकीलाई एकैपटक सुबिधासम्पन्न अस्पताल बनाउन सकून्|
सबैभन्दा ठुलो उपलब्धि त यो हो कि अब नेपालमा जतिसुकै शक्तिशाली पदमा बसेको व्यक्तिले पनि मनपरी निर्णय गर्न पाउँदैन, जनता चुस्ने र सीमित व्यतिको समुहलाई पोस्ने काम स्वीकार्य हुन्न। कसैले पनि नीतिगत र संस्थागत भ्रष्ट्राचार गर्न पाउँदैन| यदि यस्तो कसैले गर्छ भने जनताले आवाज उठाउँछन्| त्यस्तो परिस्थितिमा नागरिकको पक्षमा आवाज उठाउने र लडाईं लड्ने साहस र नैतिक वल कसैमा भएन भने पनि हाम्रासामू गोविन्द केसी छन्, उनले त्यस्तो कार्यको अगुवाई गर्छन् भन्ने अनुभूति नेपाली जनतालाई भएको छ| इमानको लडाईं लड्ने कोहि त छ भन्ने भएको छ| त्यसैले त हरेक अनसनमा स्वस्फूर्त रुपमा धेरै सचेत नागरिकले उनलाई साथ दिएका छन्| गोविन्द केसीले किन यति धेरै पटक अनसन बस्छन् भनेर दिक्दार मान्नेहरूले किन सरकार र राज्यका विभिन्न निकायमा बसेकाले संधै अनसन बस्नुपर्ने स्थिति निम्त्याउँछन् भनेर सोच्न जरुरी छ|
धेरै उपलब्धि मेडिकल शिक्षा सुधारकै लागि भएका छन्| कुनै स्पष्ट नीति र मापदण्ड नबनुन्जेल बरिष्ठताका आधारमा डीन नियुक्ति हुनुपर्छ भन्ने उनकै मागले गर्दा अहिलेसम्म डीन कार्यालयबाट हुनसक्ने पूर्वाग्रही र स्वार्थपूर्ण निर्णयको मारबाट विद्यार्थी बचेका छन्। अनि त्यसको दिर्घकालीन परिणाम जनताले भोग्नुपर्ने संकट टरेको छ| डीन नियुक्तको विषयमा गोविन्द केसीले गर्दा शशी शर्मालाई अन्याय भयो भन्ने नि धेरै छन्। तर पूर्वाधार, विरामीको प्रवाह अनि फ्याकल्टी केहिको पनि मापदण्ड नपुगेको काठमाडौं नेसनललाई शशी शर्माको टिमले सम्बन्धन दिन मिल्ने प्रतिवेदन दिदाँ त्यसबाट ३ करोड जनताको स्वास्थ्यसंग खेलवाड हुन्छ भन्ने कुरा चाहिँ सोच्ने कि नसोच्ने? दुईचार जनाले पद नपाउनु ठूलो अन्याय कि लाखौं जनताको स्वास्थ्यमा हुने खेलवाड ठूलो अन्याय?
उहाँकै अनसनको बलमा सरकारी शिक्षण सस्थामा मेडिकल शिक्षामा स्नातकोत्तरको पढाई नि:शुल्क भएको छ| माथेमा आयोगको सुझाब समेटेर चिकित्सा शिक्षा अध्यादेश पारित भएको छ| सम्पूर्ण मेडिकल कलेजहरूमा योग्यताक्रमको आधारमा विद्यार्थी भर्ना सुरू भएको छ| मेडिकल अध्ययनमा करोडौं खर्च गर्नुपरिरहेको अवस्थामा शुल्क निर्धारण भएको छ| मेडिकल कलेजले पनि अधिक रुपामा विधार्थी लिन नपाउने भएका छन्| कर्णालीमा मेडिकल कलेज खुलेको छ र अझै डडेल्धुरा जस्तो विकटमा मेडिकल कलेज संचालनमा आउने बाटो तय भएको छ| मेडिकल कलेजको सम्बन्धनमा कडाइ भएको छ, जसले गर्दा मेडिकल शिक्षामा भएको मनोमानी र अनियन्त्रित व्यापारमा थोरै भए पनि कमी आएको छ| यसबाट अन्ततः स्वास्थ्य सेवाको लागि उच्च गुणस्तरको जनशक्ति उत्पादन र गुणस्तरीय चिकित्सा सेवा प्रवाह गर्ने संविधानको मर्ममा सकारात्मक प्रभाव परेको छ| यसबाट दीर्घकालीन रुपमा सर्वसाधारण जनता लाभान्वित हुनेछन्|
अब कुरा उठ्यो केसीले किन कहिले अक्तियार प्रमुखको विरुद्ध त कहिले प्रधानन्यायधिस विरुद्ध अनसन बसे| यी पनि मेडिकल शिक्षासंगै जोडिएको विषय थिए| तत्कालीन अक्तियार प्रमुख लोकमानसिंह कार्कीले टंगालबाटै मेडिकल कलेजमा सीट निर्धारण गर्न थालेका थिए| आफ्नो भाइको कलेजमा मापदण्ड विपरित धेरै विधार्थी सीट तोक्न मेडिकल काउन्सिल र शिक्षण अस्पताललाइ दवाव दिएका थिए भने काठमाडौं विश्वविद्यालयको स्नातकोत्तर प्रवेश परीक्षामा नाङ्गो हस्तक्षेप गरि अक्तियारले नै परीक्षा लिएको र अक्तियार कै आयुक्तको छोरीको पहिलो नम्बरमा नाम निस्किएको खबर आएका थिए| अक्तियार प्रमुखको यस्ता कार्यबाट हामीले कल्पना गरेको गुणस्तरीय स्वास्थ्य जनशक्तिको उत्पादन नहुने देखेर नै गोविन्द केसी उनको विरुद्धमा अनसन बसेका थिए| अन्तमा कार्कीलाई संसदले महाअभियोग लगाउनु अनि सर्वोच्च अदालतले लोकमानसिंह नियुक्ति नै गैरकानुनी प्रमाणित गर्नुले गोविन्द केसीले उनीविरुद्ध गरेको अनसन जायज थियो भन्ने कुरा पुष्टि हुन्छ|
प्रधानन्याधिसको फैसला र आदेशले पनि मेडिकल शिक्षालाई झनै गुणस्तरहीन र अन्योलग्रस्त बनाउन भूमिका खेल्यो| विगतका केहि वर्षहरूमा प्रधानन्यायधिसको पराजुलीको फैसला हेर्ने हो भने फैसलामा मेडिकल संचालकको प्रभाव छ भन्ने कुरामा शंका नगर्ने ठाउं छैन| नियामक निकाए मेडिकल काउन्सिल र शिक्षण अस्पतालले मापदण्ड नपुगेको भन्दै स्नातक र स्नातकोत्तर विधार्थी भर्ना लिन जतिजति बेला मेडिकल कलेजहरुको सीट घटाएको छ, त्यति नै पल्ट उनका फैसला र आदेशले निर्णयहरु उल्ट्याउने काम गरेको छन्| त्यस्तो एकपल्ट मात्र हैन दर्जनौं पटक भएको छ| अझ अचम्मको कुरा त मेडिकल कलेज सबन्धित मुद्दाहरू किन खाली एउटामात्र न्याधिसको इजलासमा पर्छ, चाहे उनी जुन सुकै अदालतमा किन नहुन भन्ने हो|
यसरी मापदण्ड नपुगेको स्तिथिमा पनि धेरै मेडिकल र डेन्टल कलेजले अदालतकै सहायताले काउन्सिलले तोकेको भन्दा ४० देखि ५० बढी सीट विधार्थी भर्ना लिएका छन्| यसबाट कलेजलाई हुने अर्बौ आर्थिक लाभसंग लाभ दिलाउन भूमिका खेल्नेहरू जोडिएका छैनन् भन्ने आधार छैन| फेरी मेडिकल कलेजलाई पूर्वाधार र मापदण्डको आधारमा कति सीट दिने भनेर काउन्सिलले निर्धारण गर्ने कि अदालतले भन्ने कुरा अदालतले बुझ्नुपर्ने हुन्थ्यो| यसरी पूर्वाधार नभएको र मापदण्ड नपुगेको स्थितिमा भर्ना भई उत्पादन हुने जनशक्तिबाट भोलिका दिनमा नागरिकको स्वास्थ्यमा हुने जोखिम सम्झने हो भने केसीले मात्र हैन सम्पूर्ण नागरिकले यस्ता कुराको विरोध गर्नुपर्ने हुन्छ| फेरी त्यो कुरा सर्वोच्च अदालतले नै छानविन गर्ने र इजलास बस्ने निर्णय गर्नु आफैँमा अर्थपूर्ण छ| यसबाट फेरी पनि केसी गलत छैनन् भन्ने प्रष्ट हुन्छ|
यसरी समग्रमा भन्नु पर्दा गोविन्द केसी मरुभूमिमा फुलेको सुन्दर फूलझैँ राष्ट्रको अमूल्य सम्पति हुन्| स्वार्थी, भ्रष्ट्रचारी र इमानहीन व्यक्तिले खोक्रो पारेको यो देशमा जनताका लागि निरन्तर र निस्वार्थ लड्ने एकमात्र गोविन्द केसी देखिएका छन्| कुनै पनि बेथितिको विरुद्धमा निडर भएर बोल्न सक्ने इमान भएको र कुनै कलंक नलागेको कोही हुन् भने तिनी गोविन्द केसी नै हुन्| यस्ता व्यक्तिबाट राष्ट्र र समाजले धेरै सिक्नुपर्छ|
उनका संघर्षका कथा इतिहासमा लेखिनेछन् भन्ने मलाई विश्वास छ|