रातको १ बजेको छ। मज्जाले दोहोरी गीत पूरै वस्ती जुरुक्क उचाल्ने गरि बजीरहेको छ। बिरामी बुवा यता कोल्टे, उता कोल्टे फेरिरहनुभएको छ। कर्कश ध्वनीले आज मात्रै होइन पूरै ३ दिन भयो। न निदाउन सकिन्छ न पढ्न, न टेलिभिजन हेर्न।
हामी सामान्य अर्थात् रोगव्याधी नलागेको, पढ्नलेख्न या आफ्ना अभिरूचिका अन्य काम गरेर समय व्यतित गर्न सक्नेलाई त यति ठूलो सकस भइरहेको छ भने रोगी, घरका ज्येष्ठ नागरिकहरू, स–साना बालबच्चाहरू, स्कूले नानीहरूलाई कति झन्झट लाग्यो होला त्यो ठूलो साउण्डले। गीत मात्रै हो र? रातको १२ः०० बजेसम्म त प्रत्यक्ष दोहोरी, खितिति हाँसो, कल्याङबल्याङ मनलाग्दी बोलेका आवाज र हल्लाहरू पूरै भोल्युममा कानमै ठोकिन आउने, सुन्दा पनि बेमोजका आवाजहरू।
होइन यो बिहे चाहीँ कहिले रहेछ? यत्रो दिनदेखि हल्लाखोर भइरहेको छ टोलमा। मैले चिनेजानेका कसैलाई सोधें। ओहो विवाह आउन अझै ३ दिन बाँकी नै रहेछ। अझै ३ दिनसम्म कान, दिमाग, मन सबै शून्य बनाएर बस्नुपर्ने भयो। असह्य भयो, विवाह स्थानीय जनप्रतिनिधिकै नातेदारको रहेछ। यस्तो पनि हुन्छ? स्थानीय प्रतिनिधिले देखाउने र बोक्ने सामाजिकीकरणको उदाहरण यही हो त? स्कूलका बच्चाहरूले गृहकार्य गर्न सकेनन्, मुटुका रोगी आमालाई ढोका लगाएको आवाज, प्रेसरकुकरको आवाजले त मुटुमा तोड पुग्छ अनि यो आवाजको प्रहार अब कतिञ्जेल सहनुपर्ने?
केही दिनयता गम्भिर बिरामी हुनुभएका बुवालाई एक झुल्को निन्द्रा पर्यो भने पनि स्वास्थ्यलाई कति सहज हुन्थ्यो तर यो विकृत ध्वनि ? म त सहुँला, सहेकै छु। तर कलेज पढ्ने बच्चाको प्रि बोर्ड परीक्षाको तयारी छ। हरेक घरमा कलेज पढ्ने, स्कूल पढ्ने विद्यार्थीहरू हुन्छन्, कुनै घरमा अशक्त बिरामी त कतै जटील बिरामी हुन्छन् । कतै शोक परिरहेको अवस्था हुन्छ । प्राय घरमा ज्येष्ठ अभिभावकहरू हुन्छन् । यस्तो ध्वनी जतिसक्यो सर्वत्र पुगुन् भन्ने हेतुले जतिसक्यो ठूलो पारेर बजाइरहनु हुन्छ? दिनभरि त बज्यो बज्यो, कम्तिमा शान्त रहन दिनुपर्छ।
यस्तो पनि गर्ने हो ? म त उजुरी गर्न तयार भएँ तर एउटा उत्सवको काम भएकोले यसो नगरीहालौं भन्ने सुझावलाई मनन गरें र सहेरै बसें । तर अचम्म के लाग्छ भने मलाई मात्रै यस्तो कर्कस लागेको हो या छिमेक, समाजमा चाहीँ सबैलाई रमाइलो लागिरहेको हो कोही बोल्दैनन्, लावालस्करै बिहे उत्सवमा सहभागी मात्रै भएको देखिरहें, आफ्नै मनमा चिसो पोतीरहें, त्यो ध्वनि भुल्नसक्ने गरि सहनशीलताको ध्वनि ठूलो बनाएँ र बुबा आमालाई लगत्तै गंगालाल अस्पतालको इमर्जेन्सीमा मुटुको धड्कन जाँच गराएँ ।
विवाह उत्सव हुँदा मात्र होइन, घरमा पूजा, सप्ताह, पुराण, सत्सङ्ग, संगति आदि जस्ता पूनित कार्य गरिँदा पनि दिनरात ठूलो ध्वनि बजाइरहन्छौं । बजीरहनुमा हामी रमाइरहेकै छौं । हो खुशी, उत्सव बनाउनुपर्छ तर खुशी र उत्सवहरू त्यतिसम्म पनि नउछालियोस् कि त्यो कतै गएर पोखियोस् र दुःखको कारण नबनिदियोस् । सचेतताका साथ मनाऔं, कसैलाई दुःखी नबनाऔं । के यसो गर्नै नसकिने हो र ? ध्वनि प्रदुषण शारीरिक र मानसिक दुवैतर्फ स्वास्थ्यको दृष्टिकोणले त हानीकारक छ नै तर त्यसबाट सृजित असहजताले व्यवहारलाई कति जटील बनाउँदछ भन्ने कुरा के हामी बुझिरहेका छैनौं या बुझेरै पचाउने आम स्वभावलाई संस्थागत गर्दैछौं ?
हामी कति दिनहिन हुँदैछौं भने गलत लागेको कुरा गलत भनिरहेका छैनौं वा भन्न सकिरहेका छैनौं । हाम्रो सभ्यता कस्तो हुँदैछ भने, मूल सडक जाम गरेर जन्ती पर्सन्छौं । बाटो बन्द गरेरै भोज भतेर गरिदिन्छौं । आफ्नो घरको ढल, कूलो, खानेपानीको पाईप जाम हुँदा मूल सडक खनिदिन्छौं र काम सम्पन्न भएपछि असरल्ल अलपत्रै छोडिदिन्छौं । दुहुन छाडेपछि र रोग लागेपछि पशुचौपाया छाडा छाडिदिन्छौं । कुखुरा, हाँस असरल्ल बाटैमा चराइदिन्छौं । चोक चोकमा क्यारेमबोर्ड, लुँडो खेलाएर होहल्ला गरिदिन्छौं।
बिजुली, टेलिफोनको तार घरै अगाडि महिनौं दिनदेखि लत्रिएर बटुवा तथा यातायातका साधनलाई अल्झन भइरहेको हुन्छ, हामी हेरेरै पचाइदिन्छौ । ढल नाली फुटेर अर्को छिमेकतिर त्यसको असर परोस् नपरोस्, बेमतलबका साथ बसिदिन्छौं । फोहोर कचेराहरू घरै अगाडि थुपारिदिन्छौं । यस्तो अटेरपन, यथास्थिति, हेपाहापनले हाम्रो समाज हामीले कहिले बदल्ने ? हाम्रा बालबच्चाहरूलाई हाम्रो यस्तै अधबेस्रोपनले गर्दा हामी नै उक्साइरहन्छौं कि यहाँ यस्तै छ त्यसैले तिमीहरू यो देश छाड्नुपर्छ । बच्चाहरूका लागि दुःख, मेहेनत, लगानी, परिश्रम गरेर मात्रै उनिहरू कुसल र योग्य हुँदैनन्।
उनीहरूको योग्यतामा हामीले देखाउने समाज, हाम्रो समाजले डो¥याउने संस्कृति, सभ्यता र व्यवहारको ऐना अवश्य देखिन्छ । त्यसैले समाज कस्तो बनाउने ? त्यो हामी प्रत्येक व्यक्ति र परिवारको दायित्व हुनुपर्दछ र यी दायित्वबोधभित्र माथि उदाहरण भनिएका व्यवहारहरू अवश्य पर्दछन्।
समाजलाई बदल्ने हाम्रो कसरतमा के ले थुन्छ, छेक्छ हामीलाई सत्य काम गर्न ? किन हामी हाम्रो व्यवहारलाई संस्कारयोग्य गर्न सक्दैनौं ? के हाम्रो मानव विकासको तह सामाजिक सहभागीता र उत्तरदायित्व बहन गर्ने स्थितिमा पनि पुगेका छैनौं ? देश अब तिब्र गतिले निर्माणको चरणमा प्रवेश गरिरहँदा पनि हामी भने यहाँ सामान्य मानवीय व्यवहार र संस्कारको कुरो उठान गरिरहनुपरेको छ । आउनुस् गलतको गलत भनौं, सत्यलाई साथ दिउँ, व्यवहारको प्रशोधन गरौं र उच्च सामाजिक सहिष्णुता उत्पादन गरौं ।
२०७५ वैशाख २८