हाइवेको यात्रा, सहजभन्दा पनि सकस ज्यादा।
काम विशेषले साउन १५ गते पोखराबाट हेटौंडा हुँदै बाराको निजगढ जानु थियो।
पहिलो दिन हेटौंडामा केही निजी काम सकेर निजगढ पुगियो। दोस्रो दिन फेरि पोखरा नै फर्किनु पर्ने थियो। हाइवेमा आफैं मोटरसाइकल चलाएर यात्रा गर्न थालेको करिब १२ वर्ष हुन लाग्यो।
यात्रा दिनानुदिन कष्टकर र सकसपूर्ण बन्दै गइरहेको महशुस हुन्छ। पहिलो दिनको यात्रा सहज भए पनि दोस्रो दिन वास्तवमै ज्यादा नै सकसपूर्ण रह्यो।
पहिलो दिनको यात्रा कसरी सहज भयो भन्नेबारे तल उल्लेख छ।
पछिल्लो समय राजमार्ग अति नै व्यस्त हुन थालेको छ। सडकको विस्तार हुन सकेको छैन। तर दिनानुदिन सवारी साधनको संख्या भने बढ्दो क्रममा छन्।
आजभन्दा बिसौं वर्षअघिको सवारी साधनको चापलाई मध्यनजर गरेर बनाइएका राजमार्गमा अहिले धान्नै नसक्ने गरी बढिरहेका सवारीको चाप छ।
निजगढदेखि पोखरासम्मको यात्रालाई पछ्याउँदा सबभन्दा जोखिम महशुस भएको सडक भनेको पथलैयादेखि हेटौंडा र हेटौंडादेखि नारायणघाटसम्म हो।
नारायणघाटदेखि मुग्लिङसम्मको यात्रा भने सहज रह्यो। पथलैयादेखि हेटौंडासम्मको सडक जताततै खाल्टाखुल्टी र उबडखाबड छ। जसका कारण सवारी साधन त्यसमा पनि मोटरसाइकल चलाउन अति नै जोखिमपूर्ण छ।
पथलैयादेखि चुरियामाईसम्म उकालो पर्ने हुनाले वीरगन्ज र तराईका अन्य क्षेत्रबाट सामान ढुवानी गरी काठमाडौं र अन्य पहाडी क्षेत्रतिर जाने मालवाहक सवारी साधनका कारण बायाँतर्फको भाग बढी भारका कारण दब्न गई ट्रयाक नै खाल्टो पर्न गएको छ। जुन सडकमा ट्रकहरूको संख्या अत्यधिक रहने गर्दछ।
यात्रा क्रममा जोखिम लाग्ने अर्को खण्ड हो, हेटौंडादेखि नारायणघाटसम्म नै।
जताततै खाल्टा, सवारीको अत्यधिक चाप आदिका कारण यो खण्डमा जोसुकैको यात्रा कष्टपूर्ण रहने गर्दछ। यो खण्डमा सबभन्दा बढी चाप भनेको मोटरसाइकल र स्कुटरको हो।
केही वर्षअघिसम्म साइकलले ढाक्ने यो सडकमा अहिले साइकललाई मोटरसाइकल र स्कुटरले विस्थापित गरिसकेको छ।
वास्तवमा सडकमा अहिले बाइक र स्कुटरको संख्या थामिनसक्नु गरी बढिरहेको छ। जो आफैं पनि जोखिमपूर्ण सवारी साधन हुन्। अझ हाइवेमा मोटरसाइकलको जथाभावी ओभरटेक र चलाइले अरू सवारी साधनसमेत दुर्घटनाको जोखिममा पर्ने गर्दछन्।
यसअघि झण्डै चार वर्षको सकसपूर्ण यात्रा व्यहोरेको नारायणघाट मुग्लिङको यात्रा भने अहिले सहज बनेको छ।
यो सडकलाई दुई वर्षमा स्तरोन्नति गरिसक्ने गरी निर्माणको जिम्मा दिए पनि भूकम्प र नाकाबन्दीको बहाना बनाएर ठेकेदार कम्पनीहरूले निर्माण सम्पन्न गर्न चार वर्ष लगाए।
निर्माणका क्रममा वा त्यो भन्दा अघि यो सडक हुँदै यात्रा गर्ने जोकोहीले यात्राका क्रममा व्यहोरेको कष्ट अझै सम्झिरहेका होलान्। तर अहिले आएर यो सडक त्यस्तो छैन। लगभग पौने घण्टामा यो सडक पार हुन्छ। त्यो पनि कुनै अवरोधबिना नै।
वास्तवमै अहिले यो खण्डको यात्रा निकै नै रोमाञ्चक लाग्ने गर्दछ। उकालो-ओरालो, घुम्ती बढी हुनु र जुनसुकै बेला माथिबाट पहिरो खस्ने भएकाले यात्राका क्रममा सावधानी भने निकै नै अपनाउनु पर्ने हुन्छ।
मुग्लिङ कटेपछि पोखरातर्फको यात्रा भने अझै रोमाञ्चक बन्न पुग्छ। कारण, सडकमा सवारीको चाप निकै नै कम हुनु। तर दिनानुदिन त्यो अवस्था भने हामीले गुमाउँदै गइरहेका छौं।
पछिल्लो समय विस्तारै यो खण्डमा पनि सवारीको चाप बढ्न थालेको छ। यद्यपी मुग्लिङबाट काठमाडौंको तुलनामा पोखरातर्फको खण्डमा भने सवारी चाप निकै नै कम हुने गर्दछ।
पोखरा पुग्नै लाग्दा भने सडकको अवस्थाका कारण सवारी चलाउन असहज बन्ने गर्दछ।
खासगरी तनहुँ सीमा कटेर कास्की प्रवेश गर्ने बित्तिकै पोखरासम्मको सडक निकै नै जीर्ण बन्दै गइरहेको छ। जसका कारण यात्रुका लागि यात्रा कष्टकर बन्दै गइरहेको छ।
पर्यटकीय राजधानी पोखरा घुम्न आउने पर्यटकलाई सहज सेवा दिन र उनीहरूमा पोखराप्रतिको धारणा नकारात्मक बन्न नदिन पनि यो खण्डलाई व्यवस्थित बनाउन सम्बन्धित सरकारी निकायले ध्यान दिन आवश्यक छ।
यसरी दोस्रो दिन कतै सहज त अधिकांश ठाउँमा सकस व्यहोरेर पोखरासम्मको यात्रा पू्रा गरियो।
तर हाइवेको यात्रा सधैं कहाँ सकसमात्र हो र सहज पनि हुँदो रहेछ। अचम्म लाग्यो होला, नेपालमा पनि यस्तो सम्भव छ र भनेर ? हो वास्तवमै पहिलो दिनको यात्रा निकै नै सहज रह्यो।
विप्लव नेतृत्वको पार्टीले साउन १५ गते बागमती, नारायणी र जनकपुरका दोलखा र रामेछाप बन्द आह्वान गरेका कारण हाइवे सुनसान थियो। यात्रु चढाउने सवारी चलेनन्। तर मालवाहक ट्रक, साना सवारी साधन भने फाट्टफुट्ट चलेका देखिन्थे।
तुलानात्मक रूपमा मोटरसाइकल धेरै थिए। विप्लवको बन्द भएकाले अघिल्लो दिननै प्रेस कार्ड र प्रेस लेखेको पहेंलो ज्याकेट तयारी अवस्थामा राखिसकेको थिएँ। तर त्यसको उपयोग भने गर्न पाइएन। बन्दको प्रभाव मुग्लिङबाट मात्र सुरू हुने भएकाले त्यहीँ पुगेर कार्ड भिर्ने र ज्याकेट लगाउने उद्देश्यका साथ यात्रा अघि बढाएको थिएँ।
मुग्लिङ पुगेपछि कार्ड र ज्याकेट लगाउनुपर्ने महशुस नै भएन। कारण, सवारी साधन मैले सोचेभन्दा निस्फिक्रीका साथ चलिरहेका थिए।
बन्दकै दिनमा यति लामो यात्रा नगरेकाले पनि यो यात्रा मेरा लागि रोमाञ्चक बन्न पुग्यो। हाइवेमा निस्फिक्री यात्रा गर्न पाइएको थिय । पूरै बाटो आफ्नो लागि मात्र हो कि भन्ने भान भइरहेको थियो।
मनले भनिरहेको थियो, हाइवे सधैं यस्तै भइरहे कति रमाइलो हुन्थ्यो होला यात्रा। तर वास्तविकता त्यस्तो होइन। बन्दको समर्थन भन्दा पनि त्रासका कारण राजमार्गमा सवारी गुडाउन यसका सञ्चालकहरू असमर्थ भएका हुन्।
वास्तवमा बन्दको मार त सबभन्दा तल्लोस्तरका जनतालाई पर्ने हो। जसले आजै कमाएर आफ्नो अनि परिवारको पेट भर्नुपर्ने हुन्छ।
यस्तै–यस्तै कुरा मनमा खेलाउँदै पहिलो दिनको यात्रा सहजका साथ पूरा गरियो।
अन्त्यमा, दुई दिनको यात्रामा दुई फरक अनुभव लिने मौका मिल्यो। एक दिन सहज, एक दिन सकसपूर्ण। सकसपूर्ण यात्रालाई सहज बनाउन अहिलेका सडकलाई स्तरोन्नति र नयाँ हाइवे बनाउन आवश्यक रहेको महशुस यात्रा अवधिभर भइरह्यो ।