कोरोना भाइरस संक्रमणको जोखिमबाट टाढा रहन नेपालमा यहि चैत्र ११ गतेदेखि लकडाउन भइरहेको छ। सरकारले यस अवधिमा घरबाट बाहिर ननिस्कन, सामाजिक दूरी कायम राख्न र स्वास्थ्यको ख्याल गर्दै संक्रमणबाट बच्न र बचाउन सम्पूर्ण नागरिकहरुमा आग्रह गरेको छ।
कोरोनाको प्रभाव वृद्धवृद्धाहरुमा बढी परेका कुराहरु पनि आइरहेका छन्। यो घडीमा परिवारमा ज्येष्ठ नागरिक भएका व्यक्तिहरुले उनीहरुको विशेष ख्याल गर्नुपर्ने विषय एक हो भने उनीहरुसँग भएको ज्ञान, सीप र धारणालाई हस्तान्तरण गर्ने अवसरका रुपमा प्रयोग गर्न सकिने अर्को महत्वपूर्ण पक्ष हो। ज्येष्ठ नागरिकहरुलाई सोही तवरबाट हेरचाह गरिनु आवश्यक छ।
नेपालको कानुनले ६० वर्ष माथिका व्यक्तिलाई जेष्ठ नागरिक मानेको छ। सामान्यतया यी व्यक्तिहरुमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमता कम रहेको हुन्छ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले अहिलेको परिस्थितिमा जेष्ठ नागरिक र अन्य रोग लागेका बिरामीहरुको विशेष सुरक्षा गर्न आग्रह गरेको छ।
बाहिरी व्यक्तिको सम्पर्कमा परिवारका सदस्यहरु जो कोही पनि नरहने, बाहिर निस्कनै पर्दा मास्क र स्यानिटाइजरको प्रयोग गरी फर्किएपछि साबुन पानीले हातमुख धुने तर जेष्ठ नागरिकहरुलाई बाहिर ननिस्कन र प्रत्यक्ष भेटघाटबाट टाढै रहन सहयोग गर्नुपर्दछ। उनीहरुलाई व्यस्त बनाउनका लागि रुचीअनुसारका पुस्तक पढ्न दिने, घरभित्रैका गर्न सक्ने काममा सहभागी गराउने, भजन कीर्तन गाउन र बाध्यबादन बजाउन लगाउने साथै घरभित्रका धार्मिक संस्कारमा आबद्ध गराउनु पर्दछ।
लकडाउन अवधिमा घरभित्रै बसी आफू पनि सुरक्षित रहने र अरुलाई पनि सुरक्षित रहनबाट जोगाउनु असल नागरिकको कर्तव्य हो। कोरोना भाइरसको संक्रमण सबै उमेर समूहका व्यक्तिलाई भएको छ, तापनि बढीजसो संक्रमण जेष्ठ नागरिकहरु र प्रतिरोधात्मक क्षमता कमजोर भएका मानिसहरुमा देखिएको हालसम्मका घटनाक्रमहरुले देखाएको छ। यस विषयले जेष्ठ नागरिकहरु त्रसित हुनु स्वभाविकै हो।
भाइरसको सन्त्रासले जेष्ठ नागरिकहरुमा थप मानसिक पीडा दिएको छ। यस अवस्थामा परिवारका अन्य सदस्यहरु संयमित हुँदै जेष्ठ नागरिकको थप स्याहारसुसार गर्नुपर्ने र उनीहरुको मनोभावनालाई बुझेर सोही अनुकुूल व्यवहार गर्नुपर्ने अवस्था सिर्जना भएको छ। जेष्ठ नागरिक हाम्रा अग्रज हुन्, ज्युँदा इतिहास पनि। उनीहरुसँग विगतका अनुभवहरु छन्, परम्परागत ज्ञान र सीपहरु छन्।
हाम्रै ठाँउमा पाइने वस्तुहरुको महत्तम प्रयोग गर्न सकिने पुराना प्रविधिहरु छन्। पारिवारीकरुपमा सँगै बस्न नपाएको पछिल्लो पुस्ताले उनीहरुमा रहेका यी विविध विषयमा जानकारी प्राप्त गर्ने अवसर पाएका हुँदैनन्। बढीजसो परिवारका सदस्यहरु यस समयमा एकै ठाँउमा जम्मा भएका छन्, त्यसैले अहिले भइरहेको लकडाउन अवधिलाई जेष्ठ नागरिकमा भएको ज्ञान, सीप र अनुभवलाई आदान प्रदान गर्ने सुअवसरको रुपमा प्रयोग गर्न सकिन्छ।
अहिलेका धेरैजसो जेष्ठ नागरिकहरु अधिकांश समय कामकाजमा नै व्यस्त रहे। अहिलेपनि गर्न सक्ने काममा संलग्न भइरहेका हुन्छन्, चासो देखाएका हुन्छन्। पूर्ण अशक्त जेष्ठ नागरिकबाहेक अन्य जेष्ठ नागरिकहरु घरायसी काममा संलग्न हुने, सामाजिक कार्यमा चासो देखाउने, धार्मिक कार्यमा संलग्न हुने, सामूहिक रुपमा जेष्ठ नागरिक मिलन केन्द्र वा दिवा सेवा केन्द्रमा गई भलाकुसारी गर्ने लगायतका कार्यमा समावेश भएका हुन्छन्।
यसरी क्रियाशिल रहेका जेष्ठ नागरिकहरुलाई अहिले भएको लकडाउन अवधिमा घरभित्रै रहन पक्कै पनि सहज भएको छैन। परिवारका सदस्यहरुले यस अवधिमा उनीहरुसँग रहेर भलाकुसारी गर्ने, भजन किर्तन गाउने, टेलिभिजन हेर्ने, शारीरिक व्यायाम गर्ने/गराउने साथसाथै उनीहरुको रुचीलाई ध्यान दिएर व्यस्त गराउन सक्दा भाइरसको भय एवं त्रासबाट टाढै राख्न सकिन्छ।
लकडाउनको यस अवधिमा धेरैजसोलाई पारिवारीक माहोलमा बस्ने अवसर मिलेको छ। परिवारका बालबालिका, युवा र जेष्ठ नागरिकहरु पनि सँगै रहने भएको हुँदा पारिवारीक दूरी कम गर्ने अवसरको रुपमा यो समयलाई लिन सकिन्छ। बुवाआमाले अग्रजहरुलाई गर्ने व्यवहारबाट बालबालिकाहरुले धेरै कुराहरु सिकेका हुन्छन्। आदर सम्मान गर्ने अभिभावकका बालबालिकाहरुले सोही अनुरुपको संस्कार सिकेका हुन्छन् भने अनादार, अपमान, भेदभाव र दुर्व्यवहारको बीचमा हुर्केका बालबालिकाले त्यस्तै व्यवहार सिक्दछन्।
यसर्थ आफ्ना भावी पुस्ताबाट असल व्यवहारको अपेक्षा गर्ने हो भने अन्य समयमा र यो समयमा पनि परिवारका जेष्ठ नागरिकहरुप्रति सद्भाव र सम्मानपूर्ण व्यवहार गर्नुपर्दछ। हाम्रा पुराना धार्मिक एवं पौराणिक कहानीहरु साथै नैतिकता सिकाउने प्रेरणादायी भनाईहरु र सिकाईहरुलाई कथा वा श्लोकमार्फत सिकाउन सक्ने कला हाम्रा अग्रजहरुसँग हुन्छ।
मोबाइल, ट्याव, टेलिभिजन वा ल्यापटपमा मात्र भुल्नु र भुलाउनुभन्दा जेष्ठ नागरिक अग्रजहरुमा भएका सिकाईहरुलाई बालबालिकामा हस्तान्तरण गर्ने माहोल सिर्जना गर्न सकेमा एकातर्फ बालबालिकाहरुले जेष्ठ नागरिकले जानेका कुराहरु, अनुभव र सिकाइहरुको बारेमा ज्ञान लिन सक्ने हुन्छन् भने अर्कोतर्फ जेष्ठ नागरिकहरुले सिकाउन पाउँदा वा बालबालिका र परिवारका सदस्यहरुले आफूसँग भएका कुराहरु सुन्ने चासो देखाउँदा सम्मानित वातावरणको महशुस गर्दछन्। यसले सिकाइलाई बृहत बनाउन, पारिवारीक सौहार्दतालाई बढावा दिन, मर्यादित वातावरणमा जीउन र भावी पुस्तालाई आचरणयुक्त बनाउन सहयोग पुर्याउँछ।
कतिपय जेष्ठ नागरिकहरु नियमित रुपमा औषधी सेवन गर्नुपर्ने, थेरापी गर्नुपर्ने, शारीरिक व्यायामलाई निरन्तरता दिनुपर्ने अवस्थामा छन्। उनीहरुको शारीरिक र मानसिक स्वास्थ्यलाई सन्तुलित बनाउन परिवारका सदस्यहरुले आहारविहारमा ध्यान दिँदै सरसफाइमा विशेष जोड दिनुपर्ने हुन्छ। लकडाउनको अवधिमा घरबाहिर गरिने उपचार लगायत थेरापी र साँझ बिहानको हिँडाईलाई निरन्तरता दिन नमिल्ने भएको हुँदा सोही अनुरुपको पारिवारीक हेरचाह आवश्यक पर्दछ।
यस अवस्थामा नङ काटिदिने, कपाल कोरिदिने, नुहाइधुवाइमा सहयोग गर्ने, पर्याप्त मात्रामा पौष्टिक खाना र पानीको व्यवस्थापन गरिदिने र परिवारका सबै सदस्यहरु हाँसीखुसी सँगै बसेर रमाइलो गर्दा पनि उनीहरुको शारीरिक र मानसिक समस्यालाई दूर गर्न सकिन्छ।
सामान्यतया धेरैजसो जेष्ठ नागरिकहरु अन्य व्यक्ति सरह सक्रिय हुन सक्दैनन्। अरुले जस्तै धेरै समयसम्म टेलिभिजन हेर्न, मोबाइलमा व्यस्त रहन, इन्टरनेटको प्रयोगबाट सूचनाहरु प्राप्त गर्न, सामाजिक सञ्जालमा आबद्ध हुन, घरभित्र खेलिने खेलहरु खेल्न नसक्ने हुन्छन्। लकडाउनको खाली समयमा अन्य व्यक्तिहरु विभिन्न माध्यमले आफूलाई व्यस्त राख्न खोज्दा जेष्ठ नागरिकहरु थप एक्लिएको महशुस गरिरहेका हुन्छन्।
परिवारका सदस्यहरुसँग अन्य समयमा जस्तै नजिकै भएको अनुभूति गर्न नपाएका उनीहरुलाई झनै लकडाउनको अवधिमा पूरै समय घरमै बिताउँदा पनि व्यस्त रहने नाममा बेवास्तामा बस्नुपर्ने स्थितिको सिर्जना हुने अवस्था नआओस्।
(लेखक हेटौंडा उपमहानगरपालिकाकी प्रमुख महिला विकास अधिकृत हुन्।)