अहिले दिनहुँ रक्त बीजजस्तै फैलिएर संसार ढाक्दै गएको कोरोना भाइरसबाट सबै जना भयावहित छन्। यसबेला कोरोनाले हाम्रो मुलुकको कुनकुन पक्षमा कुन हदको क्षति पुर्याउँदैछ भन्ने भन्दा पनि कसरी सबै नागरिकको जीउज्यान जोगाउने भन्ने कुरामा ध्यान केन्द्रित गर्ने समय हो।
त्यसैले यो महामारीमा जुध्न हामीसँग उपलब्ध सकारात्मक पक्षहरु केलाउने प्रयास यहाँ गरिनेछ। विश्वमै औषधी पत्ता नलागेको अवस्थामा निम्न कुराहरुमा ध्यान दिइएमा त्यसले नेपालमा धेरैको ज्यान बचाउन र नेपालको अर्थतन्त्र तथा आमनागरिकको जनजीविकामा पनि सहयोग मिल्न सक्छः
१. सामान्यतया यो भाइरस शरीरमा प्रवेश गरेका धेरैजसो व्यक्तिमा छ/सात दिनमा लक्षणहरु देखा परिसक्ने र लक्षण देखिन अधिकतम समय लागेका एकाध व्यक्तिमा पनि १४ दिन भित्रमा लक्षण देखा परिसक्ने कुरा विश्व स्वास्थ्य संगठनले बताएको छ।
२. तसर्थ, अन्तर्राष्ट्रिय हवाई उडान तथा सीमा नाका बन्द गरेर आन्तरिक लकडाउन समेत गरिएको यो सात/आठ दिनको अवधिमा देशभित्र भाइरस बोकेका तर रोगको लक्षण देखिई नसकेका इन्क्युबेसन पिरियडका स्थानीय नेपालीहरु कुनैपनि नभएको कुरा पुष्टी भएको जस्तो देखिएको छ। तर नेपालमा लकडाउन सुरु भएपछि भारतबाट नेपालमा आएका नेपालीहरुमा चाहिँ भाइरस भए/नभएको कुरा थाहा पाउन थप लकडाउनले सघाउँ पुग्दैछ।
३. नेपाल र विशाल छिमेकी भारतको हकमा पनि अन्य विकसित देशमा गएर जहाज चढेर आएका उच्च वर्गका व्यक्तिहरुमा र तिनीहरुको निकट सम्पर्कमा रहेका अत्यन्तै सिमित व्यक्तिहरुमा बाहेक स्थानीय व्यक्तिहरुमा यो भाइरस हालसम्म नफैलिएको पुष्टी भएको जस्तो देखिनु पनि नेपालको लागि उत्साहबर्धक नै छ।
४. हालको आन्तरिक लकडाउनले कोरोना भाइरस विरुद्ध मुलुकभर र भारतमा पनि असाधारण जनचेतना बढेको छ, त्यो पनि नेपालको लागि सकारात्मक छ।
५. नेपालमा परीक्षण नै नभएका अनेक प्रकारका डरलाग्दा स्वासप्रश्वाससँग सम्बन्धित भाइरसहरुसँग सबैजसो नेपालीहरुले हरेक वर्ष मौसम बद्लिनासाथ जुध्दै शरीरमा एन्टिबडी विकास गर्दै आएको हुनुपर्ने भन्ने भनाईको असली परीक्षण विगतका बर्डफ्लु वा स्वाइनफ्लु जस्ता नयाँ भाइरसहरुको प्रकोपको बेलामा भइसकेको पनि छ। त्यसबेला यहाँका संक्रमित मान्छेहरु नमरेका र मरेका एक/दुई जना पनि अन्य बिमारीबाट पीडित व्यक्ति थिए।
६. अरु विकसित देशहरुमा साधारण रुघाखोकी लाग्दा पनि यसको विरुद्धमा खोप दिने चलन छ। जुन कुरा नेपालमा सायदै होला।
७. विकसित देशका नागरिकहरु सामान्य टाउको दुख्दा र सिँगान बग्न सुरु गर्दा नै अत्तालिएर संघर्ष गर्न डराउँछन् भने नेपालीमा असाध्यै रुघाखोकी लाग्दा र टाउको दुखेर रिंगटा लाग्दा समेत डराउँदैनन्। पाँच/सात दिनमा सबै खाले फ्लु निको भइहाल्छ भन्ने पूर्ण विश्वास र वर्षौँदेखि भोगेको अनुभव पनि नेपालीहरुमा छ।
८. कोरोना पनि छोटो आयुको स्वासप्रस्वास सम्बन्धी फ्लु नै भएको, तर अति तीव्र गतिमा संसारभर फैलिने स्वभाव भएकाले खतर्नाक रहेको पुष्टी भएकै छ।
९. हाल विकसित मुलुकहरुमा पनि कोरोनाका ८० प्रतिशतभन्दा बढी बिमारीमा सामान्य लक्षण मात्र देखा परेर निको भएको पाइनु सुखद् कुरा हो। २० प्रतिशत भन्दा कममा मात्र जटिल लक्षण देखिएको कुरा विश्व स्वास्थ्य संगठनले बताएको र त्यस्ता व्यक्तिहरु प्राय अरु जटिल रोगका बिमारी पनि भएको पाइएको छ।
१०. नेपालीहरुमा फ्लुहरुको विरुद्धमा परम्परागत औषधीको ज्ञान छ। विभिन्न रोग निको पार्ने एन्टिबायोटिक्सहरुको मुख्य कच्चा पदार्थ पनि जडिबुटी नै हुन्। औषधि उत्पादक कम्पनीहरुले चिराइतो, तितेपाती, असुरआदिबाट एमोक्सोसिलिन, क्लोरोक्विन आदि अनेकौँ एन्टिबायोटिक्स बनाउँदै आएका छन्। नेपालीहरुले यिनीहरुको र ज्वानो, बेसारआदिको प्रयोग विगतदेखि गर्दै आएकै छन्। त्यस्तो ज्ञान र जडिबुटीको उपलब्धता विकसित देशका जनतामा छैन। उनीहरु केवल डाक्टरहरुमा अत्याधिक आश्रित मात्र होइनकि पूर्ण आश्रित छन्। तर, अधिकांश नेपालीहरु सानोतिनो बिमारी आफैँ ठीक पार्न सक्षम छन्। नेपालीको यो क्षमता यस्तै बेलामा अत्याधिक काममा आउन सक्छ।
११. विश्वमा अहिले मरेका थुप्रै बिरामीहरु फोक्सोको बिमारीले मात्र भन्दापनि किड्नी आदि फेल भएर मर्ने गरेका र त्यसो हुनुमा उनीहरुले बिरामी हुँदा कैयौँ दिनसम्म पानी पर्याप्त नपिउने वा समयमा पिसाब नफेर्ने आदि गर्नाले मृत्यु भएको कुरा समेत औँल्याउन थालिएको छ। साथै, फ्लुको बिरामीलाई खाना नमिठो हुनेहुँदा केही दिनसम्म भोकै बस्नाले शरीर झनै गल्दै जाने कुरामा पनि ख्याल नभएको भेटिएको छ। नेपालमा कोरोनाका सबै साधारण बिमारीलाई घरैमा पनि टाढैबाट सुसार पुर्याएर बचाउन सकिन्छ भने क्वारेन्टाइनमा वा सेल्फ क्वारेन्टाइनमा पनि यसमा ध्यान दिन सकिन्छ।
१२. नेपालमा हालसम्म कोरोना भेटिएका पाँच जना मध्ये एक जनालाई सामान्य औषधीले छिट्टै निको पारेको र अरुलाई पनि त्यस्तै भइरहेको पाइनु सकारात्मक कुरा हो। यद्यपि उनीहरु सबै हालै मात्र विदेशबाट आएका व्यक्तिहरु हुन्। यहाँ बसिरहेका स्थानीय नेपालीहरुमा अवश्य पनि त्योभन्दा बढी रोग प्रतिरोधात्मक शक्ति छ।
१३. अहिले विदेशमा कोरोनाको उपचारमा संलग्न भएका कतिपय डाक्टरहरु मर्नुको कारण कोरोनालेभन्दा पनि टाढाटाढा गएर उपचारमा खटिँदा अतिसार थकान, अनिदो र निरन्तर तनावमा हुने गरेका पाइएको छ। उनीहरुले कोरोनाप्रुफ ड्रेसमा मात्र रहनु पर्नाले समयमा खाना खान नपाई आफै गलेको पाइएको छ। यी कुराहरु जनसाधारणका आफ्ना चिन्ताका कुरा होइनन् भने डाक्टरका यी समस्या हामीले पनि हेरिदिएर एकापसमा सघाउन सकिन्छ।
अन्तमा हामी पनि अन्तर्राष्ट्रिय समुदायमा आबद्ध रहेकाले र कोरोना अत्यन्तै फैलिने भाइरस भएकाले पनि विश्व समुदायलाई बचाउन र नेपालले लापरबाही गरेर अरु देशमा फैलाएको भन्ने आरोप नखेप्न समेत यसलाई फैलिन नदिनु हाम्रो कर्तव्य हो। तर हामी भाइरलको मामिलामा उपल्लो लोमान्थाङ्बासी जस्तै हुन पनि सक्छौँ, जहाँका स्थानीय नागरिकलाई त्यहाँ बस्दा लेक लाग्ने औषधी चाहिँदैन। त्यहाँ जन्मिँदैको सानो बच्चालाई समेत लेकमा रहेको कारणले लेक लागेर मर्न पर्ने अवस्था हुँदैन।
हामीले नागरिकलाई अरु चेतनाको अतिरिक्त यस्तो कुरा समेत अहिले नै बुझाउनु जरुरी छ। जुनसुकै भाइरल फ्लु लागेपनि हामी नेपालीहरुले सजिलै परास्त गर्न सक्छौँ भन्ने साहस संप्रेसण गर्न चुकेर उल्टै ज्यादा आतंकको वातावरण बनायौँ भने त्यसबाट केही बिरामीहरु मर्नै नपर्नेमा पनि आत्तिएरै मरेमा त्यो हाम्रो लापर्बाही मात्र साबित हुनेछ।
त्यसबाहेक हाम्रो आन्तरिक लकडाउनले हाम्रो शरीरको शक्ति यति धेरै नतोडोस् कि हामी कोरोनासँग लड्दा कमजोर भइसकेका हौँ। तसर्थ आन्तरिक लकडाउनमा आपूर्ति व्यवस्थित गर्नतर्फ पनि हाम्रो ध्यान पुग्न जरुरी देखिएको छ।